पर्सा। वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरीका सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको तीन महिनामा सवारीसाधन आयातबाट ७ अर्ब ७७ करोड राजस्व संकलन भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको तीन महिनामा सवारीसाधन आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए।
जबकि गत आवको तीन महिनामा ६ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए। गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब ९५ करोड राजस्व संकलन भएको थियो।
चालू आवको तीन महिनामा ३ अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार ९३९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएको छ। ती अनएसेम्बल्ड मोटरसाइकलको आयातबाट ३ अर्ब २८ करोड राजस्व संकलन भएको छ।
त्यस्तै गत आवको तीन महिनाको अवधिमा २ अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार चार सय ८९ अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो। चालू आवको तीन महिनामा ६२ करोड २४ लाख मूल्य पर्ने तीन सय ३० जीप, कार र भ्यान आयात भएको छ।
ती सवारीसाधन आयातबाट एक अर्ब ७५ करोड राजस्व संकलन भएको छ। गत आवको तीन महिने अवधिमा ७६ करोड ५८ लाख मूल्य पर्ने ४३२ जीप, कार र भ्यान आयात भएको थियो। सो आवमा ती सवारीसाधनको आयातबाट १ अर्ब ९६ करोड राजस्व संकलन भएको थियो।
चालू आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व संकलन भएको छ।
गत आवको तीनमहिने अवधिमा वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो। सो अवधिमा विद्युतीय सवारी आयातबाट ९ करोड ११ लाख मात्रै राजस्व संकलन भएको थियो।–रासस