काठमाडौं । उखु किसानको भुक्तानी नदिने पाँचजना उद्योगीविरुद्ध गृह मन्त्रालयले पक्राउ पुर्जी जारी गरेको छ ।
गृह मन्त्रालयले किसानलाई उखुको भुक्तानी नदिने उद्योगीविरुद्ध आवश्यक कारबाही गर्न निर्देशन दिएअनुरुप सम्वन्धी जिल्ला प्रहरी कार्यालयले ४ वटा चिनी मिलका सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी पर्नेमा इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल, लुम्बिनी सुगर मिलका सञ्चालक सुशीला गोयल र श्रीराम सुगर मिलका सञ्चालकका तर्फबाट हितेश गोल्छा, विशाल अग्रवाल र अनुज अग्रवालविरुद्ध पक्राउ पुर्जी गर्ने निर्णय भएको हो ।
याे पनि पढ्नुहाेस,उखु किसानको पैसा नतिर्ने विशाल ग्रुप र राकेश अग्रवाल, जसले इन्डष्ट्रिकै गराए बदनाम
किसानको जाहेरीका आधारमा श्रीराम सुगर मिलका सञ्चालकहरुलाई पक्राउ पूर्जी गर्ने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
यता, नवलपरासीमा रहेका इन्दिरा र लुम्बिनी चिनी उद्योगले पनि किसानको भुक्तानी नदिएपछि गृह मन्त्रालयको निर्देशन र किसानको जाहेरीका आधारमा इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल र लुम्बिनी सुगर मिलका सञ्चालक शुशिला गोयलविरुद्ध पक्राउ पूर्जी जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताए ।
रौतहटको गरुणामा रहेको श्रीराम सुगर मिलले किसानलाई ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
त्यस्तै, अन्नपूर्ण सुगर सुगर मिल र इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले ऊखु किसानलाई २२ करोड भुक्तानी दिएका छैनन् ।
यता, लुम्बिनी चिनी उद्याेगले ८ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी छ ।