काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुन दुई साता बाँकी छ। अहिले अर्थ मन्त्रालयका कर्मचारीहरु नयाँ बजेट लेखनको चटारोमा छन्।
जसरी अर्थमन्त्री विष्णु पौडेलसहित कर्मचारीहरु आगामी वर्षको बजेट लेखनको चटारोमा छन्, उसैगरी बजेटअघि धेरैभन्दा धेरै गाडी ल्याउने चटारोमा छन्, व्यवसायीहरु। बजेटमा विद्युतीय सवारी साधन(ईभी)मा कर बढ्ने अनुमान गर्दै व्यवसायीहरु गाडी ल्याउने र भन्सार छुटाउने काममा व्यस्त भएका हुन्।
अरू समयमा आयात हुनेभन्दा बजेटअघि लाइन क्लियरेन्स बढ्ने गरेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्र प्याकुरेल बताउँछन्। ‘अहिले दैनिक ५०/६० वटाको रेसियोमा गाडी गइरहेको छ। र्याडमा ५०० भन्दा बढी गाडीहरु स्टकमा छन्। निजी भेहिकलमा सबैभन्दा धेरै बिवाईडी, जेक्को जे ६ र एमजी आएको छ,’ प्याकुरेलले भने, ‘एमजी आउन थालेको एक हप्ता जति भयो ५० युनिट र्याडमा छ। जेक्को जे ६ डिक्लियर गरेर लानका लागि ३० युनिट बाँकी छ। अहिलेसम्म ४-५ सय गाडी जेक्को ६ को आइसकेको छ।’ सबैभन्दा बढी सार्वजनिक रुपमा चल्ने माइक्रो आएको प्याकुरेलको भनाइ छ।
धेरै गाडी आयात गर्ने ब्राण्डहरुले स्टक भनेर डम्प गरेर खासै राख्ने गरेका छैनन्। आउने जाने भइरहेको छ। डम्प भएर बसेको गाडी भनेको स्काइवेल हो। जुन ८० युनिट लामो समयदेखि बसेको प्याकुरेलको भनाइ थियो।
बजेटमा कर बढेमा अहिले बिक्री गर्दै आएका गाडीहरुको मूल्य बढ्ने भएकाले व्यापारीहरुले आफ्नो क्षमताले भ्याएसम्म गाडी आयात गरी स्टक राख्न थालेका हुन्।
‘हाम्रो अहिलेको क्यापासिटीअनुसार पाँचदेखि आठ सय गाडी अट्छन्। एउटा गाडीले १५-१६ लाख तिर्छन्। सार्वजनिक रुपमा चल्ने माइक्रोहरुले ८-९ लाख तिर्छन,’ प्याकुरेलले भने, ‘गाडीहरु पास भएर लान केही समय लाग्छ। १०० वटा गाडी ल्याए भने पनि ठूलो रकम तिर्नुपर्छ। त्यसैले केही समय होल्ड हुन्छ।’

यस आर्थिक वर्षमा मात्र ३ देखि ४ हजार युनिट बिवाईडी गाडी आइसकेको छ। बिवाईडीको खासै स्टक नराख्ने भएकाले आउने जाने भइरहेको उनको भनाइ छ। सामान्य अवस्थाको तुलनामा बजेटको पूर्वसन्ध्यामा आयात दोब्बरले बढ्ने गरेको विगतदेखि नै ट्रेण्ड हो। बजेटमा कर बढेमा अहिले बिक्री गर्दै आएका गाडीहरुको मूल्य बढ्ने भएकाले व्यापारीहरुले आफ्नो क्षमताले भ्याएसम्म गाडी आयात गरी स्टक राख्न थालेका हुन्।
हरेक वर्ष बजेटअगाडि करको दर बढ्ने हल्लाका कारण व्यवसायीहरुबीच गाडी ल्याउने होड चल्छ। यो वर्ष पनि बजेटअघि स्टकमा राख्न व्यवसायीहरुले गाडी ल्याउन सुरु गरिसकेका छन्। कति गाडी भन्सार कार्यालयमा आइसकेको छ भने कति गाडी आउँदै छ।
अहिले बजारमा सबैभन्दा धेरै चिनियाँ ब्राण्डका गाडीहरू उपलब्ध छन्। जसमा बिवाईडी, एमजी, डोङफेङ नामी, दिपल, ओमोडा/जेको, लिपमोटर जस्ता चल्तीका ब्राण्डले धेरै गाडी ल्याएका छन्।
अघिकांश गाडी तातोपानी र रसुवागढी नाकामा आइसकेका छन्। कति गाडी बाटोमा आउँदै गरेको बुझिएको छ।
यस वर्षको बजेट आउन अझै १५ दिन बाँकी छ। सरकारले कर बढाउने हल्लाका कारण एउटा कम्पनीले ठूलो संख्यामा गाडी मगाएको बुझिएको छ। गत वर्ष पनि बजेटअघिको डेढ महिनामा पाँच हजार युनिट गाडी आयात भएको थियो।

यस वर्ष पनि ठूलो संख्यामा व्यापारीहरुले गाडी मगाएको बुझिएको छ। यस वर्ष बिवाईडीले मात्र एक हजार ५०० सय युनिट मगाएको बुझिएको छ। एमजीले एक हजार २०० युनिट, एमएडब्लु वृद्धिले २०० युनिट मगाएको बुझिएको छ। अघिकांश गाडी तातोपानी र रसुवागढी नाकामा आइसकेका छन्। कति गाडी बाटोमा आउँदै गरेको बुझिएको छ।
बजेटअगाडि आउने गाडी स्टकमा राख्नका लागि भएको एक व्यवसायीले बताए। ‘बजेटअगाडि ल्याएको गाडी वर्षभरि लगाएर बेच्ने हो। जति ल्याउँछन्, त्यो सबै गाडी स्कट हो,’ ती व्यवसायीले भने, ‘एउटा कम्पनीले ल्याएको हजार-पन्ध्र सय युनिट गाडी अहिले बिक्री भइहाल्छ भन्ने होइन।’
बजेटअघि रसुवा र तातोपानी भन्सार कार्यालयका कर्मचारी व्यस्त भएका छन्। भन्सार र्याडमा गाडीको ताँती छ। नेपालमा अधिकांश गाडी चिनियाँ ब्राण्ड भएकाले यति बेला चीनबाट आउने भन्सार कार्यालयमा गाडीको ताँती मात्र छैन, दैनिक ६०/७० वटा गाडी व्यवसायीहरुले आफ्नो ग्यारेजमा ल्याएका छन्।

