काठमाडौं । आयातितभन्दा गुणस्तर र सस्तो मूल्यमा स्वदेशी उद्योगले कार्पेट उत्पादन गरेर बेचेपछि केही महिनायतादेखि विदेशबाट आउन रोकिएको छ ।
स्वदेशी उद्योगले विश्व बजारमा भित्रिएको नयाँ प्रविधिको प्रयोगमार्फत कार्पेट उत्पादन गरेको र ती उत्पादन उच्च गुणस्तर रहेकै कारण विदेशबाट कार्पेट आयात रोकिएको प्रेष्टिज समूहका अध्यक्ष विनय शाहले बताए ।
अहिले ९५ प्रतिशत आयात रोकिएको छ । हरेक ठाउँमा स्वदेशी कार्पेटको प्रयोग भइरहेको छ । स्वदेशी उद्योगले बनाएको कार्पेटभन्दा आयातित कार्पेट कम गुणस्तर र बढी मूल्य भएकै कारण नेपाली उत्पादन सबैको रोजाइमा परेको शाह बताउँछन् । प्रेष्टिज समूहले पनि केही महिनादेखि विश्वस्तरीय कार्पेट बनाइरहेको छ ।

‘आयातितभन्दा कम मूल्यमा गुणस्तरीय कार्पेट स्वदेशी उद्योगले बनाइरहेका छन्,’ शाहले भने, ‘नेपाली उद्योगले जुन गुणस्तरको कार्पेट बनाएका छन्, त्यो गुणस्तरको आयात गरेर बेच्दा डेढी मूल्य लिनुपर्छ ।’
हाल नेपालमा हेरिटेज, एसटी, यती, जेन्टा, हाइटेक्स, प्रेस्टिज कार्पेट र यती पोलिकेन उद्योग छन् । ७ वटा उद्योगले ९५ प्रतिशत आयातलाई प्रतिस्थापन गरिररहेका छन् । यी उद्योगीले पीभीसीदेखि सबै प्रकारका कार्पेट बनाउँछन् ।
यो पनि हेर्नुहोला
८० प्रतिशत बजारहिस्सा ओगट्ने कार्पेटको छैन ‘नेपाल गुणस्तर’, लोगोलाई गुणस्तर भनेर बेच्न बाध्य
पाँचतारे होटलले प्रयोग गर्नेदेखि सामान्य परिवारले प्रयोग गर्ने कार्पेटसम्म नेपालमै बन्न थालेको उद्योगीहरू बताउँछन् । स्वदेशी उद्योगबाट सबैखाले कार्पेट बन्दा पनि सरकारले त्यसको गुणस्तर निर्धारण गरेको छैन ।
नेपालमा वार्षिक १० अर्ब रुपैयाँबराबरको कार्पेटको खपत छ । विगत ६ महिनाअघिसम्म ८० प्रतिशत कार्पेट विदेशबाटै आयात भइरहेको थियो । तर, अहिले आयातको हिस्सा ५० करोड हाराहारीमा खुम्चिएको शाहको भनाइ छ । विदेशी कार्पेटले स्वदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपपछि स्वत् आयात घटेको उद्योगीहरु बताउँछन् ।
यो पनि हेर्नुहोला
स्वदेशी कार्पेटको नेपाल स्ट्याण्डर्ड बनाउन जुट्यो गुणस्तर विभाग, सरोकारवालासँग छलफल गरिँदै
शाहले अमेरिकी प्रविधि भित्र्याएर २० प्रकारका डिजाइनमा टफटेड कार्पेट उत्पादन गरिरहेका छन् । बजार माग र आवश्यकताका आधारमा डिजाइन थप्दै लैजाने योजना उद्योगले बनाएको छ ।
नयाँ प्रविधिबाट गुणस्तर र लागतलाई प्रतिस्पर्धी बनाउने रणनीति उद्योगले लिएको छ । आधुनिक र स्वचालित प्रविधिबाट उत्पादित प्रेस्टिज कार्पेटमा ढुसी नलाग्ने दाबी उद्योगको छ । दैनिक ८ घन्टा चल्दा यो उद्योगले वर्षमा ९ लाख वर्गमिटर कार्पेट उत्पादन गर्न सक्ने जानकारी व्यवस्थापनले दिएको छ ।
उद्योगीले विश्वस्तरीय प्रविधिमार्फत कार्पेट उत्पादन गर्न सुरु गरे पनि सरकारले त्यसको गुणस्तर निर्धारण गर्न सकेको छैन । उद्योगीले बारम्बार कार्पेटको नेपाल गुणस्तर निर्धारण गरिदिन माग गरेका छन् । यदि सरकारले गुणस्तर निर्धारण गरिदिएको अवस्थामा उद्योगीलाई आफ्नो उत्पादन विदेश निर्यात गर्न झन सहज हुने देखिन्छ ।