काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ अवसरमा सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ। सरकारले राष्ट्रिय कर दिवस अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो।
सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन्। परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो।
राष्ट्रिय कर दिवस २०८१ अवसरमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्ममध्येबाट सबै भन्दा बढी आयकर तिर्ने श्रुति ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने पतञ्जली आयुर्वेद, बैंक, वित्तीय संस्था र बिमा कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई परिसंघले सम्मान गरेको हो।
स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटल, यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई परिसंघले सम्मान गरेको छ।
२०७५ साउनदेखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये आर्थिक वर्ष २०७९/८० को आयविवरणअनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वेभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको छ। शाह परिसंघका उपाध्यक्ष समेत हुन्।
आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे। उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए। योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगको प्रतिनिधिमुलक संस्थाको रुपमा परिसंघले उच्च करदातालाई सम्मान गरेको उनकाे भनाइ छ।
कार्यक्रममा परिसंघ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ काउन्सिल सदस्यद्वयय विजयकुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए।