‘सबल कृषि अनुसन्धानः खाद्य सुरक्षा र समृद्धिका लागि वरदान’ मूल आशयका साथ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले स्थापनाको ३४औं वार्षिकोत्सव मनाइरहेको छ। नार्क स्थापनाको दिनलाई कृषिकर्मी अझ भन्नुपर्दा नेपालमा कृषि क्षेत्रको विकासमा लागिराखेका समुदायले सम्झिने गर्छन् भन्ने लाग्छ। समष्टि रुपमा बहुसंख्यक नेपालीको मुख्यः पेसा, जीविकोपार्जन तथा रोजगारीको आधार हो, कृषि। साथै देशको अर्थतन्त्रको अवस्था हेर्दा पनि अझैसम्म यसले कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशत हाराहारी हिस्सा ओगटेकै देखिन्छ।
देशको अर्थतन्त्र विशेषगरी उद्योग तथा सेवाका क्षेत्रमा विस्तारै सुधार हुँदै गइरहेको अवस्थामा समग्र कृषि क्षेत्रको विकासलाई नै देशको अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा लिनु अपरिहार्य छ। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दादेखि नै कृषि राष्ट्रको मेरुदण्डको रूपमा रहेको र अहिले पनि त्यही अवस्था देखिन्छ।
नेपाली कृषि क्षेत्रको विकासको इतिहास लामो भए पनि नेपालमा विकासको मूल थालनीको रुपमा लिइने पहिलो पञ्चवर्षीय योजना विसं. २०१३ देखि नै समग्र कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षा तथा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य हालसम्म पनि परिवर्तन भएको देखिँदैन। २०२० को पञ्चवर्षीय योजनामा कृषि विभाग, अनुसन्धान तथा तालिम केन्द्र स्थापनापछि आधुनिक कृषिको सुरुआत भएको मानिन्छ। त्यसबाट मुख्यतयाः उन्नत जातको बिउबिजन, रासायनिक मल, सिँचाइ तथा कृषियन्त्र प्रयोगलाई स्थापित गर्दै लगियो।
कृषि क्षेत्रको वास्तविक व्यावसायिकीकरण तथा आधुनिकीकरण वा यान्त्रिकीकरणको प्रयोग २०४८ पछाडिको समयबाट सुरु भएको मान्न सकिन्छ। त्यतिबेला परम्परागत नेपाली कृषि प्रणालीको स्वरुपलाई परिवर्तन गरी समग्र कृषि क्षेत्रको विकासमा मद्दत गर्ने उद्देश्यले उपयुक्त प्रविधि अध्ययन–अनुसन्धानबाट पत्ता लगाई तिनलाई कृषि प्रसारमार्फत किसानसमक्ष पुर्याउन आवश्यकता महसुस गरिएको थियो।
सोहीअनुरुप देशको कृषि विकासलाई नयाँ गति दिन र कृषि अनुसन्धान कार्यलाई प्राथमिकता दिई अझ बढी प्रभावकारी बनाउन नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अन्तर्गत २०४८ वैशाख २५ मा ‘नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)’ स्वायत्त सरकारी संस्थाको रुपमा स्थापना भएको थियो।
नार्कले देशको समग्र भौगोलिक क्षेत्र तराई, मध्यपहाड, मध्यपहाडी क्षेत्रको टार तथा बेंसी र उच्च पहाडी क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी सामुद्रिक सतहदेखि ११५–२७३० मिटरसम्मको उचाइमा एउटा केन्द्रीय कार्यालय, ३ वटा अनुसन्धान प्रतिष्ठान, १७ वटा राष्ट्रिय अनुसन्धान केन्द्र, ६ वटा प्रादेशिक निर्देशनालय, २० वटा बाली तथा वस्तु कार्यक्रम, एउटा जिन बैंक, एउटा कृषि प्रविधि सूचना केन्द्र र १४ वटा कृषि अनुसन्धान केन्द्र गरी ६३ कार्यालय, केन्द्र, कार्यक्रममार्फत अनुसन्धान कार्य गर्दै आइरहेको छ।
नार्क स्थापनकालमा यसलाई स्वायत्त अनुसन्धानमूलक संस्थाको रुपमा परिकल्पना गरिएको र त्यसअनुरुप स्थापना भए पनि यो संस्था देशको बदलिँदो राजनीतिक अस्थिरतामा विभिन्न अवरोध पार गर्दै अगाडि बढिरहेको छ। बदलिँदो समय तथा राजनीतिक्रमसँगै नार्कको ऐन, ओ एन्ड एम तथा विनियमजस्ता महत्त्वपूर्ण नीतिगत सुधार अझैसम्म नहुनु वा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसमा कुनै चासो नदिनु, पदपूर्तिको समस्या (५० प्रतिशत बढी अनुसन्धानकर्ताको दरबन्दी रिक्त), अनुसन्धानकर्ताको मनोबलमा गिरावट (२३ वैज्ञानिक विदेश पलायन तथा दक्ष जनशक्ति पलायन क्रम जारी रहेको), अनुसन्धान प्रणालीमा राज्यको कम लगानी, विगत दुई वर्ष बढी समयसम्म पनि कार्यकारी निर्देशक नियुक्त नहुनु पनि समस्याका रूपमा रहेकाे छ।
यस्तै, विभिन्न मुद्दा–मामिलाका साथै नार्क र कृषि मन्त्रालयबीच समन्वय अभाव वा सहअस्तित्वको असहमति वा विवाद, संसदीय कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पनि मन्त्रालयका अन्य साधारण परियोजनामा भन्दा नार्क वा कृषि अनुसन्धान प्रणालीको समग्र सुधारमा चासो नदिनुलगायत समस्याका बाबजुद नार्कले अहिलेसम्म समग्र कृषि क्षेत्रको विकासका लागि तल उल्लिखित बुँदामा प्रशस्त उपलब्धि गरेको छ।
नार्कबाट हालसम्म भए/गरेका मुख्य उपलब्धि
नार्कले आफ्ना मूल उद्देश्य जस्तैः कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनसुन्धान गर्ने र गराउने, समग्र कृषि क्षेत्रका समस्याको निराकरणका उपाय पत्ता लगाउने र देशमा कृषिसम्बन्धी नीति तर्जुमाका लागि सरकारलाई आवश्यक सहयोग गर्नेजस्ता क्रियाकलाप गर्दै आइरहेको छ।
जातीय विकास
विभिन्न बाली तथा वस्तुको उन्नत जात तथा नश्ल विकास नार्कको मुख्य कार्यभित्र पर्ने गर्दछ। सोहीअनुरुप सरकारको तथ्यांकअनुसार हालसम्म ७५४ वटा (असूचीकृत २०० वटाबाहेक) १६ वटा विभिन्न बाली, फलफूल तथा तरकारीका उन्नत जात कृषकस्तरमा खेतीका लागि सिफारिस गरिएका छन् भने यस आव अन्त्यसम्म थप ८ वटा नयाँ जात सिफारिस गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी नार्कले विकास गरेका जातलाई हेर्दा मुख्य बाली जस्तै, धानमा ३५ प्रतिशत, गहुँमा ९७ प्रतिशत, मकैमा ७३ प्रतिशत, मसुरोमा ६० प्रतिशत र आलुमा ४६ प्रतिशतमा कृषकमाझ लोकप्रिय वा अत्यन्त रुचाइएका जात देखिन्छन्।
विभिन्न बालीका उन्नत जातको प्रयोगले नार्क स्थापनापछिको तथ्यांकलाई केलाउँदा समग्रमा नेपालको मुख्य खाद्यान्न बाली धान, गहुँ र मकैको क्षेत्रफल ३६ प्रतिशतले वृद्धि हुँदा उत्पादन १५८ प्रतिशतले बढेको देखिन्छ। त्यसैगरी यी मुख्य खाद्यान्न बालीको राष्ट्रिय रुपको उत्पादकत्व र नार्कका बाह्य अनुसन्धान स्थलको उत्पादकत्वलाई हेर्ने हो भने पनि यी बालीको प्रसारमा अझ बढी जोड दिन सके समष्टिगत रुपमा अझै थप ४० प्रतिशतले उत्पादनमा वृद्धि गरी देशमा खाद्यान्न आयात प्रतिस्थापन गर्न सकिने देखिन्छ।
प्रविधि विकास
नार्कले हालसम्म विभिन्न बाली तथा वस्तुमा विभिन्न प्रविधिको विकासका काम गर्दै आइरहेको छ। विभिन्न बालीमा मलखादको मात्रा सिफारिस गर्नेदेखि लिएर रोग–कीरा व्यवस्थापन, लगाउने समय तथा झारपात व्यवस्थापनसम्बन्धी प्रविधि सिफारिस गरिसकेको छ। त्यसैगरी द्रुत गतिमा स्याउको रुटस्टक उत्पादन गर्ने प्रविधि, एभोकाडो र ओखरमा उपयुक वानस्पतिक प्रजनन् विधि, अलंैची सुकाउने विधि, अदुवा भण्डारण विधि आदि प्रविधिको विकास गरिसकेको छ।
माछामा भुरा बाँच्ने दर वृद्धि, ढुवानी गर्दा मृत्युदर कम गर्नेदेखि लिएर बायोफ्लकमा उपयुक्त स्टकिङ दरको प्रविधि कृषकस्तरमा प्रसारणका लागि सिफारिस गरसकेको छ भने पशुमा बाँझोपन तथा थुनेलो व्यवस्थापनदेखि लिएर मासु तथा अन्डा उत्पादन वृद्धि, ऋतुकाल मिलान आदि प्रविधि विकास गरेको छ। त्यसैगरी सानन् बाख्राको दूधबाट चीज उत्पादनजस्ता प्रविधिको पनि विकास गरेको छ।
कृषि यान्त्रिकीकरणमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ। जस्तै, मकैमा झारपात हटाउने तथा रोप्ने मेसिनको विकास, उखुमा रोप्ने तथा उकेरा लगाउने मेसिनको सुधार, कोदोजन्य बाली कुट्ने मेसिनको विकास, मेकेडेमिया नटको फल फुटाउने हाते मेसिनको विकास, तीनपाते सुन्तलाको बिउ निकाल्ने तथा सुन्तलाको ग्रेडिङ मेसिनको विकास गरिएको छ भने अन्य आयातीत कृषि औजारलाई फार्म केन्द्रमा परीक्षण र सुधार गरी कृषकस्तरमा प्रयोगका लागि प्रदर्शनीको काम पनि गर्दै आइरहेको छ।
आनुवंशिकस्रोत संरक्षण
आजका विभिन्न बाली तथा वस्तुका स्थानीय जात भोलिका उन्नत जात विकासका मुख्य स्रोत हुन्। देशमा भएका विभिन्न स्थानीय जात संकलन गरी तिनको पासपोर्ट डाटा इन्ट्री गरी सुरक्षित राख्ने काम पनि राष्ट्रिय जिन बैंकमार्फत गर्दै आइरहेको छ। हालसम्म ३०० वटा बालीको १८ हजार बढी स्थानीय जातको संरक्षण गरिएको छ।
स्रोत सामग्री उत्पादन तथा वितरण
कृषक स्तरमा सिफारिस गरिएका विभिन्न बाली तथा वस्तुको स्रोत बिउ, नश्ल तथा बिरुवा उत्पादन पनि नार्कको प्रमुख कार्यअन्तर्गत पर्दछ। प्रत्येक वर्ष नार्कका विभिन्न कार्यक्रम, निर्देशनालय तथा केन्द्रले समष्टिगत रुपमा १ हजार टन हाराहारी विभिन्न अन्न, गेडागुडी, तेल आदि बालीका स्रोत÷प्रजनन् बिउ उत्पादन, १ लाख हाराहारी आलुको प्रिबेसिक बिउ, ५ लाख हाराहारी फलफूल, अलैंची, कफीका बेर्ना उत्पादन, १५ सय हाराहारी पशुबस्तुको पाठापाठी तथा पाडापाडी उत्पादन, १ लाख हाराहारी कुखुरा चल्ला उत्पादन र २ करोड हाराहारीमा माछाका भुरा उत्पादन गरी कृषिसम्बन्धी सेवाप्रदायक निकायलाई उपलब्ध गराउँदै आएको छ। यस किसिमका स्रोत सामग्री उत्पादन तथा तिनको बिक्री वितरणबाट प्रत्येक वर्ष १६ करोड हाराहारीमा राजस्व संकलन गर्दै आइरहेको छ।
डिजिटलाइजेसन नार्क
सरकारको डिजिटल नेपालको भावनाअनुरुप नार्कले कृषकका समस्या अहिचान गर्ने, परियोजना छनोट गर्ने, सञ्चालन गर्ने, तिनको मूल्यांकन गर्नेदेखि लिएर प्रविधि प्रसारणसम्मका सबै काम डिजिटल प्रविधिमार्फत गर्दै आइरहेको छ। नार्कले आफ्नो परियोजना समीक्षा तथा व्यवस्थापन प्रणाली (सफ्टवेयर)मार्फत परियोजना व्यवस्थापन र अन–लाइन लाइब्रेरीमार्फत अनुसन्धानका नतिजा प्रकाशन गर्दै आएको छ। नार्कले विकास गरेको डिजिटल नक्सामार्फत देशभरिको माटोको विश्लेषण सजिलै गर्न सकिने भएको छ।
प्रविधि हस्तारण
प्रविधि प्रसारको मुख्य कार्य नार्कअन्तर्गत नपर्ने र त्यसको कार्य कृषि तथा पशु विभागअन्तर्गतका निकाय, प्रदेशस्थित कृषि तथा पशु विभाग मातहतका निकाय र स्थानीय निकायको मूल दायित्वअन्तर्गत पर्दछ। तर, नार्क आफूले विकास गरेका जात तथा प्रविधि विस्तारका लागि साप्ताहिक रुपमा नेपाल टेलिभिजनबाट ‘कृषि अनुसन्धान र प्रविधि’, साप्ताहिक मौसमी पूर्वानुमान, किसान कल सेन्टर, बाह्य अनुसन्धान स्थल, नार्क प्रविधि गाउँ, आवासीय कृषक तालिम, विभिन्न छापा माध्यम, कृषक उपयोगी प्राविधिक पुस्तिका प्रकाशन, नार्क कृषि मोबाइल एप, एसएमएस सेवा, वार्षिक अनुसन्धान तथा प्रसारकर्ता, कृषक तथा पत्रकार सम्मिलित गोष्ठी आदिका माध्यमबाट प्रविधि हस्तारणको काम पनि गर्दै आएको छ।