काठमाडौं। नेपालमा पछिल्लो समय सार्वजनिक यातायातको वैकल्पिक माध्यमको रूपमा राइड सेयरिङ सेवा लोकप्रिय बन्दै गएको छ। काठमाडौंसहित देशका प्रमुख शहरहरूमा पठाओ, इनड्राइभ, टुटल, सजिलो, यांगो राइड जस्ता सेवाहरूले यात्रुहरूलाई सुविधा दिइरहेका छन्।
नेपालमा राइड सेयरिङ एपहरूको प्रतिस्पर्धा बढ्दै जाँदा धेरै कम्पनीले नयाँ राइड सेयरिङ एप ल्याइरहेका छन्। साथै, कम्पनीहरूले विभिन्न किसिमको अफर पनि दिएका छन्। तर, धेरै यात्रुका लागि कसको सेवा भरपर्दाे छ? भन्ने प्रश्न देखिएको छ।
हाल नेपालमा उपलब्ध राइड सेयरिङ सेवा पठाओ, इनड्राइभ, टुटल, सजिलो, यांगोमा बेग्ला–बेग्लै फिचरहरू छन्। धेरै राइड सेयरिङ एपहरू भएकाले कति मानिसहरूलाई कुन सेवा भरपर्दाे छ? कुन राइड सेयरिङ एप सस्तो छ? भन्ने कुराको चासो देखिन्छ।
सजिलो यात्राको व्यवस्था मिलाउन केही नयाँ स्टार्टअपले नेपालमा पनि राइड सेयरिङ एपलाई प्रयोगमा ल्याएका छन्। पछिल्लो समय राइड सेयरिङ एपहरू बढ्दै जाँदा यसको प्रयोगकर्ता तथा राइडर पनि दिनप्रतिदिन बढ्दै गइरहेका छन्।
कम्पनीले प्रयोगकर्तालाई दिइएको अफरका कारण राइड सेयरिङ एपको लोकप्रियता बढ्दै गएको छ। हाल नेपालमा दर्जन बढी राइड सेयरिङ कम्पनीले आफ्नो सेवा संचालन गरिरहेका छन्।
नेपालमा २०७३ सालदेखि राइड सेयरिङ एपको सुरुवात भएको थियो। अहिलेसम्म नेपालमा ६० देखि ७० वटा राइड सेयरिङ एप खुलेका छन्। धेरै राइड सेयरिङ एप बन्द भइसकेका छन्।
कुन राइड सेयरिङ एपको सेवा कस्तो?
पठाओ
हाल नेपालको सबैभन्दा ठूलो राइड सेयरिङ सेवा प्रदायकको रूपमा पठाओ स्थापित भएको छ। पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो।
आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगष्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो। यसले काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, नेपालगञ्जलगायतका १८ भन्दा बढी शहरमा सेवा विस्तार गरेको छ।
पठाओले छोटो समयमा बजारमा आफ्नो उपस्थित स्थापित गराउन सफल भएको छ। नेपालमा सेवा सुरु गरेको केहि समयमै यस एपको विभिन्न छुट तथा अफरले नेपालको राइड सेयरिङ क्षेत्रमा युवायुवतीको मन जित्न सफल भएको छ।
पठाओ राइड सेयरिङ एपले पछिल्लो समय यात्रुहरूलाई मात्र सुविधा दिइरहेको छैन, लाखौं युवाहरूको जमातलाई रोजगारीको अवसर पनि प्रदान गर्दै आएको छ। पठाओले यात्रु र राइडरका लागि बिमाको व्यवस्थासमेत गरेको छ।
हाल यसले २४ घण्टा हप्ताभर सेवा दिन थालेको छ। तर, यसले राइडरसँग २० प्रतिशत कमिसन लिने भएकाले भाडामा पनि महंगो परेको यात्रुहरू बताउँदै आएका छन्।
इनड्राइभ
नेपालमा इनड्राइभले औपचारिक रुपमा राइड सेयरिङ सेवा २०८१ वैशाख २४ गतेदेखि सुरु गरेको हो। कम्पनीले करिब दुई वर्षदेखि नेपालमा सेवा दिँदै आए पनि औपचारिक रुपमा भने दर्ता गरेको थिएन्। इनड्राइभमा एउटा अरुभन्दा धेरै फरक विशेषता छ।
यसमा आफूले कति भाडामा जाने हो त्यहीअनुसार राइडरहरू छान्न सकिन्छ। यसमा न्युनतम भाडा मात्र तोकिएको हुन्छ। त्यसमा यात्रु र राइडर आफैंले आफ्नो भाडा तोक्न सक्छन्। अर्थात यसमा भाडा बार्गेनिङ गरी जान सकिन्छ। यस कारण पछिल्लो समय इनड्राइभ युवाको रोजाइमा पर्दै गएको छ।
यांगो
यांगो भर्खरै संचालनमा आएको नयाँ राइड सेयरिङ एप हो। यांगो एक विश्वव्यापी ‘टेक्नोलोजी’ कम्पनी हो। जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप र दक्षिण एसियालगायत क्षेत्रमा राइड, डेलिभरी, फुडटेक तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ। अब यही प्रविधि नेपाली प्रयोगकर्ताको हातमा आइपुगेको हो।
यांगोले टेक्नोलोजी पार्टनरसिपमार्फत स्थानीय ट्याक्सी र बाइक ड्राइभरलाई सहज रूपमा ग्राहकसँग जोड्ने काम गर्छ। यांगोले राइड हेलिङ, डेलिभरी र डिजिटल समाधानसहित विभिन्न सेवा दिँदै आएको छ।
कम्पनीले प्रविधिमा आधारित सहज सेवा, प्रतिस्पर्धी भाडा दर र प्रयोगकर्ताको अनुभवलाई प्राथमिकता दिने बताउँदै नेपाली बजारमा आफ्नो स्थान बनाउन खोजेको छ। सेवा सञ्चालनको एक वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिसन नलिने घोषणा गरेको छ।
यांगोमा ट्याक्सीको सुरुवाती मूल्य १८० रुपैयाँ छ। बाइमा यात्रा गर्ने यात्रुका लागि सुरुवाती मूल्य ४० रुपैयाँ छ। यांगो राइड सेयरिङ एप विशेष गरी विद्यार्थी र निम्न वर्गका यात्रुलाई टार्गेट गरेर ल्याएको कम्पनीले जनाएको छ। नेपालमा हाल यांगो ट्रायल फेजमा भए पनि एकदमै राम्रो प्रतिक्रिया आइरहेको कम्पनीको भनाइ छ।
टुटल
टुटल नेपालको पहिलो राइड सेयरिङ एप हो। यातायातको क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा २०७३ बाट सञ्चालन भएको हो। जसले अनेकन सुविधासहितको सेवा ल्याएको थियो। तर, पछि प्राविधिक समस्याका कारण केही समय चल्न सकेन तर अहिले यसले आफ्नो एप फिचरमा परिवर्तन गरी सञ्चालनमा ल्याएको छ।
स्थानीय लगानीमा सन् २०१७ मा सुरु भएको टुटल नेपालकै पहिलो राइड सेयरिङ प्लेटफर्म हो। प्रयोगकर्तालाई प्रतिकिलोमिटर २०–३० रुपैयाँमा यात्रा गराउने सस्तो दरले ध्यान तानेको टुटलको सेवा भने राजधानीको सीमित क्षेत्रमा मात्रै केन्द्रित छ।
यसको एप कहिलेकाहीँ क्र्यास हुने, राइडरको कमी हुँदा लामो समय कुर्नुपर्ने समस्या यात्रुहरूले बताउने गरेका छन्। यद्यपि, सेवा मूल्य सस्तो भएकाले दैनिक यात्रा गर्नेहरूका लागि लोकप्रिय विकल्प बन्ने सम्भावना अझै बाँकी छ।
सहारा
नेपाली राइड सेयरिङ उद्योगमा सहाराले सन् २०१९ देखि आफ्नो सेवा सुरु गरेको हो। सहारा पनि पठाओ जस्तै बाइक, ट्याक्सी र खाना डेलिभरी सेवाहरू प्रदान गर्ने नेपाली स्टार्टअप कम्पनी हो।
सहाराले हालै यात्रु र प्रयोगकर्ताहरू दुवैका लागि आफ्नो बिमा नीति पनि घोषणा गरेको छ। राइड सेयरिङ एप सहाराले बाइक र क्याब दुवैका लागि राइडर्सबाट शुन्य प्रतिशत कमिसनमा सेवा दिँदै आएको छ।
ट्याक्सीमाण्डू
यो एप काठमाडौंमा ट्याक्सीको यात्राका लागि सजिलो माध्यम बनेको छ। यो ट्याक्सी बुक गर्नका लागि प्रयोग हुने एक मोबाइल एप हो। स्मार्टफोन वा ट्याब्लेटबाट ट्याक्सी बुक गर्न सकिन्छ। हाल यो एपमा सयौं बढी ट्याक्सी उपलब्ध छन्। यो ट्याक्सी बुक गर्न र यात्रा गर्न धेरै सरल मानिन्छ।
सजिलो
सजिलो २०७९ देखि नेपालमा संचालनमा आएको राइड सेयरिङ एप हो। जसले छिटो, सजिलो र भरपर्दाे यातायात सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ। यसले दुई पांग्रे र चार पांग्रेका साथै, कार भाडा सेवाहरू पनि प्रदान गर्दै आएको छ।
कम्पनीले यसमा स्पट बुकिङ र अफलाइन म्यानुअल बुकिङ सेवा प्रदान गरिएको जनाएको छ। स्पट बुकिङको साथ, यात्रुहरूले सडकमा भेट्ने मानिसहरूका लागि एपमा उनीहरूको नाम, फोन नम्बर र गन्तव्य हानेर सवारी सिर्जना गर्न सक्छन्।
अफलाइन म्यानुअल बुकिङमा सजिलो राइड सेयरिङ एप प्रयोगकर्ताहरूले इन्टरनेट बिना सजिलोको टोलीलाई कल गरी उनीहरूको सवारी विवरणहरू दिइ टोलीले उनीहरूको लागि सवारी बुक गर्ने छ। दुवै सुविधाहरूले सवारी साझेदारीलाई सजिलो र सबैको लागि उपलब्ध गराउन मद्दत गर्दछ। यो राइड सेयरिङ एप काठमाडौं उपत्यकामा मात्र सिमित रहेको छ।
जुमजुम
जुम जुम नेपालमा २०२४ देखि संचालनमा आएको राइड सेयरिङ एप हो। यसले बाइक तथा ट्याक्सीको सेवाहरु प्रदान गर्दै आएको छ। जुम जुमले अन्य राइड सेयरिङ कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि एकदमै कम मूल्यमा राइड उपलब्ध गराएको कम्पनीले जनाएको छ।
हाल जुमजुमले बाइक तथा ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ। यसले राइड सेयरिङका साथै फुड तथा पार्सल सेवा पनि दिने गरेको छ। अहिलेको लागि जुमजुम काठमाडौं उपत्यकामा मात्र संचालनमा रहेको छ।