काठमाडौं। वातावरणमैत्री र किफायती भन्दै नेपालमा विद्युतीय गाडी (ईभी) को बिक्री तीव्र रूपमा बढिरहेको छ। कम खर्चमा संचालन हुने र वातावरणलाई प्रदूषण नगर्ने विकल्पका रूपमा सवारीसाधन प्रयोगकर्ताले विद्युतीय सवारीसाधन रोज्न थालेका छन्। तर, बिक्री तीव्र गतिमा बढे पनि बिक्रीपछिको सेवा भने त्यत्तिकै कमजोर बन्दै गएको छ। स्पेयर पार्ट्सको अभाव र दक्ष प्राविधिकको चरम अभावले गर्दा ईभी प्रयोगकर्ताहरू गम्भीर समस्यामा परेका छन्। गाडी बिग्रिएपछि हप्तौं र महिनौंसम्म मर्मतको पर्खाइमा बस्नुपर्ने बाध्यता ईभी खरिदकर्ताहरूका लागि नयाँ पीडा बनेको छ।
ईभीको बिक्री र आकर्षण तीव्र रूपमा बढे पनि बिक्रीपछिको सेवामा ईभी प्रयोगकर्ताहरूले धेरै समस्या भोगिरहेका छन्। हाल स्पेयर पार्ट्सको अभाव र ईभी मर्मतका लागि दक्ष जनशक्तिको अभावका कारण उपभोक्ताहरूले धेरै असुविधा भोग्नुपरेको छ। अधिकांश ईभी प्रयोगकर्ताहरू गाडी मर्मतमा समस्या झेल्नुपरेको बताउँछन्।
सरकारले कर छुट दिएर ईभीलाई प्रवर्द्धन गरे पनि बिक्रीपश्चात् सेवा पूर्वाधारमा उत्तिकै ध्यान नपुगेको पाइएको छ। कम्पनीहरू बिक्रीमा मात्र केन्द्रित भएका र पर्याप्त सर्भिस सेन्टर, दक्ष प्राविधिक तथा स्पेयर पार्ट्सको व्यवस्था नगरेको गुनासो चर्किएको छ।
दक्ष जनशक्ति अभाव
विद्युतीय सवारीसाधन मर्मत गर्न विशेष ज्ञान र तालिम आवश्यक पर्ने भएकाले सामान्य वर्कशप तथा परम्परागत आईसीई इन्जिन मर्मत गर्ने मेकानिकले काम गर्न नसक्ने अवस्था छ। विद्युतीय गाडीको मर्मत गर्न तालिम र त्यसअनुसारको उपकरण चाहिन्छ, जुन नेपालमा खासै उपलब्ध छैन। ब्याट्री, कन्ट्रोलर, मोटर र सेन्सरजस्ता जटिल विद्युतीय प्रणाली मर्मत गर्न तालिमप्राप्त मेकानिकल इन्जिनियर चाहिन्छ, जसको संख्या नेपालमा नगण्य छ।
अहिले सामान्य मर्मतका लागि समेत पार्ट्स ल्याउन समय लाग्ने अवस्था रहेको छ। त्यसमा पनि विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्री, कन्ट्रोलर र मोटर मर्मत गर्न सक्ने दक्ष मेकानिकको संख्या अत्यन्तै न्यून छ। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा भन्छन्, "नेपालमा ईभी नयाँ प्रविधि भएको हुनाले ईभी मर्मत गर्ने दक्ष मेकानिकको एकदमै अभाव रहेको छ। अहिले हाम्रोमा ईभी मर्मतका लागि दक्ष जनशक्तिको निकै अभाव छ।"
उनका अनुसार, कम्पनीहरूले मेकानिकहरूलाई बेलाबेला तालिम दिए पनि मेकानिकहरू तालिम सिकेर विदेशिने समस्या विकराल बनेको छ। उनीहरू नेपालमा रहन नचाहेको र राम्रो अवसरका लागि विदेश पलायन भएको उनको गुनासो छ।
थापा थप्छन्, "भर्खरै पनि पुलचोक इन्जिनियरिङ क्याम्पसको सहयोगमा सात जनालाई चीन तालिमका लागि पठाएका छौं। उनीहरू पढेर आएपछि नेपाल बस्छन् वा बस्दैनन् हामीलाई नै थाहा नहुने भयो। पहिले पनि धेरै मेकानिकल इन्जिनियरहरूलाई ईभी मर्मतका लागि चीन तालिम लिन पठाए पनि तालिम लिएर आएपछि नेपाल नबस्ने गरेका छन्।"
उनी जोड्छन्, "ईभी नेपालमा नयाँ प्रविधि हो। आईसीई इन्जिन सवारीसाधन मर्मत गर्ने मेकानिकहरूले ईभी मर्मत गर्न सक्दैनन्। ईभी गाडी मेकानिकल इन्जिनियरिङ पढेकाहरूले मात्र मर्मत गर्न सक्छन्। यसमा नटबल्ट कसेर मात्र हुँदैन।"
डाइग्नोस्टिक उपकरण र विशेष तालिमको आवश्यकता
थापाका अनुसार, डिजेल–पेट्रोल गाडी धेरै पटक अनुमानको भरमा पनि मर्मत गरिरहेका हुन्छन्। तर ईभीमा त्यसो हुँदैन। यसमा ल्यापटप जोडेर डाइग्नोस्टिक गर्नुपर्छ। कम्प्युटरमार्फत गाडीको इलेक्ट्रोनिक प्रणालीमा के समस्या छ भनेर पत्ता लगाउनुपर्ने हुन्छ। यो काम परम्परागत मेकानिकले गर्न सक्दैनन्।
उनले बताएअनुसार, कम्पनीले सिटिभिटी र जाइका नेपालको सहयोगमा बेलाबेला मेकानिकहरूलाई प्रशिक्षण दिइरहेको छ। तर प्रशिक्षणपछि उनीहरूलाई नेपालमा रोकेर राख्ने विषयमा ठोस नीति नभएको उनको गुनासो छ। प्रशिक्षित जनशक्तिको पलायनले समस्या थप गम्भीर बन्दै गएको छ।
स्पेयर पार्ट्सको अभावले असहज ग्राहक
मर्मतका लागि दक्ष प्राविधिकसँगै स्पेयर पार्ट्सको अभाव अर्को ठूलो समस्या बनेको छ। साना दुर्घटनामा परेका गाडीका बम्पर, बडी प्यानल वा ब्याट्री सेन्सरमा समस्या आए पनि नेपालमा तत्काल मर्मत सम्भव हुँदैन। आवश्यक पार्ट्स विदेशबाट मगाउनुपर्ने हुँदा गाडी महिनौंसम्म वर्कशपमा अड्किने गरेको छ।
एक ईभी प्रयोगकर्ता भन्छन्, "बिक्रीपछिको सेवा अत्यन्त कमजोर छ। गाडी बिग्रिएपछि कम्पनीमा मर्मतको लागि लगे हप्तौंसम्म पनि के भएको हो भन्ने कुरा नहेर्ने र पार्ट्स छैन भनेर पन्छिने गर्छन्।" एक व्यवसायी स्पष्ट रूपमा स्वीकार्छन्, "अहिले धेरै समस्या दक्ष जनशक्तिको अभावले भएको छ। दक्ष जनशक्तिको अभाव भएका कारण पार्ट्स बाहिरबाट आउन समय लाग्छ भन्दै प्रयोगकर्ताहरूलाई झुट बोल्नुपर्ने बाध्यता रहेको छ।"
उनका अनुसार, ईभीको ब्याट्री, मोटर, ब्रेकलगायतमा आएको समस्या एउटै मेकानिकले मर्मत गर्न नसक्ने अवस्था छ। फरक–फरक प्रणालीका लागि फरक–फरक विशेषज्ञ चाहिन्छ, जसको अभाव छ। ईभी मर्मत गर्नको लागि फरक–फरक मेकानिकहरू चाहिने व्यवसायीहरू बताउँछन्।
बिक्रीमा मात्र केन्द्रित कम्पनी, सेवामा बेवास्ता
सरकारले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न दिएको कर छुटको फाइदा व्यापारीले बिक्रीमा लिइरहेका छन्। तर ईभी व्यवसायीहरूले गुणस्तरीय सेवा र मर्मत पूर्वाधारमा लगानी नगरेको आरोप बेलाबेला लाग्ने गरेको छ।
नेपालमा ईभी बिक्री तीव्र रूपमा बढे पनि धेरै कम्पनीहरूले बिक्रीपछिको सेवामा ध्यान नदिएको एक व्यवसायी बताउँछन्। उनी भन्छन्, "कम्पनीहरू बिक्रीमा मात्र ध्यान दिइरहेका छन्। तर ईभी मर्मतका लागि आवश्यक पार्ट्स र दक्ष जनशक्ति उपलब्ध गराउन सकेका छैनन्।"
सार्वजनिक वा निजी विद्युतीय सवारी बिक्री गर्ने अधिकांश कम्पनीले पर्याप्त सर्भिस सेन्टर उपलब्ध गराउन नसक्दा उपभोक्ताहरू असन्तुष्ट बन्दै गएका छन्। कम्पनीहरूले गाडी बिक्रीमा आक्रामक रूपमा लागे पनि मर्मत सेवा स्थापना र विस्तारमा लगानी गर्न चाहेका छैनन्।
धेरै मेकानिकहरूलाई ईभी मर्मतका लागि आवश्यक तालिम लिन विदेश पठाए पनि तालिम लिएर फर्केपछि नेपाल नबस्ने व्यवसायीहरूको गुनासो छ। यसले कम्पनीहरूलाई पनि लगानीमा दोधार बनाएको छ। तालिमको लागि लगानी गर्दा पनि सो जनशक्ति नेपालमा रोकिँदैन भने त्यो खर्च व्यर्थ जाने भएकाले कम्पनीहरू पनि तालिम प्रदान गर्न हिचकिचाउने गरेको व्यवसायीहरू बताउँछन्।
चुनौती सुरुवाती चरणबाट पार, नयाँ संकट थपिँदै
सुरुवाती चरणमा चार्जिङ स्टेशनको समस्या प्रमुख चुनौती थियो। ईभी प्रयोगकर्ताहरूले गाडी चार्ज गर्न सहज स्थान नपाएको गुनासो गर्थे। अहिले भने देशभर चार्जिङ पूर्वाधार उल्लेखनीय रूपमा विस्तार भइसकेको छ। सरकार र निजी क्षेत्रको लगानीमा मुख्य राजमार्ग र शहरी क्षेत्रमा चार्जिङ स्टेशनहरू स्थापना भएका छन्।
तर, मर्मत सेवा र स्पेयर पार्ट्सको अभाव अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ। चार्जिङको समस्या समाधान भए पनि गाडी बिग्रिएपछि मर्मत गर्न नपाउने समस्याले प्रयोगकर्ताहरूलाई थप असहज बनाएको छ।
ग्राहकको असन्तुष्टि बढ्दो
ईभी प्रयोगकर्ताहरू भन्छन्, बिक्रीपछिको सेवा अत्यन्त कमजोर छ। गाडी बिग्रिएपछि कम्पनीमा मर्मतको लागि लिएर जाँदा हप्तौंसम्म पनि के भएको हो भन्ने कुरा नहेर्ने र पार्ट्स छैन भनेर पन्छिने गरेको उनीहरूको गुनासो छ।
उनीहरूका अनुसार, साना दुर्घटनामा परेका गाडीहरूका बम्पर, बडी प्यानल वा ब्याट्री सेन्सरमा समस्या आए पनि नेपालमा तत्काल मर्मत सम्भव हुँदैन। आवश्यक पार्ट्स विदेशबाट मगाउनुपर्ने भएकाले गाडी महिनौंसम्म वर्कशपमा बस्ने गरेको छ। यसले प्रयोगकर्ताहरूलाई आर्थिक र व्यावहारिक दुवै किसिमको समस्या भोग्नुपरेको छ।
ईभीको बिक्री तीव्र रूपमा बढे पनि बिक्रीपश्चात् सेवामा उत्तिकै गम्भीरता नदेखिएको प्रयोगकर्ताहरू बताउँछन्। उनीहरूको माग छ—सरकारले कर छुट दिनुभन्दा पहिले सेवा पूर्वाधार र दक्ष जनशक्ति विकासमा ध्यान दिनुपर्छ। नत्र कर छुटको प्रलोभनमा ईभी किन्ने प्रयोगकर्ताहरू पछि गएर समस्यामा पर्ने क्रम जारी रहने उनीहरूको चेतावनी छ।
विशेषज्ञहरूका अनुसार, ईभी क्षेत्रको दिगो विकासका लागि बिक्रीसँगै सेवा पूर्वाधार, दक्ष जनशक्ति विकास र स्पेयर पार्ट्सको सहज उपलब्धतामा समान जोड दिनुपर्छ। अन्यथा ईभी क्षेत्रको विकास दीर्घकालीन रूपमा दिगो हुन सक्दैन।