काठमाडौं। अटोमोबाइल क्षेत्रमा डिलर सञ्चालन गर्नेहरूको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ। सहरदेखि गाउँसम्म मोटरसाइकल र कार डिलरसिप सञ्जाल विस्तार भइरहेको छ।
तर, यो विस्तारसँगै यस व्यवसायमा संलग्न धेरै डिलर संकटमा फस्दै गएका छन्। व्यवसायको प्रकृति, कम्पनीसँगको सम्झौताका जटिलता र बजारको गतिशीलतालाई राम्ररी बुझ्न नसक्दा उनीहरू आफैं आर्थिक जोखिममा पर्न थालेका हुन्।
किन बढ्दैछ डिलरहरूको संकट?
सुरुआती चरणमा ठूलो उत्साहका साथ डिलरसिप सुरु गरे पनि कम्पनीको नीति, क्रेडिट अवधि, मार्जिन र पेनाल्टी सिस्टमबारे पर्याप्त अध्ययन नगर्दा डिलर व्यवसायीहरू संकटमा परेका हुन्। पछिल्लो समय अटोमोबाइल आयात र व्यापारमा तीव्र वृद्धि हुँदा अटो डिलरहरूका लागि यो सुनौलो अवसर बन्नु पर्ने हो, तर वास्तविकता भने फरक छ।
अहिले देशभरका थुप्रै अटो डिलरहरू व्यावसायिक जोखिम, अत्यन्त कम नाफा र कम्पनीहरूले लगाउने कडा पेनाल्टीका कारण संकटमा परेको बताउँदै आएका छन्। बिक्री बढ्दै जाँदा पनि नाफा बढ्न नसकेको गुनासो गर्दै उनीहरूले यस व्यवसायप्रति निराशा व्यक्त गर्न थालेका छन्।
भुक्तानीको रकम अन्यत्र लगानी: अर्को समस्याको जड
नेपालमा अटोमोबाइल व्यापार तीव्र गतिमा बढ्दो भए पनि डिलर व्यवसायीहरू विभिन्न आर्थिक दबाबमा परेका छन्। विशेष गरी आयातकर्तालाई समयमै तिर्नुपर्ने भुक्तानीको रकम अन्य क्षेत्र जस्तै जग्गा, सेयर, वा अन्य व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्नु डिलरहरूका लागि संकटको स्रोत बन्न थालेको छ।
कतिपय डिलर व्यवसायीहरूले आयातकर्तासँगको क्रेडिट समयसीमा (सामान्यतया ४५ दिन) भित्रै सामानको मूल्य भुक्तानी गर्नुपर्ने हुन्छ। यो अवधिमा डिलरले बैंक ग्यारेन्टी दिएपछि गाडी वा मोटरसाइकल पाउँछन्। तर, त्यो सवारी साधन बिक्री गरेर आएको रकम अन्य व्यापार, सेयर, घरजग्गा वा व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दा तोकिएको समयमै रकम फिर्ता गर्न नसक्ने अवस्था आइपर्छ।
त्यसको परिणामस्वरूप कम्पनीले १६ प्रतिशतसम्मको कडा पेनाल्टी लगाउने गर्छ, जसले व्यवसायमा थप घाटा पुर्याउँछ। व्यवसायको नगद प्रवाह (क्यास फ्लो) कमजोर हुँदा उनीहरूले समयमै आयातकर्तालाई भुक्तानी गर्न सक्दैनन्। जसका कारण कम्पनीले लगाउने उच्च पेनाल्टी, बैंकिङ ब्याज र प्रतिस्पर्धात्मक बजारको दबाबले गर्दा व्यवसायीको आम्दानी शून्य सरह बन्न पुगेको छ।
यामाहा मोटरसाइकलको इलाम डिलर, पाथिभरा अटो प्लसका सञ्चालक सुबास गुरुङ बताउँछन्,। हाल डिलरहरूले धेरै नै समस्या भोगिरहेका छन्। धेरै समस्यामध्ये बैंकिङ समस्या मुख्य हो। बैंकको नीति परिवर्तन आज एउटा भोली अर्को हुन्छ त्यसले पनि समस्या परिरहेको छ।
उदाहरणका लागि, यदि कुनै डिलरले १ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी देखाउँछ भने कम्पनीले त्यसको आधारमा त्यति मूल्य बराबरका सवारीसाधनहरू क्रेडिटमा उपलब्ध गराउँछ। मोटरसाइकलको खुद्रा मूल्य जति नै उच्च भए पनि डिलरहरूलाई नाफा भने न्यून मात्र प्राप्त हुन्छ। यदि डिलरले बिक्रीबाट आएको रकम समयमा कम्पनीलाई फिर्ता गर्दैन भने, कम्पनीले पेनाल्टी लगाउँछ, जसले डिलरको नाफालाई अझ घटाउँछ।
कम मार्जिन र उच्च पेनाल्टी: डिलरको मुख्य चुनौती
अटोमोबाइल डिलरहरूले सामना गरिरहेका प्रमुख समस्याहरूमध्ये कम मार्जिन र कम्पनीले लगाउने उच्च पेनाल्टी मुख्य हुन्। सुबास गुरुङ थप्छन्, ‘सुरु-सुरुमा नयाँ भएका कारण सबै कुरा बुझिँदैन। कम्पनीसँग गरिने सम्झौतामा सबै सर्तहरू पहिल्यै उल्लेखित हुन्छन्, तर सुरुमा अनुभव नहुँदा त्यसको प्रभाव बुझ्न गाह्रो हुन्छ। जब व्यवसाय अलि पुरानो हुँदै जान्छ, तब ती सर्तहरूको व्यवहारिक असर प्रस्ट रूपमा बुझिन थालिन्छ।’
गुरुङका अनुसार ग्राहकबाट आउने रकम फस्दा कम्पनीलाई समयमै भुक्तानी गर्न गाह्रो पर्छ, जसका कारण पेनाल्टी लाग्ने र थप आर्थिक समस्या उत्पन्न हुने गर्छ।
रौतहटका एक डिलरका सञ्चालक भन्छन्, कम्पनीले डिलरहरूलाई बिक्री मूल्यमा आधारित प्रतिशत नाफा नदिई एक निश्चित रकम (फिक्स अमाउन्ट) मार्जिनको रूपमा दिने गरेको छ। कम्पनीले बिलिङकै बेला डिलरको नाफा कटौती गरेर बिल बनाउने भएकाले त्यसै सीमित रकमभित्र ग्राहकलाई छुट, एससरिज वा अन्य सेवा दिने कि नदिने भन्ने निर्णय गर्नुपर्छ। उनका अनुसार कम्पनीले बाइक तथा स्कुटरको मोडलअनुसार फरक-फरक मार्जिन दिने गरेको छ।
उदाहरणका लागि:
१) चार लाख रुपैयाँको एउटा बाइक बिक्री गर्दा डिलरलाई करिब १३ हजार रुपैयाँ मार्जिन मिल्छ।
२) १ लाख ५५ हजार ९०० पर्ने एक्सल मोडलमा ६ हजार रुपैयाँ नाफा।
३) २ लाख २२ हजार ९०० पर्ने रेडियन मोडलमा केवल ९०० रुपैयाँ मात्र नाफा।
'यदि हामीले कम मार्जिनमा काम गर्न नसक्ने भन्यौं भने कम्पनीले अर्कालाई डिलर दिन्छु भन्छ, त्यसकारण हामीसँग अन्य कुनै विकल्प छैन’, ती व्यवसायीले भने। कम्पनीले अतिरिक्त इन्सेन्टिभ योजना पनि ल्याउने गर्छ, तर त्यसका लागि १०० प्रतिशत टार्गेट पूरा हुनुपर्छ। 'सधैंभरि १०० प्रतिशत टार्गेट पूरा हुन्छ भन्ने छैन। कुनै क्वार्टरमा हुन सक्छ, कुनै क्वार्टरमा नहुन सक्छ,' उनले थपे। कम नाफा र उच्च पेनाल्टीको यो दोहोरो मारले हाल डिलर व्यवसायी असहज परिस्थितिमा रहेको गुनासो गर्दै आएका छन्।
ग्राहकबाट भुक्तानीमा ढिलाइ र कम्पनीको कठोरता
हिरोका बाइक तथा स्कुटरको नारायनघाट चितवनका डिलर युरो प्लस मोटर्सका निर्देशक सन्तोष भट्टराई बताउँछन्, बजारमा ग्राहकबाट भुक्तानीमा ढिलाइ हुँदा कम्पनीलाई तोकिएको समयमा पैसा तिर्न डिलरलाई निकै गाह्रो हुने गर्छ। तर, कम्पनीले डिलरको यो बाध्यता बुझ्दैन।
यामाहा बाइक तथा स्कुटरको हेटौंडाका डिलर राज मोटर्सका सञ्चालक राजन श्रेष्ठका अनुसार हाल बजारमा बाइक तथा स्कुटरको बिक्री बढे पनि डिलरलाई मार्जिन कम दिने भएकाले समस्या देखिएको छ। ‘बाइक तथा स्कुटरको बिक्री विगतको तुलनामा बढेको छ।
तर, कम्पनीले डिलरलाई दिने मार्जिन अत्यन्त कम छ। तीन-चार लाख रुपैयाँको बाइक बेच्दा पनि पाँच हजार रुपैयाँ मात्रै बचत हुन्छ। बजारमा चर्को प्रतिस्पर्धा भएका कारण ग्राहकलाई विकल्प धेरै हुँदा समयमा नै सामान नबिक्ने समस्या डिलरको छ’, उनले भने। एक दिन मात्र पैसा दिन ढिला हुँदा कम्पनीले पेनाल्टी पनि लगाउने उनको भनाइ छ।
उनका अनुसार शोरुम सञ्चालन, स्टाफको तलब, सेवा केन्द्रको व्यवस्थापनदेखि ग्राहकलाई छुट दिनुपर्ने दबाबसमेत डिलरकै भागमा आउँछ। त्यसमाथि पनि एक दिन ढिलो पैसा बुझाउँदा कम्पनीले पेनाल्टी लगाउँछ।
श्रेष्ठका अनुसार हाल डिलरहरूले प्रतियुनिट बिक्रीमा अधिकतम पाँच हजार रुपैयाँ जतिको मार्जिन मात्रै पाउने गरेका छन्, त्यो पनि ३ देखि ४ लाख रुपैयाँ पर्ने बाइक वा स्कुटर बिक्रीमा पाँच हजार मात्र मार्जिन बच्ने भनेको अत्यन्त न्यून रहेकाे उनको भनाइ छ।