काठमाडौं। तातोपानी भन्सार नाकाबाट वैशाख महिनामा मात्रै १२ सय युनिटभन्दा धेरै विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएका छन्। गत वैशाखमा मात्रै तातोपानी भन्सार नाकाबाट एक हजार २१८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका हुन्।
उक्त आयातबाट सरकारले एक अर्ब ६६ करोड ८० लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको एक महिनामा तीन अर्ब रुपैयाँ बराबरको कार, जीप, भ्यान, मिनिबस, माइक्रोबस नेपाल भित्रिएका हुन्।
वैशाखमा तातोपानी भन्सारबाट मात्र ५१ करोड ४५ लाख रुपैयाँ बराबरको २०१ युनिट माइक्रोबस आयात भएका छन्। यस अवधिमा दुई अर्ब ४० करोड रुपैयाँ बराबरको ९९० युनिट कार, जीप र भ्यान आयात भएका छन् भने २७ युनिट अन्य गाडी आयात भएका छन्।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ईभीमा कर बढ्ने हल्लाका कारण व्यवसायीले वैशखमा ईभीको आयात बढाएका तातोपानी भन्सार कार्यलयका सुचना अधिकारी सूर्यप्रसाद आचार्य बताउँछन्।
‘बजेटमार्फत भन्सार दर बढ्ने शंकाले व्यवसायीहरूले वैशाखमा विद्युतीय गाडीको आयात बढाएका छन्। वैशाखमा मात्र तीन अर्ब राजस्व तातोपानी भन्सारबाट संकलन भएको छ।’ आचार्यले भने। तातोपानी भन्सार र्याडमा हाल एक हजार युनिट गाडी रहेको उनको भनाइ छ।
तातोपानी भन्सार हुँदै दिपल, सेरेस, नामी, ओमोडा, लिपमोटर, जिकर, एमजी, फोटोन भ्यानलगायत ब्राण्डका विद्युतीय सवारी साधन भित्रिन्छन्।
‘अब तातोपानी भन्सारमा जाँचपासका लागि एक हजार युनिट गाडी पाइपलाइनमा छन्। यी सबै बजेटअघि जाँचपास हुने गाडी हुन्। अहिले दिनमा सयदेखि डेढ सय युनिट गाडी जाँचपास भइरहेका छन्,’ उनले भने। तातोपानी भन्सार हुँदै ५१ किलोवाट देखि १०० किलोवाटसम्मका गाडी बढी आउने आचार्यले बताए। चालु आवको १० महिनामा तातोपानी भन्सार कार्यालयबाट कुल ३ हजार हजार ९४६ युनिट सवारी साधन आयात भएका छन्।
साउनदेखि वैशाखसम्मको अवधिमा कुल १० अर्ब रुपैयाँ बरारबको विद्युतीय सवारी साधन आयात भएका छन्। उक्त आयातबाट सरकारले ५ अर्ब ४० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। तातोपानी भन्सार हुँदै दिपल, सेरेस, नामी, ओमोडा, लिपमोटर, जिकर, एमजी, फोटोन भ्यानलगायत ब्राण्डका विद्युतीय सवारी साधन भित्रिन्छन्।
५१ देखि १०० किलोवाटका गाडी बढी
तातोपानी भन्सार हुँदै नेपालमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटको गाडी आयात हुने गरेको तातोपानी भन्सार कार्यलयले जनाएको छ। १० महिनाको अवधिमा ५१ देखि १०० किलोवाटसम्मका दुई हजार २२६ युनिट ईभी गाडी आयात भएका छन्।
५० किलोवाटसम्मका ६०८ युनिट आयात भएका छन् भने १०१ किलोवाटदेखि माथिका ३७० युनिट ईभी नेपाल भित्रिएका छन्। चीनबाट आयात हुने विद्युतीय गाडी तातोपानी र रसुवा भन्सार हुँदै आउने भएकाले जाँचपासका लागि चाप बढेको छ।
