काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने भएको छ। मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो।
मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ। मञ्चले स्टार्टअप व्यवसायमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारीसमेत गरेको छ।
एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्वीटी, टीम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआइबीएल एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो। यी कम्पनीहरुसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ।
नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको को अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेष्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दिक्षित पनि गरिएको छ।
ग्रोथएक्स एभरेष्टको पहिलो ब्याजका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो। बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी टे«डिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो।
तालिम प्राप्त गरेका मध्ये ६ वटा स्टार्टअप कम्पनीहरुले उल्लेखित ११ वटा लगानी कम्पनीसमक्ष आफ्नो नविन सोचका बारेमा प्रस्तुतीकरणसमेत गरेका छन्।
११ वटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टै घोषणा गर्नेछन्।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको स्टार्टअप इकोसिस्टम राम्रो सुरुवात भएको बताउदै स्टार्टअपहरूले आर्थिक र सामाजिक रूपान्तरणको महत्वपूर्ण शक्ति बन्ने सम्भावना रहको बताए।
मञ्चका अध्यक्ष अनुराग गोयलले पहिलो संस्करणको अपार सफलतासँगै दोस्रो संस्करण घोषणा गरिएको बताए। युवाहरुबाट युवाहरु तथा देशमा स्टार्टअपहरुलाई प्रोत्साहन गर्न आफूहरुले जनाएको प्रतिबद्धताअनुरुप फेस्ट आयोजना गर्न लागेको उनको भनाई छ।