काठमाडौं। नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले म्याक्ससको ‘ई टेरन-९’ इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ। कम्पनीले आइतबार मनाङमा एक कार्यक्रमका बीच ‘ई टेरन-९’ इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको हो।
लग्जरी र प्रिमियम गरी दुई भेरियन्टमा सार्वजनिक भएको ‘ई टेरन-९’ को सुरुवाती मूल्य ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा १०२.२ किलोवाट आवरको एलफपी ब्याट्री दिइएको छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ५६० किलोमिटरको रेन्ज दिने एनईडिसीले प्रमाणित गरेको छ।
फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पिकअपको अगाडि १२५ र रियरमा २०० किलोवाटको मोटर छ। दुवै मोटरको संयुक्त पावर ३१५ किलोवाट रहेको छ।
‘ई टेरन-९’मा रहेको ब्याट्रीलाई ११ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १२ घण्टामा फुल चार्ज गर्न सकिन्छ। यसले ११५ किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ। डिसी फास्ट चार्जले २० देखि ८० प्रतिशत चार्ज ४२ मिनेटमा हुने कम्पनीले जनाएको छ।

म्याक्ससको ‘ई टेरन-९’ को लम्बाइ ५५०० एमएम, चौडाई १९९७ एमएम, उचाई १८७४ एमएम छ। यसको ह्वीलवेस ३३०० एमएम लामो छ। ‘ई टेरन-९’ को ग्राउन्ड क्लियरेन्स २६० एमएम रहेको छ।
म्याक्सस इलेक्ट्रिक ई टेरन-९ ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ। कम्पनीले नेपाली बजारमा भेहिकलमा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटर र हाइ भोल्टेज ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ।
यसको अप्रोच, डिपार्चर र र्याम्प एंगल क्रमशः २९, २५ र २० डिग्रीको रहेको पीकअप नेपाली जस्तोसुकै सडकका लागि पनि उपयुक्त हुने कम्पनीको दाबी छ।
लग्जरी सेग्मेन्टमा आएको पीकअपमा अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड र भेन्टिलेटेड फ्रन्ट एण्ड रियर सिट छ। त्यसैगरी, मेमोरीसहितको र मसाज ड्राइभर सिट, पानारोमिक सनरुफ, अटोमेटिक हेडलाइट र वाइपर जस्ता क्याबिन फिचर छन्।

अफरोड मेसिनलाई सुरक्षाका लागि अब्बल बनाउन ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ दिइएको छ। साथै, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, ईएसपी, ईबीए, अल टेरन मोड, ९ वटा एयरब्याग, अटोहोल्ड जस्ता फिचर छन्।
