काठमाडौं । चिनीको परिमाणात्मक बन्देज ३ महिना थपिने भएको छ । आगामी दसंैसम्म चिनीको परिमाणात्मक बन्देज कायम राख्न सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयका एक कर्मचारीका अनुसार, असार मसान्तसम्म लगाइएको चिनी आयातमा परिमाणात्मक बन्देजको म्याद थप ३ महिना थप्नेबारे छलफल भइरहेको बताए । ‘चिनी आयातको प्रतिबन्ध थप ३ महिना थप्ने भन्ने प्रारम्भिक निर्णय भएको मैले बुझेको छु,’ ती कर्मचारीले भने ।
गत वर्ष असोज २ गते सरकारले चिनीको आयातमा परिमाणात्मक कोटा निर्धारण गरेको थियो । असोजदेखि चैतसम्मका लागि परिमाणात्मक बन्देजलाई अहिले दोस्रो पटक तीन महिना थप हुन लागेको हो । गत वैशाखमा ३ महिना अर्थात् यसै असार मसान्तसम्मका लागि परिमाणात्मक बन्देज लगाइएको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले पनि अहिले चिनीको तथ्याङ्क लिने काम भइरहेको बताए । उनले चिनी आयातमा परिमाणात्मक बन्देजको समय थप्नेबारे छलफल हुन नसकेको बताए ।
चिनी आयातमा ३ महिना थप प्रतिबन्ध भएमा दसैंमा चिनीको भाउ बढ्ने सम्भावना छ । त्यसबेलामा चिनीको माग उच्च हुनेहुँदा व्यापारीले आपूर्ति न्यून भएको बहानामा मूल्य बढाउने अवस्था हुने एक व्यवसायीले बताए । व्यापारीले चिनीको कृत्रिम अभाव सिर्जना गराएको खण्डमा पनि मूल्य बढ्न सक्ने ती व्यवसायीको तर्क छ । अन्य समयको तुलनामा दसंैमा चिनीको दोब्बर कारोबार हुन्छ ।
चिनी उत्पादक सङ्घको मागबमोजिम सरकारले गत वर्ष मन्त्रिपरिषद्को बैठकबाट वार्षिक १ लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाइने गरी कोटा निर्धारण गरिएको थियो ।
यसअघि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीमा परिमाणात्मक बन्देज लगाउन लगाएर उद्योगीहरुले आफूलाई झुक्याएको समेत बताएका थिए । तर, सरकारले उल्टै व्यापारीकै पक्षमा आयात प्रतिबन्धको समय थप गर्न लागेको छ ।
अहिले नेपालमा वार्षिक झन्डै ३ लाख मेट्रिक टन चिनीको माग छ । तर, निजी चिनी उद्योगहरुले डेढ लाख मेट्रिक टन मात्रै उत्पादन गर्छन् । अझै पनि डेढ लाख मेट्रिक टन चिनी अपुग छ ।