काठमाडौं। व्यावसायिक घराना शंकर ग्रुपले निर्माण गरिरहेको पाँचतारे होटल हिल्टन एक वर्षपछि सञ्चालनमा आउने भएको छ।
शंकर ग्रुपले जगदम्बा हस्पिटालिटी ग्रुप प्रालिमार्फत होटल हिल्टनमा लगानी गरेको हो। यो होटल अन्तर्राष्ट्रिय होटल चेन ‘हिल्टन’ को व्यवस्थापनमा सञ्चालन हुनेछ।
होटल सन् २०२३/२४ सम्म सञ्चालनमा आउने छ। राजधानीको नक्सालमा निर्माणाधीन होटलमा १ सय ७४ कोठा छन्। २०१८ बाट निर्माण थालिए पनि कोरोना महामारीले होटल निर्माण कार्य प्रभावित बनाएको थियो।
![](https://www.capitalnepal.com/uploads/photos/hilton-hotel-1.jpg)
जसका कारण समय र लागत दुवै बढेको छ। होटलको लागत बढेर ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ पुग्ने जगदम्बा हस्पिटालिटीको अनुमान छ।
कोरोना महामारीकै कारण होटलको लागत बढेर प्रतिकोठा ३ करोड ८० लाख रुपैयाँ पुगेको छ। निर्माण सुरु हुँदा २ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमान थियो।
७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। जगदम्बाले बैंकसँग ८३ करोड ४० लाख रुपैयाँ थप ऋण लगानी सम्झौता गरिसकेको छ।
![](https://www.capitalnepal.com/uploads/photos/hilton-drone.jpg)
यस्तै परियोजना विस्तार गरेर ‘डबल ट्री लेभल’ का १ सय ३५ कोठा हुनेछन्। यसबीच ३९ कोठा थपेर १ सय ७४ पुगेको छ।
होटलको व्यवस्थापन जिम्मेवारी लिने विषयमा जगदम्बा हस्पिटालिटी र बेलायतको हिल्टन वर्ल्डवाइड म्यानेजमेन्ट लिमिटेडबीच सम्झौता भइसकेको छ।
यसमा हिल्टन वर्ल्डवाइड इन्कर्पोरेटेड अमेरिकाको स्वामित्व छ। अमेरिकी हस्पिटालिटी कम्पनी हिल्टनले विश्वका १ सय १८ देशमा ६ हजार २ सय १५ होटल तथा ९ लाख ८३ हजार ४ सय ६५ कोठा व्यवस्थापन गरिरहेको छ। पाँचतारे होटल हिल्टन ‘काठमाडौं सिटी सेन्टर’ ब्रान्डमा सञ्चालन हुने सहमति भएको छ।
![](https://www.capitalnepal.com/uploads/photos/hilton-drone-1.jpg)
हिल्टनले मार्केटिङ र ब्रान्ड पहिचान स्थापन तथा हस्पिटालिटी सञ्जाल निर्माण गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा जगदम्बाको छ।
जगदम्बा हस्पिटालिटी सन् २०१२ मा शंकर ग्रुपले स्थापना गरेको आतिथ्य सत्कार कम्पनी हो। कम्पनीले ५ अर्ब २ करोड २० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
होटलमा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालको सतप्रतिशत लगानी छ। उनीसँग दुई दशक लामो व्यावसायिक अनुभव छ।
![](https://www.capitalnepal.com/uploads/photos/hilton-drone-2.jpg)
ग्रुपले सिमेन्ट र डन्डी उद्योगमा आक्रमक लगानी विस्तार गरेको छ। यस्तै बैंक तथा बिमा, जलविद्युत, व्यापार र घरजग्गालगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ।
ग्रुपको आतिथ्य सत्कार क्षेत्रमा पहिलो प्रवेश हो। २०२२ अप्रिल मध्यसम्म होटलमा ६१ प्रतिशत लगानी भइसकेको छ। होटल काठमाडौं सहरको मध्यभागमा अवस्थित छ। काठमाडौं मुलुकमा सबैभन्दा धेरै पर्यटक आउने पहिलो गन्तव्य हो।
![](https://www.capitalnepal.com/uploads/photos/hilton-drone-3.jpg)
![](https://www.capitalnepal.com/uploads/photos/hilton-drone-4.jpg)