हेटौंडा–काठमाडौं रोपवे चलाउन गोसाइँकुण्ड हिल्सले गर्यो बोर्डमा प्रस्ताव, २१.५० अर्ब लाग्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २०, शुक्रबार,०५:४७:PM  
हेटौंडा–काठमाडौं रोपवे चलाउन गोसाइँकुण्ड हिल्सले गर्यो बोर्डमा प्रस्ताव, २१.५० अर्ब लाग्ने

काठमाडौं । बागमती प्रदेश राजधानी हेटाैंडादेखि केन्द्रीय राजधानी काठमाडौंसम्म निजी लगानीमा रोपवे सञ्चालनको तयारी भएको छ । रोपवे पूर्वाधार निर्माण र सञ्चालनका लागि एक नेपाली कम्पनीले लगानी बोर्डमा प्रस्ताव पेश गरेको हो ।

गोसाइँकुण्ड हिल्स प्रालिले हेटौंडादेखि काठमाडौंसम्म ४२ किलोमिटर लामो रोपवे निर्माण तथा सञ्चालनका लागि प्रस्ताव पेश गरेको बोर्डले जनाएको छ । कम्पनीले रोपवे पूर्वाधार बनाउन साढे २१ अर्ब रुपैयाँ लाग्ने अनुमानित लागतसमेत पेश गरेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि मात्रै लागत यकिन हुने छ । 

गोसाइँकुण्ड हिल्सले परियोजनाको संभाव्यता अध्ययन, लगानी स्वीकृति र सर्वेक्षणका लागि अनुमति मागेको बोर्ड स्रोतले क्यापिटल नेपाललाई बतायो । पहिलाको रोपवेको पुनस्र्थापना (रिहाविलेसन) गर्ने योजना कम्पनीको छ । 

बोर्डले अहिले उसको प्रस्तावको अध्ययन गरिरहेको छ । प्रस्तावको अध्ययन पूरा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा पेश हुनेछ । बैठकले प्रस्ताव स्वीकृति गरेपछि मात्र रोपवे प्रक्रिया अघि बढ्नेछ । 

गोसाइँकुण्ड हिल्सले लगानीको प्रस्ताव पेश गरेका बेला यता बागमती प्रदेश सरकारले पनि हेटौंडादेखि काठमाडौं जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु गरेको बताएको छ ।

प्रदेश सरकारले रोपवे सञ्चालनमा ल्याउन चालू आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन गरेको छ । अत्याधुनिक प्रविधिबाट रोपवे सञ्चालनमा ल्याउनतर्फ प्राविधिकसँग अहिले छलफल गरिरहेको बताइएको छ ।

अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोगमा वि.सं. २०२० देखि हेटौंडा–काठमाडौंको सामान ढुवानीका लागि रोपवे सञ्चालन हुँदै आएको थियो । प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा वि.सं. २०५६ जेठदेखि रोपवे बन्द छ ।

अहिले रोपवेका सबै संरचनाहरू कवाडी बनेका छन् । अधिकाँश सामानहरू चोरी भइसकेका छन् । २०५९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रोपवे खारेजीको निर्णय गरेपछि पुनः सञ्चालनको संभावना टरेको थियो ।  

पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौंडाबाट फाखेल, सिस्नेरी, इपा पञ्चकन्या, कुलेखानीका स्थानीय बासिन्दालाई दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधि अत्यन्तै सुपथ मूल्यमा ढुवानी गर्न पाएका थिए ।

हेटौंडाबाट काठमाडौंको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधि, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरिएको थियो । विशेष गरी हेटौंडा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट पनि रोपवेबाट आपूर्ति हुने गरेको थियो ।

रोपवेको विभिन्न चरणमा विस्तार गरिएको थियो । यो नेपालकै पहिलो रोपवे हो । रोपवेको सुरुवात राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातीर्थसम्मको २२ किलोमिटरमा सुरु गरेका थिए । यही रोपवेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गथ्र्यौ ।

गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका सामानहरू  डिब्बामा लोड गरिन्थे । त्यसबेला सामान ढुवानीलाई सहज बनाउन राणा प्रधानमन्त्री चन्द्रशमशेरले यो रोपवे बनाउन लगाएका हुन् । घण्टामा २५ टन सामान बोक्ने गरेको थियो । 

यस्तै रोपवेलाई जुद्धशमशेरका पालामा विस्तार भई  टेकुस्थित भन्सार कार्यालयसम्म  आइपुगेको थियो । वि.सं. २०११ मा बाढीले धोर्सिङको विद्युतगृहमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो ।

पहिलो पञ्चवर्षीय योजना २०१३ देखि २०१८ मा यो रोपवे विस्तारको योजना बनाइएको थियो ।  २०१६ सालबाट काम थालिएको रोपवे पूर्वाधार बनाउन अमेरिकी सरकारले ६४ लाख डलर खर्च गरेर रोपवे विस्तार गरेको हो । यसको लम्बाई ४२ किलोमिटर छ  । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पूर्वाधार बाट थप

Top