काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेटमा विदेशबाट आयात हुने महँगा मदिराको भन्सार शतप्रतिशत बढाएपछि व्यवसायी तनावमा छन्। लामो समयदेखि विदेशबाट महँगा मदिरा ल्याएर बिक्री गरिरहेका व्यवसायी बजेटमा शतप्रतिशत कर बढाएपछि आयात रोक्ने र बिक्री बन्द गर्ने रणनीतिमा पुगेका छन्।
बजेटमा आएको विषयलाई पुनरावलोकन गर्न भन्दै विदेशबाट मदिरा आयात गर्ने व्यवसायीहरूले बुधबार भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरेका थिए। महानिर्देशकसँगको भेटसँगै बजेटमा बढाएको शतप्रतिशत कर घटाउन सरकारलाई सहजीकरण गर्न व्यवसायीले सुझाव दिएका थिए।
व्यवसायीहरूको सुझावपछि महानिर्देशक भट्टराईले भने अहिले बढाएको भन्सार समय अनुकुल रहेको र घटाउन सक्ने स्थिति नभएको जवाफ दिएका छन्। महानिर्देशक भट्टराईले व्यवसायी आएर मदिरामा लगाएको कर घटाउन सहजीकरण गर्न अनुरोध गरेको बताए।
व्यवसायीले सरकारले मदिराको कर शतप्रतिशत बढाउँदा चोरी तस्करी भएर आउने क्रम तीव्र बढेको भन्दै रोक्न ध्यानाकर्षण गराएका थिए।
‘उहाँहरू आएर करको विषयमा कुरा राख्नु भयो, चोरी तस्करी नियन्त्रणका लागि पनि अनुरोध गर्नुभयो,’ महानिर्देशक भट्टराईले भने, ‘चोरीको प्रमाण भेटिए दिन भनेको छु, कतै उजुरी आए कारवाही गर्छु।’
महानिर्देशक र व्यवसायीबीच चर्काचर्की
व्यवसायीले सरकारले मदिराको कर शतप्रतिशत बढाउँदा चोरी तस्करी भएर आउने क्रम तीव्र बढेको भन्दै रोक्न ध्यानाकर्षण गराएका थिए। तर, महानिर्देशक भट्टराईले चोरी तस्करीको विषयमा केही जानकारी नभएको र थाहा भए प्रमाण दिन भनेका थिए।
‘हामीले चोरी तस्करी भएर धेरै मदिराहरू आउने गरेको छ, यसलाई रोक्न सरकारले चासो देखाएन भन्यौँ,’ महानिर्देशकसँगको भेटमा रहेका एक व्यवसायीले भने, ‘उल्टै हामीलाई चोरी गर्ने खोजी गर्न भन्नु भयो, हामीले यो हाम्रो काम हैन तपाईहरूको हो भनेर आयौँ।’
व्यवसायीले चोरी तस्करी रोक्ने र निगरानी गर्ने काम सरकारको रहेको बताउँदै यसमा चुकेको आरोप लगाए। ‘हामीलाई कर बढाएर आयात गर्न नदिने, यसमा सरकार निरिह भएको छ,’ भेटमा सहभागी एक व्यवसायीले भने, ‘चोरी तस्करीलाई प्रोत्साहन सरकारी स्तरबाटै भएको छ, यसबाट तपाईलाई आउने राजस्व गुमाउँदै हुनुहुन्छ।’
नेपालको तुलनामा भारतमा मदिरा र चुरोटमा कर कम रहेकाले चोरी-तस्करी भएर धेरै आउने गरेको गुनासो व्यवसायीहरूले गरिरहेका छन्।
पछिल्लो केही वर्षयता मदिरा र चुरोटमा सरकारले भन्सार शुल्क बढाउँदै आएको छ। तर, जति भन्सार शुल्क बढाएर कडाई गरिए पनि उति चोरी तस्करी फस्टाइरहेको व्यवसायीको भनाइ छ। लामो समयदेखि मदिरा उत्पादक संघले सरकारलाई भारतबाट हुने चोरी तस्करी नियन्त्रण गर्न अनुरोध गर्दै आएको छ।
नेपालको तुलनामा भारतमा मदिरा र चुरोटमा कर कम रहेकाले चोरी-तस्करी भएर धेरै आउने गरेको गुनासो व्यवसायीहरूले गरिरहेका छन्। औपचारिक च्यानलबाट ल्याउँदा भन्सार शुल्क शतप्रतिशत बढाउँदा महंगो हुने भएपछि अहिले तराई र पहाडी क्षेत्रमा चोरी तस्करी भएर आएका मदिरा र चुरोट भेटिने गरेको छ।
सिंगल मल्ट फर्काइयो, ब्लु लेबल र रोयल सेलुटको आयात रोक्दै
शतप्रतिशत कर बढाएपछि नेपाल ल्याउँदै गरेको सिंगल मल्ट व्यवसायीहरूले कोलकताबाट फर्काएका छन्। यस्तै अहिलेकै कर रहँदासम्म ब्लु लेबल र रोयल सेलुटको आयात रोक्ने तयारीमा आयातकर्ता पुगेका छन्।
यी मदिरा नेपालमा महँगा ब्राण्डको रुपमा परिचित छ। खास गरी विदेशी पर्यटकहरूलाई लक्षित गरी पाँचतारे होटलमा यो खालको मदिरा राख्ने गरेका छन्।