काठमाडौं। अहिले धेरैको चासो छ, बजेटमा विद्युतीय सवारी साधन(ईभी)को कर बढ्छ वा बढ्दैन। बजेटपछि कतिसम्म गाडीको मूल्य बढ्छ भन्ने चासो धेरैको छ। खासगरी विद्युतीय सवारी चलाउन चाहनेले यसमा चासो देखाइरहेका छन्।
जसरी अहिले उपभोक्ता बजेटमा बिजुली गाडीको कर कति बढ्छ भनेर बसिरहेका छन्, गाडी बिक्रेता पनि उसैगरी बजेट कुरेर बसिरहेका छन्। बजेटमा कर कति थपघट हुन्छ र त्यहीअनुसारले नयाँ मूल्य तय गर्ने योजनाका साथ अहिले व्यवसायीले नयाँ गाडी ल्याएर सार्वजनिक गर्न चाहिरहेका छैनन्। त्यसको एउटै कारण हो, करको दरमा हुने हेरफेर।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणापछि विभिन्न ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्ने गरी तयारी गरेका छन्। अहिले कति ब्रान्डका गाडी नेपाली बजारमा आएर परीक्षण भइरहेको छ भने कति ब्रान्डले बजेट पछि मात्र गाडी ल्याउने योजना बनाएका छन्।
चालू आर्थिक वर्षको एक महिनामा मात्र १ हजार ८९२ युनिट विद्युतीय कार आयात भएसँगै ईभीको लोकप्रियता प्रस्ट भएको छ। केही समयपछि हुने दुई वटा अटो शो, त्यसपछि दसैं-तिहार लक्षित योजना तथा अफर चल्ने गर्छन् भने यो समय अटो बजार थप चलायमान बन्ने गर्दछ। अब आउने दुई तीन महिनामा गाडी बिक्री पनि उल्लेख्य वृद्धि हुनेछ।
यी हुन् बजेट कुरेर बसेका बिजुली गाडी
बजेटपछि नयाँ गाडी लन्च गर्ने तयारीमा धेरै कम्पनी छन्। हालसम्म महेन्द्रा बीई–६, एक्सईभी–९, एमजी वीन्डसर, फरथीङ फ्राइडे ब्रान्डका गाडी नेपाल आइसकेका छन् भने दिपल एस–०५, जेक्को जे–५ र भी–२३ बजेटपछि ल्याउने योजना कम्पनीले बनाएका छन्।
हाल लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ईमोबिलिटीले फरथीङ फ्राइडे नेपाल ल्याएर परीक्षण गरिरहेकाे लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दिपक थपलिया बताउँछन्। ‘अहिले फरथीङ फ्राइडे परीक्षणका लागि मात्र आएको हो। अहिले नेपालको वातावरण टेस्ट, रोड टेस्ट, माइनर टेस्टका लागि ल्याइएकाे हो,’ उनले भने, ‘गाडी बिक्री हुन लगभग १–२ महिना लाग्छ। नाइमा अटो शोमा यो गाडी आउँछ।’ अहिले नेपालमा धेरै गाडी आएर परीक्षण भइरहेको छ भने कति गाडी आउँनै बाँकी रहेका छन्।
बजेटपछि बिक्री हुने ईभी गाडीहरु
महेन्द्रा बीई–६ र एक्सईभी–९
लामो समयको प्रतीक्षापछि नेपालमा महिन्द्रा बीई–६ र एक्सईभी–९ ई नेपाल आएको छ। महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेट प्रालिले बीई–६ र एक्सईभी–९ ई नेपाल ल्याएको हो। कम्पनीले महिन्द्रा बीई–६ र एक्सईभी–९ ई दुई मोडलको ईभी भन्सार प्रयोजनका लागि मूल्य सार्वजनिक गरेको छ। कम्पनीले यी दुवै मोडलका गाडी बजेटपछि सार्वजनिक गरी बिक्री सुरु गरिने जनाएको छ।
महिन्द्रा बीई–६ का दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध हुनेछन्। कम्पनीले बीई–६ लाई ५९ किलोवाट आवरको ब्याट्री अप्सनको मूल्य ७६ लाख ३० हजार र ७९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको मूल्य ८३ लाख ८० हजार रुपैयाँ तोकेको छ। दुवै भेरियन्ट ९९ किलोवाट पिक पावरको इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ।
त्यसैगरी एक्सईभी–९ ई का तीन भेरियन्ट नेपालमा उपलब्ध हुनेछन्। यी तीन भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ हुनेछ। यद्यपि लन्चिङ समयसम्ममा यो मूल्यमा केही परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ। दुवै गाडीमा ९९ किलोवाटको मोटर छ भने एक्सईभी–९ ईको एउटा भेरियन्टमा १९९ किलोवाटको मोटर छ।
फरथीङ फ्राइडे
चिनियाँ ब्रान्ड डोङफेङको फरथीङ फ्राइडे लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ईमोबिलिटीले नेपाल ल्याइसकेको छ। कम्पनीले नेपाल ल्याएको फरथीङ फ्राइडे परीक्षण भइरहेको कम्पनीले जनाएको छ। फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक दिइएको छ।
यसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। डोङफेङमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
ब्याट्रीलाई ११ किलोवाटको एसी चार्जर र १२० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ। उक्त ब्याट्री प्याकलाई ११ किलोवाटको एसी चार्जरले ५.५ घन्टामा फुल चार्ज गर्ने कम्पनीले जनाएको छ। त्यस्तै, १२० किलोवाट आवरको डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
फरथीङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ। यसको ह्वीलबेस २७१५ एमएम छ। प्रिमियम लाग्ने एसयूभीमा १९ इन्च ठूलो ह्वील पाउन सकिन्छ।
फरथीङ फ्राइडेमा भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराएको छ। ८.८ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६ स्पिकरसहितको म्युजिक सिस्टमलगायत फिचर यसमा पाउन सकिन्छ।
एमजी वीन्डसर
एमजीले भारतमा उत्पादन गरेको एमजी वीन्डसर नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाल ल्याइसकेको छ। एमजी वीन्डसर नेपाल आइसकेकाले यो गाडी बजेटलगत्तै बिक्री सुरु हुने कम्पनीले जनाएको छ।
वीन्डर ईभी दुई भेरियन्टमा नेपाल आएको छ।
कम्पनीले भन्सार प्रयोजनको लागि वीन्डसर एक्सक्लूसिपको मूल्य ३९ लाख ४९ हजार र इसेन्स भेरियन्टको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ प्रकाशित गरिएको छ। एमजीले वीन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। यसमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसको पिकटर्क २०० एनएम छ। सिंगल चार्जमा वीन्डसरले ३३१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
यसमा वायरलेस चार्जर, अटोमेटीक एसी, इलेक्ट्रिकल्ली एडजस्ट गर्न मिल्ने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेराजस्ता फिचर छन्।
वीन्डसरमा पानारोमिक ग्लास रुफ, इन्टेरियरमा ८.८ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रिन दिइएको छ। विन्डसरमा फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस र सबै लाइट एलईडी प्रयोग भएको छ। अगाडि ठूलो एज प्रयोग गरेर अनौठो डिजाइनमा वीन्डसर इलेक्ट्रिक तयार पारिएको छ। यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ।
बजेटपछि नेपाल भित्रिने गाडी
जेक्को जे–५
नेपालको लागि जेक्को गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बजेटपछि जेक्को जे–५ ईभी नेपाल ल्याउने भएकाे छ। सांघाई अटो शोमा प्रदर्शन गरिएको जे–५ अफरोड तथा एडभेञ्चर राइडिङका लागि डिजाइन गरिएको छ। यो गाडीको एक्स्टेरियर (बाहिरी आवरण) को डिजाइन प्रकृति-प्रेरित छ।
जे–५ मा ६९.८ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ। यसमा २०८ किलोवाटको मोटर जडान गरिएको छ, जसले २८३ पीएस पावर र ३८५ एनएम टर्क दिन्छ। जे–५ एक पटकको फुल चार्जमा ५०१ किलोमिटर सम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।
जे–५ मा १३.२ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा दिइएको छ। यसमा १३२० एमएम चौडाइ भएका सिटसहित प्रशस्त स्पेस उपलब्ध छ। ४८० लिटरको स्ट्यान्डर्ड ट्रङ स्पेस रहेको गाडीको स्पेस ११८० लिटरसम्म बढाउन सकिन्छ। साथै, यसले १२५० केजीसम्मको ट्रेलर तान्न सक्ने क्षमता राख्दछ। कम्पनीले जे फाइभलाई आउटडोर अफरोड राइडरका साथै ‘पेट फ्रेन्ड्ली’ एसयूभीको रूपमा प्रस्तुत गरेको छ।
भी–२३
बजेटपछि नेपाली बजारमा आउने ईभी गाडी जेक्को भी–२३ हो। यो गाडी नेपाली बजारमा जेक्को गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बजेट पछि ल्याउने जनाएको छ। सहरी क्षेत्र र केही अफरोड बाटाहरुमा पनि सहजै चलाउन सकिने भी–२३ लाइफ स्टाइल प्रोडक्टको रुपमा बजारमा आउनेछ।
जेको भी–२३ मोडलमा ५९.९३ र ८१.७६ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिइएको छ। सानो ब्याट्री एलएफपी हो भने ठूलो ब्याट्री टर्नरी लिथियम हो। यी ब्याट्रीको रेन्ज क्रमशः ४०१ र ५०१ किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ।
दिपल एस–०५
नेपालका लागि दिपल गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले बजेट लगत्तै दिपल एस–०५ नेपाल ल्याउने जनाएको छ। दिपल एस–०५ मा ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ। यसमा १७५ किलोवाटको मोटर जडान गरिएको छ।
दिपलले एस–०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बियन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेस यसको बलियो पक्ष हो।
दिपल एस–०५ मा हाइडेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा दीपल एस–०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ। इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोलजस्ता फिचर यसमा छन्।