काठमाडौं। चिनियाँ विद्युतीय गाडी कायी नेपालका लागि आधिकारिक बिक्रेत एउटा मात्र कम्पनी हुने भएको छ। हाल लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले बिक्री गर्दै आएको यो गाडी अब एउटा नयाँ कम्पनीमार्फत बिक्री हुने भएको हो।
लामो रस्सारक्सीपछि कायी गाडीले नेपालका लागि तीन वटा कम्पनीलाई छनौट गरेको थियो। यसमध्ये बीचमा एउटा कम्पनीले छोडेपछि लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले छुट्टा–छुट्टै रुपमा गाडी बेचिरहेको थियो । अब संयुक्त कम्पनीमार्फत बिक्री गर्ने निश्चित भएको हो।
‘हामी अब एउटै कम्पनीमार्फत कायी गाडी बेच्ने निष्कर्षमा पुगेका छौँ,’ कायी गाडी बिक्रेतामध्येका एक सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘केही दिनमा प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने तयारीमा लागिरहेका छौँ।’
हाल दुई वटा कम्पनीले दुई ठाउँबाट गाडी बेचिरहेको अवस्थामा दुवैले संयुक्त कम्पनी बनाएर बिक्री गर्ने सहमति भएको ती सञ्चालकले जानकारी दिए। ‘गाडी निर्माण कम्पनीले पनि नेपालमा दुई वटा बिक्रेता हुँदा डिल गर्न समस्या भएको र नेपालमै पनि बिक्री गर्नका लागि दुई कम्पनीबीच प्रतिस्पर्धा हुँदा समस्या भइरहेको भनेको थियो,’ ती सञ्चालकले भने, ‘अब एकै ठाउँबाट बेच्ने गरी सहमति गरिसकेका छौँ।’
दुई वटा कम्पनीमार्फत बिक्री हुँदा ग्राहकलाई दिने छुटमा प्रतिस्पर्धा हुने र ग्राहकलाई बार्गेनिङ पोइन्ट मिल्ने भएकाले अब एउटै कम्पनीमार्फत कारोबार गर्ने गरी सहमति गरेको जनाएको छ।

केही साताअघि दुवै कम्पनीका सञ्चालक निराकर श्रेष्ठ र आकाश गोल्छा चीनमा भएको डिलर मिटमा समेत सहभागी भएका थिए। ‘श्रेष्ठ र गोल्छा दुवै जना मिल्ने साथी भएकाले कायीलाई एउटै कम्पनी बनाएर बेच्ने गरी सहमति भएको हुन सक्छ,’ उनीहरू निकट एक कर्मचारीले भने, ‘यो हाम्रो लागि पनि राम्रो हो, कम्तीमा ग्राहकलाई कन्भिस गराउन सहज हुन्छ।’
संयुक्त गरेको थियो ‘कायी एक्सचेञ्ज कार्निभल’
आकर्षक छुट र बम्पर उपहारसहित कायी गाडीको एक्सचेञ्ज मेला वैशाख २९ गते सकियो। थापाथलीमा तीन दिनसम्म चलेको एक्सचेञ्ज मेला दुई कम्पनी मिलेर संयुक्त रुपमा गरेको थियो।

‘दुवै कम्पनीले संयुक्त रुपमा गाडी बेच्न लागेको सन्देश एक्सचेञ्ज कार्निभलबाटै दिइसकेका छौँ,’ ती सञ्चालकले भने, ‘प्रतिस्पर्धात्मक बजारमा दुई कम्पनीबीच प्रतिस्पर्धा गर्नुपर्ने स्थिति भएकाले एक भएका हौँ।’
कायीको एसयूभी सेग्मेन्टमा कायी एक्सथ्री‑प्रो र ह्याजब्यागमा ई‑क्यू ४ र ई‑क्यू २ बिक्री गरिरहेको छ।