वीरगन्ज । वास्तविकताभन्दा कम एमएम देखाएर वीरगन्ज सुक्खा बन्दरगाहबाट सिसा नेपाल भित्र्याउन खोज्दा ४ वटा कन्टेनर भन्सारको फन्दामा परेका छन् । विशेष सूचनाका आधारमा सुक्खा बन्दरगाहमा आइपुगेका सिसाका कन्टेनर चेकजाँच गर्दा भन्सारमा गलत ‘डिक्ल्यारेसन’ गरेको पाइएको वीरगन्ज सुक्खा बन्दरगाहका भन्सार अधिकृत चूडामणि कट्टेलले जानकारी दिए ।
ईसीएमयू २०६४३७२२ जी १ नम्बरको कन्टेनरमा भएको सिसाको एमएम र भन्सारलाई बुझाइएको प्रज्ञापनपत्रमा उल्लेख गरेको एमएम फरक परेको देखिएको छ । ईसीएमयू २०६४३७२२ जी १ र टीईएमयू ३६८१२४२२ जी १ नम्बरका दुईवटा कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाहका अधिकृतले नियन्त्रणमा लिएर कानुनी उपचार गर्ने भएका छन् । ४ कन्टेनरमध्ये २ वटालाई भन्सार ऐनअनुसार ५ सय प्रतिशत जरिवाना गर्ने तयारी भएको वीरगन्ज सुक्खा बन्दरगाह प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
यो पनि हेर्नुहोस
कर्मचारीकै मिलेमतोमा छलिन्छ टफन ग्लासको भन्सारः तिर्नुपर्ने ३०, भित्रिन्छन् १५ प्रतिशतमै
‘दुईवटाले बदमासी गरेको पाइएको छ । आयातकर्तालाई ५ सय प्रतिशत जरिवाना गरिन्छ, । त्यसका लागि प्रक्रिया अघि बढाइएको छ,’ खत्रीले भने, ‘बाँकी दुई कन्टेनरमाथि पनि अनुसन्धान हुन्छ । अहिलेसम्म हाम्रो सम्पर्कमा ४ वटा कन्टेनर आइसकेका छन् ।’
कट्टेलका अनुसार ५ एमएमको सिसा ल्याएर आयातकर्ता बालाजी ग्लासले ४ दशलमव ५ एमएम र तिरुपती ग्लास ४ एमएम देखाएर भन्सार छली गर्न लागेको देखिएको छ । तिरुपती ग्लास र बालाजी ग्लासले भन्सार पास गराउनका लागि एजेन्टमार्फत भन्सार अधिकृतलाई डकुमेन्ट बुझाएपछि उनीहरूको बदमासी बाहिर आएको हो ।
यो पनि हेर्नुहोस
यसरी छल्छन्, टफन सिसाका व्यापारीले भ्याट
स्रोतका अनुसार वीरगन्ज सुक्खा बन्दरगाहमा ८० वटाभन्दा बढी सिसाका कन्टेनर आइपुगेका छन् । अहिले भन्सारका अधिकारीले नियन्त्रणमा लिएको कन्टेनर चीनबाट ल्याइएको हो ।
सिसा आयात गर्दा ३० प्रतिशत भन्सार लाग्छ । तर, व्यापारीले बढी एमएम मगाउने र भन्सारमा कम एमएमको भन्सार दाखिला गराएर मालसामान भित्र्याएका थिए । तर, पछिल्ला केही दिनयता न्यूनबिजकीकरण भएर ठूलो परिमाणमा सिसा भित्रिन थालेको सूचना पाएपछि अहिले फेला परेको हो ।
यो पनि हेर्नुहोस
यसरी भइरहेको छ टफन ग्लासको तस्करी, भन्सारका कर्मचारीले थाहा नपाएकै हुन ?
‘सिसामा खेल हुने भनेकै बढी एमएम ल्याउने र कम एमएमको भन्सार तिर्ने हो । अहिले पनि त्यही गर्न खोजिएको हो,’ सुक्खा बन्दरगाहका एक अधिकृतले भने, ‘तर, यो पटक आयातकर्ता उम्किन सकेन ।’
यसरी भन्सारमा कम मूल्य दाखिला गरेर भित्र्याइएको सामान बेच्दा मूल्य अभिवृद्धि कर (भ्याट) समेत छली भएको छ । आयातकर्ताले जुन मूल्यमा भन्सार तिरेको छ, सोही मूल्यकै आधारमा भ्याट विल बनाइन्छ । तर, क्रेताले आयातकर्ताले वास्तविक मूल्यमै बेच्ने गर्छन् । यसो गर्दा सरकारले भन्सार पनि गुमायो भने भ्याट पनि पाएन ।
यो पनि हेर्नुहोस
रोकिएन टफन ग्लासको तस्करी, कर छलीको प्रमाण हुँदा पनि कारबाही गर्न सरकारको आलटाल
आयातकर्ता तिरुपति र बालाजीले सम्पूर्ण शक्ति लगाएर सिसा भन्सारबाट नेपाल भित्र्याउन खोजेको थियो । तर, भन्सारका अधिकृत र प्रमुखले त्यसको कुनै प्रवाह नगरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएका हुन् ।
नेपालमा तिरुपति र बालाजी ग्लासले ठूलो परिमाणमा सिसा आयात गरेर बेचिरहेका हुन्छ । उनीहरूले यस अघि पनि यसैगरी नेपालमा ग्लास भित्र्याएको हुन सक्ने भन्सारका अधिकारीको अनुमान छ ।
आयातकर्ता जरिवानासहित पैसा तिर्न तयार भएर आइसकेको छ । तर, त्यो कन्टेनरमा कति सामान छ भन्ने एकिन भइनसकेको भन्सारका अधिकारीहरू बताउँछन् । आयातकर्ताले क्लियर ग्लास ल्याएको छ । सो ग्लासको एमएम कम देखाएर मूल्यांकन गराउन खोजिएको हो ।
१२ एमएमको टफन ग्लास बेच्ने र त्यति बराबरको भ्याट उठाउने र ६ एमएमको भ्याट बिल बनाउने गरेको खुलेको हो । बढी एमएमको ग्लास बेच्ने बित्तिकै बढी भ्याट तिर्नुपर्छ । तर, व्यापारीले उपभोक्ताबाट १२ एमएमकै भ्याट उठाउने तर, बिल ६ एमएमको मात्रै बनाउने गरेको खुलेको हो ।
टफन ग्लासमा देखिएको चरम विकृति रोक्न भन्सारले ठूलो प्रयास गरेको छ । त्यसैको परिणाम भन्सारमा न्यून मूल्यांकन गराउन लागिएको अवस्थामा कन्टेनर समातिएका छन् । न्यूनबिजकीकरणमा ठूलो परिमाणमा टफन भित्रिने र टफनबाट वास्तविक भ्याट नउठ्ने गरेको पाइएपछि भन्सार, अर्थ मन्त्रालयले सूक्ष्म रूपमा निगरानी पनि बढाएको छ ।
बजारमा ५ एमएम, ६ एमएम, ८ एमएम र १२ एमएमका टफन ग्लास बिक्री हुन्छन् । तर, अहिलेसम्म आयातकर्ताले वास्तविक मूल्य घोषणा गरेर ग्लास आयात गरेका थिएनन् । कम एमएमको मूल्यांकन गराउने सोहीअनुसार भन्सार तिर्ने र बढी एमएम ल्याउने गरेका थिए ।