काठमाडौं। सरकारले दुईपांग्रे र चारपांग्रे सवारीमा फरक–फरक खालको ‘सवारीसाधन उत्सर्जन मापदण्ड’ लागू गर्ने भएको छ। सरकारले डिजेल/पेट्रोल चारपांग्रे सवारीसाधनमा युरो–६ र दुईपांग्रे सवारीको लागि युरो–५ मापदण्ड लागू गर्ने भएको हो।
विगत लामो समयदेखि नै पटक–पटक नेपालमा युरो–६ मापदण्ड लागू हुने चर्चा भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै डिजेल पेट्रोल सवारीसाधनमा युरो–६ मापदण्ड लागू गरिने घोषणा गरेका छन्। सरकारले यस विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेसँगै यसको कार्यान्वयन छिट्टै हुने धेरैले अनुमान गरेका छन्।
नेपालमा सरकारले चारपांग्रे सवारीसाधनमा युरो–६ मापदण्ड लागू गरिने घोषणा गरे पनि दुईपांग्रे र तीनपांग्रे सवारीसाधनमा भने युरो–५ मापदण्ड लागू गर्ने भएको हो।
अहिले नेपालमा युरो–३ मापदण्ड लागू भइरहेको छ। तर, भारतले सन् २०२० देखि नै युरो–६ मापदण्ड लागू गरिसकेकाले नेपालमा पनि क्रमशः युरो–६ गाडीहरूको आयात र उपयोग बढ्दो छ।
नेपालमा अधिकांश बाइक भारतबाट आयात हुन्छ। भारतमा बीएस–६ र बीएस–५ लागू भएको छ। भारतमा बीएस–६ का बाइक तथा स्कुटर उत्पादन नहुने भएकाले स्ट्याण्डर्ड नै घटाउन लागेको हो। भारतमा डिजेल/पेट्रोल गाडी युरो–६ उत्पादन भए पनि बाइक भने युरो–६ उत्पादन हुँदैन।
नेपालमा सरकारले चारपांग्रे सवारीसाधनमा युरो–६ मापदण्ड लागू गरिने घोषणा गरे पनि दुईपांग्रे र तीनपांग्रे सवारीसाधनमा भने युरो–५ मापदण्ड लागू गर्ने भएको हो।
सरकारले दुईपांग्रे र तीनपांग्रे सवारीको लागि युरो–५ र चारपांग्रे सवारीसाधनको लागि युरो–६ को मापदण्ड लागू गर्ने वातावरण विभागका सूचना अधिकारी दिपक ज्ञवालीले बताए।
‘दुईपांग्रे र तीनपांग्रे सवारीका लागि युरो ५ र चारपांग्रे सवारीसाधनको लागि युरो–६ को इकोभ्यालेन्टको कुरा छ,’ सूचना अधिकारी ज्ञवालीले भने, ‘बोल्दा व्यवहारमा युरो–६ भन्ने गरिन्छ तर, दुईपांग्रे र तीनपांग्रेको लागि युरो–५ र चारपांग्रेको लागि युरो–६ को मापदण्ड लागू हुन्छ। व्यवहारमा भन्न सबैलाई युरो–६ भनिन्छ।’
बाइक तथा गाडीको लागि अन्तर्राष्ट्रिय अभ्यास नै युरो–५ र युरो–६ भएको हुनाले नेपालमा पनि त्यही लागू हुने उनको भनाइ छ। ‘युरो–६ भनिए पनि त्यो भित्रको टेक्निकल कुरा गर्दा युरो–५ हुने रहेछ। यस कुरामा विश्वभरिको अभ्यास नै यस्तै रहेछ।’
नेपालको सन्दर्भमा धेरै दुईपांग्रे सवारीसाधन निर्माता कम्पनीहरुले बीएस–६ मापदण्डका सवारी भित्र्याइरहेका छन्। हाल नेपालमा धेरै मोडलका बाइकहरु बीएस–६ पनि छन्। कुनै–कुनै बीएस–४ पनि छन्। सामान्यतया १५० सीसीभन्दा माथिका प्रायः बाइकमा एफआइ आइसकेको छ।
एफआइ भएको बाइकहरु प्रायः बीएस–६ नै भइसकेको छ। तर, १५० भन्दा कम सीसीको बाइकमा अहिले पनि बीएस–४ मा आइरहेको छ। तर, बीएस–६ को लागि व्यवसायीहरु तयार नभएको बताउँदै आएका छन्। नेपालमा युरो–६ को मापदण्ड दुईपांग्रे र चारपांग्रे दुवैका लागि बराबर नै हुनुपर्ने गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले बताए।
‘दुईपांग्रे र चारपांग्रे दुवैको लागि बराबर नै हुनुपर्छ। बाइक तथा स्कुटरको लागि बीएस–६ नै चाहिन्छ। युरो–५ अलि जटिल कम्प्लीकेटेड हुन्छ, किनकी युरो–५ हामीलाई आवश्यक छैन,’ प्रबन्ध निर्देशक गोल्छाले भने, ‘भारत स्ट्याण्डर्डबाट नै हेर्नुपर्ने हो। दुईपांग्रे र चारपांग्रेमा एउटै हुनुपर्छ।’ दुईपांग्रे र चारपांग्रे सवारीसाधनको लागि एउटै गाइडलाइन हुनुपर्ने प्रबन्ध निर्देशक गोल्छाले बताए।
‘युरो–६ मा जानका लागि हामीले धेरै पहिलादेखि नै भन्दै आएका हौं। वातावरणीय हिसाबले युरो–६ मा जानु नै उपयुक्त हुन्छ। गत महिना काठमाडौंको प्रदुषण कस्तो थियो, यो सबै हामीले देखेका छौं। युरो–६ मा जाने समय यही नै हो। हामी आगामी बजेटमा केही आउँछ कि भन्ने आस गरेर बसिरहेका छौं।’
अहिले युरोकाबारेमा केही प्रष्टता आएको छैन। हाम्रोमा भारतले चारपांग्रैमा–६ दुईपांग्रेमा ५ युरो गर्यो भन्दैमा नेपालले त्यही गर्नुपर्छ भन्ने हुँदैन। आफ्नो माटो सुहाउँदा स्ट्याण्डर्ड बनाउनुर्ने उनको भनाइ छ।