काठमाडौं। नेपालका लागि जिली ईएक्स५को आधिकारिक वितरक एलआरआर मोटर्सले डिलरसिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ। कम्पनीले आगामी एक वर्षभित्र नेपालभर १४ वटा डिलर नियुक्त गरिने जानकारी दिएको हो।
देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरसिप शोरुम स्थापना गर्ने कम्पनीको योजनाले जिली ईएक्स५ मोडलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभर सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काएको कम्पनीले बताएको छ।
देशभित्रका सबै ग्राहकलाई गाडी बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच पुर्याउने उद्देश्यले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठूलो र विश्वासिलोमध्येको अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने यात्राको थालनी पनि गराएको छ। कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलर नियुक्त भइसकेका र तिनका शोरुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ।
नयाँ सोरुमले जिलीको विश्वव्यापी मापदण्डअनुरुप ग्राहकका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ सुविधा, बिक्रीपछिको सेवा र जेन्यून स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले बताए।
नेपालमा भित्रिएको छोटो समयमै जिली ईएक्स५ले नेपाली ईभी पारखीको मन जितिसकेको र यसको अत्याधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, अतुलनीय सुरक्षा विशेषता एवं प्रभावकारी रोड पर्फर्मेन्सका कारण लोकप्रियता बढेको उनको भनाइ छ।
एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार कम्पनीले शोरुम विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रियास्वरूप तयार गरेको हो।