नेपाली युवा उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल युवा उद्यमी मञ्च गैरनाफामुखी संस्था हो। स्थापनाकालदेखि नै उद्यमीबीच सकारात्मक व्यापार सोच, शिक्षा, प्रशिक्षण, नेटवर्किङ र नीति निर्माणमा सहकार्य गर्ने प्रमुख मञ्च बन्दै आएको छ।
मञ्चमा देशभरिमा करिब १४ च्याप्टरमार्फत हजारौं सदस्य जोडिएका छन्। उद्यम र रोजगारी सवालसँग जोडिएको संस्थाको नयाँ कार्यकालको नेतृत्वमा हालै सुदीप घिमिरे राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्। संस्थाको मूल उद्देश्य, युवा उद्यमशीलता, स्थानीय एवं अन्तर्राष्ट्रिय स्तरमा उद्यमी कनेक्टिभिटी र नीतिमार्फत व्यवसायमैत्री वातावरण निर्माणमा सक्रिय हुने नवनिर्वाचित अध्यक्ष घिमिरे बताउँछन्। मञ्चमा नेतृत्व लिएपछि आगामी योजनाबारे घिमिरेसँग क्यापिटलकर्मी गणेश सुवेदीले गरेको कुराकानीको सारः
युवा उद्यमी मञ्चजस्तो बृहत् प्लेटफर्मको नेतृत्वमा पुग्नुभयो। नयाँ योजना के छन्?
पछिल्ला ५/६ वर्षयता एनवाईएफ (नेपाल युवा उद्यमी मञ्च) को संरचना बलियो बनेको छ। सदस्य संख्या र शाखाको संख्या बढेको छ। हाम्रो मुख्य योजना भनेको यी शाखालाई अझ सबल र स्वायत्त बनाउँदै तिनले स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्न सक्ने वातावरण तयार गर्नु हो।
त्यसका लागि आवश्यक सुविधा र सहजीकरणका उपाय कार्यान्वयन गर्ने लक्ष्य छ। अर्को कुरा, विदेशमा गइसकेका युवा उद्यमीलाई पनि एनवाईएफको समुदायसँग जोड्ने उद्देश्यले ‘इन्टरनेसनल सर्कल’ नामक पहल अघि बढाउँदै छौं। पूर्ण सदस्य बन्न नसक्ने तर व्यवसाय सुरु गर्ने क्रममा रहेका युवालाई लक्षित गर्दै एनवाईएफअन्तर्गत छुट्टै समूह गठन गर्ने र उनीहरूलाई सहयोग गर्ने योजना छ।

१२–१३ वर्षअघि एनवाईएफले ‘योङ अन्रप्रेनर समिट साउथ एसिया’ आयोजना गरेर दक्षिण एसियाका व्यवसायी र राजनीतिज्ञलाई एउटै मञ्चमा ल्याएको थियो। यस वर्षको अन्त्यतिर सो कार्यक्रमलाई पुनः आयोजना गर्ने प्रयास भइरहेको छ। त्यसपछि, पहिलो पुस्ताका उद्यम र स्टार्टअपको समस्याबारे केस स्टडी तयार गरी तिनको सहजताका लागि नीति सुझाव दिने काम पनि गर्ने लक्ष्य छ। यी सबै पहललाई आगामी एक वर्षको कार्यकालभित्र पाँचदेखि सात वटा प्रमुख क्षेत्रका रूपमा अघि बढाउने योजना छ।
अध्यक्षले एक वर्षको कार्यकालमा उद्यमीका समस्यालाई नीतिगत तवरबाट सल्ट्याउन कुनै पहल गरेको देखिँदैन। यसले व्यवसाय गर्नेहरु संस्थामा जोडिन चाहन्नन् भनिन्छ। उनीहरुलाई पनि अपनत्व हुने गरी कसरी काम गर्नुहुन्छ?
वास्तवमा अध्यक्षको कार्यकाल एक वर्षको हुन्छ। तर हामी नेतृत्वलाई चार वर्षको अवधिमा निरन्तरता दिने हिसाबले योजना बनाउँछौं। सेकेन्ड भाइस प्रेसिडेन्ट, फस्र्ट प्रेसिडेन्ट र इमिडियट पास्ट प्रेसिडेन्ट गरी यो चार वर्षमा व्यक्ति नेतृत्व संरचनामा रहिरहन्छ। त्यसैले, सेकेन्ड भीपी हुँदा ल्याइएका योजना र विचार आईभीपीसम्म पुग्दा निरन्तरता पाइरहेका हुन्छन्। यस अर्थमा नेतृत्वको प्रभावकारी अवधि चार वर्षकै हुन्छ। सेकेन्ड भीपी बन्न कम्तीमा दुई वर्ष केन्द्रीय बोर्डमा काम गरेको अनुभव हुनुपर्छ।
अध्यक्ष एक वर्षको भए पनि नेतृत्व निरन्तर चार वर्षसम्म रहने व्यवस्था छ। त्यसमा हामी युवा उद्यमी भएकाले पूर्ण समय संघ–संस्थालाई दिने अवस्था हुँदैन। आफ्नै व्यवसाय पनि हेर्नुपर्ने हुन्छ। यही कारणले पनि धेरैको सुझावअनुसार अध्यक्षको कार्यकाल एक वर्षको राखिएको हो।
अर्को कुरा, हाम्रो संगठनमा उमेर सीमा पनि छ। ४० वर्षपछि एनवाईएफबाट रिटायर्ड हुनैपर्छ। ४० वर्षभन्दा माथि पुगिसकेपछि तपाईं एनवाईएफको पूर्ण सदस्य रहन सक्नुहुन्न। तर, त्यसपछि सल्लाहकार भूमिका वा ‘प्रो–कनेक्ट’ जस्ता क्लबमार्फत संरक्षक र मार्गदर्शकको रूपमा सहभागी हुन सकिन्छ। तर, ती भूमिका प्रत्यक्ष नेतृत्व वा सक्रिय कार्यान्वयनमा हुने होइनन्।
अहिले नेपालमा उद्यम सुरु गर्न चाहने नयाँ पुस्ताका उद्यमीको मुख्य समस्या के देख्नुभयो? युद्धपछिको कठिनाइबारे त पहिले धेरै भनिन्थ्यो, तर अहिलेको अवस्था के हो?
उद्यम गर्न गाह्रो हो कि होइन भन्ने कुरा सोच र दृष्टिकोणमा भर पर्छ। जसले उद्यम गर्ने स्पष्ट सोच बनाएको छ, उसलाई समस्या भएन। तर, उद्यम सुरु गर्ने निर्णय गरेर त्यसतर्फ लागेपछि वास्तविक चुनौती देखिन थाल्छन्। मुख्य समस्या भनेको उद्यम सुरु गर्ने प्रारम्भिक चरणमै हो किनकि उद्यम सुरु गर्नासाथ सफलता पाउने ग्यारेन्टी हुँदैन।
विशेषगरी म यो कुरा युवा र पहिलो पुस्ताका उद्यमीको सन्दर्भमा भन्दै छु। नेपालमा व्यवसाय सुरु गर्न सजिलो छ तर बन्द गर्न निकै गाह्रो। उद्यम सफल भएन भने त्यसलाई बन्द गरेर बाहिरिनु ठूलो चुनौती हो। व्यवसाय बन्द गर्दा थुप्रै कानुनी र आर्थिक दायित्व आउँछन्, जसलाई व्यवस्थापन गर्न निकै झन्झट हुन्छ। कम्पनी लिक्विडेसन प्रक्रिया पनि निकै जटिल छ।
मैले पहिले पनि अर्थ मन्त्रालयको एक कार्यक्रममा यो कुरा उठाएको थिएँ। नेपालमा व्यवसायमा छिर्न सजिलो छ तर सफल हुने ग्यारेन्टी छैन। यदि व्यवसाय घाटामा गयो भने त्यसलाई बन्द गर्न झन् गाह्रो हुन्छ। यही नै मैले उद्यमशीलताको सबैभन्दा ठूलो समस्या देखेको छु।
विदेशमा गइसकेका युवा उद्यमीलाई पनि एनवाईएफको समुदायसँग जोड्ने उद्देश्यले ‘इन्टरनेसनल सर्कल’ नामक पहल अघि बढाउँदै छौं।
सामान्य रूपमा हेर्दा नेपालमा व्यवसाय सुरु गर्न प्रवेश अवरोध खासै छैन। जसले पनि सहजै छिर्न सक्छ। तर समस्या के भने एउटै क्षेत्रमा अत्यधिक प्रतिस्पर्धा हुन्छ। उदाहरणका लागि, कसैले पान पसल सुरु गर्यो भने थुप्रैले त्यसै ठाउँमा पान पसल खोल्छन्। यसले पहिलेबाट राम्रो गरिरहेको व्यवसाय पनि कमजोर बनाउँछ र नयाँ सुरु गर्नेहरू पनि टिक्न सक्दैनन्। प्रतिस्पर्धा नै नहोस् भन्ने होइन, तर केही न्यूनतम मापदण्ड वा योग्यताका आधारमा व्यवसायमा प्रवेश दिलाउनुपर्छ। यसले व्यवसायलाई दीर्घकालीन र व्यवस्थित बनाउन सहयोग पुर्याउँछ। अहिले बजारमा यसरी अनियन्त्रित प्रवेश हुँदा धेरै व्यवसाय डुब्ने स्थिति आएको छ।

विशेषगरी पहिलो पुस्ताका उद्यमी वा पहुँच नभएका युवाका लागि अर्को ठूलो समस्या वित्तीय पहुँचको हो। स्टार्टअप लोनजस्ता योजना र युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने भनेर ल्याइएका विभिन्न सुविधा प्रायः पहुँच भएका व्यक्तिमाझ मात्र सीमित हुने गरेको देखिन्छ। जसलाई वास्तविक रूपमा सहयोग आवश्यक छ, ती युवा वा महिला उद्यमीरूसम्म यो सुविधा पुग्दैन भन्ने समस्या छ। उदाहरणका लागि, महिला उद्यमीका निम्ति ल्याइएका ऋण योजना वा स्टार्टअप लोन प्रायः सही व्यक्तिसम्म पुग्दैनन् भन्ने गुनासा छन्। यो समस्याले नयाँ उद्यमीलाई आवश्यक सहयोग पाउन अझै कठिन बनाइरहेको छ।
नेपालमा उद्यमी बन्न रोक्ने पहिलो समस्या कुनलाई मान्नुहुन्छ? सोच वा पुँजीले मात्रै समस्या सिर्जना गर्छन्?
समस्या दुवै हुन्। तर, आजभोलि सोचको समस्या देख्न थालेको छु, मैले। युवा पुस्ताको सोच अहिले १२ सम्मको अध्ययन सकेपछि कुन देश जाने भन्नेतर्फ डाभर्ट भएको छ।
आजका दिनमा आइडिया र मिहिनेत छ भने बैंकिङ मात्रै नभएर धेरै औजार जन्मिसकेका छन्। तर, अर्को भुल्न नहुने कुरा भनेको पहुँच जति काठमाडौंमै केन्द्रित छ। बाहिरी क्षेत्रका लागि पुँजी पनि समस्या बनेको छ। डाइभर्ट भइरहेको सोचलाई रोक्न देशको अर्थतन्त्रकै पूरै बनावट बदलिनुपर्छ।
सय युवा छन् र एकैपटक बिजनेस सुरु गर्दा सबै सफल हुन सक्ने अवस्था नेपालमा छैन। यद्यपि, विदेश गएर राम्रा काम गरेका साथीहरू पनि छन्।
युवा उद्यमी मञ्च ‘धनी बाउहरु’ले खोलेको क्लब हो र यसले साना उद्यमीको समस्या बुझ्दैन भन्ने आरोप लाग्छ। त्यसलाई चिर्न के–कस्ता काम गर्नुहुन्छ?
हाम्रो पहिलो काम भनेकै स्थानीय च्याप्टरमार्फत उद्यम सुरु गर्न खोजिरहेका वा भर्खरै सुरु गरेका युवालाई पहिचान गर्नु हो। एनवाईएफको सदस्य बन्ने अवस्था नभएका वा विभिन्न कारणले सदस्य बन्न नसकेका युवासम्म पुगेर तिनलाई अगाडि ल्याउनुपर्छ।
स्टार्टअप केवल टेक्नोलोजीलाई मात्रै भनेको होइन–कृषि वा अन्य कुनै पनि क्षेत्रका नयाँ उद्यम यसमा पर्छन्। उदाहरणका लागि, म केही समयअघि सुर्खेत गएको थिएँ। त्यहाँ ५/६ जना उत्कृष्ट काम गरिरहेका युवालाई स्थानीय च्याप्टरले पहिचान गरेको रहेछ। उनीहरूलाई सम्मान गरिएको र तिनका समस्या सुनेर समाधानका लागि पहल गरिएको थियो, जुन निकै सकारात्मक कुरा हो।
हामी युवा उद्यमी भएकाले पूर्ण समय संघ–संस्थालाई दिने अवस्था हुँदैन। आफ्नै व्यवसाय पनि हेर्नुपर्ने हुन्छ। यही कारणले पनि धेरैको सुझावअनुसार अध्यक्षको कार्यकाल एक वर्षको राखिएको हो।
हाम्रो भूमिकाको मुख्य उद्देश्य भनेको यी युवाहरूलाई पहिचान गरेर उनीहरूको समस्या र आवश्यकतालाई सम्बोधन गर्ने पुलको काम गर्नु हो। केवल ‘रिच किड्स क्लब’ भन्नेजस्तो सीमित वर्गमा मात्र केन्द्रित हुने होइन। सबै स्तरका उद्यमशील युवासम्म पुग्ने प्रयास नै हाम्रो प्राथमिकता हो।
हाम्रो सदस्यता डेटाबेस हेर्दा पनि कम्तीमा ७५–८० प्रतिशत सदस्य दोस्रो, तेस्रो वा चौथो पुस्ताका उद्यमी हुन्। पहिलो पुस्ताका उद्यमी मात्र करिब २०–२५ प्रतिशत छन्। हामीले सीधै एनवाईएफमार्फत जोड्न नसके पनि विभिन्न च्याप्टरबाट भर्खरै उद्यम सुरु गरेका युवासम्म पुग्ने र तिनको समस्या बुझ्ने प्रयास भइरहेको छ। उनीहरूका समस्या सम्बन्धित निकायसम्म पुर्याउने वा मिडियामार्फत ‘एक्सपोज’ गराइदिने पहल गरिरहेका छौं। यो प्रक्रिया एकै रातमा हुने होइन।
अब पहिलो पुस्ताका उद्यमीलाई जोड्न अझै दुई–चार वर्षको रोडम्याप चाहिन्छ। यो मेरो मात्र होइन, मेरो पछि आउने नेतृत्वको पनि साझा धारणा हो। अहिले हामी नीतिगत तहमा प्रभावकारी परिणाम ल्याउने दिशामा केन्द्रित छौं। त्यसैले संस्थाको हालको लक्ष्य भनेकै पहिलो पुस्ताका उद्यमीलाई जोड्ने र उनीहरूका समस्या समाधान गर्नतर्फ मोडिएको छ।
सहरी क्षेत्रमा विशेषगरी काठमाडौंका युवा उद्यमीलाई धितो भएपछि बैंकसँग सहजीकरण गरेर ऋण लिन सजिलो छ। तर, ग्रामीण क्षेत्रमा नयाँ सोच बोकेका युवाले स्टार्टअप वा बैंकिङ क्षेत्रबाट ऋण लिन समस्या भोग्नुपरेको देखिन्छ। यसमा संस्थागत रूपमा तपाईंहरूको पहल कसरी हुन्छ? कसरी समन्वय गर्न सक्नुहुन्छ?
सबैभन्दा पहिले उद्यमीको वास्तविक समस्या पहिचान गर्नुपर्छ। समस्या केवल ऋण मात्र हुनैपर्छ भन्ने छैन। तपाईंले भन्नुभएको कुरा एकदम सही हो। पहिला समस्या बुझिसकेपछि मात्र हामी प्रभावकारी रूपमा लबिइङ र पहल गर्न सक्छौं। उदाहरणका लागि, मसँग एउटा केस आयो– एक जना उद्यमी स्ट्रबेरी खेती गर्दै हुनुहुन्थ्यो र उहाँलाई लजिस्टिक्सको समस्या थियो। यो समस्या समाधानका लागि सरकार वा बैंक पुग्नुपर्ने खालको थिएन।

हामीले उहाँको कुरा सुनेर दुई–चार जना साथी जोडाइदियौं र समस्या तत्काल समाधान भयो। त्यसैले समस्या सानो वा ठूलो जे भए पनि पहिले त्यसलाई पहिचान गरेर उपयुक्त समाधान खोज्नुपर्छ। समस्या मात्र बोकेर हिँड्दा हुँदैन, त्यसको व्यावहारिक समाधान पनि साथमा हुनुपर्छ। हाम्रो भूमिकाअन्तर्गत जहाँ सम्भव छ, तत्काल समन्वय, सहजीकरण गरेर वा सम्बन्धित व्यक्ति वा निकायसँग जोडेर समाधान निकाल्ने सोच छ। यही प्रक्रियाले उद्यमीलाई प्रत्यक्ष रूपमा राहत दिन सक्छ।
कोभिड समयदेखि वित्तीय समस्या पनि ठूलो भयो। जसको स्टार्टअप राम्ररी चलिरहेको थियो, संकट आयो र फेरि पिकअप लिन थप ऋण खोज्नुपर्ने वा नयाँ लगानी आवश्यक भयो। तर, बैंकहरूले त्यसबेला ऋण रोकेर धेरै उद्यमीलाई दुःख दिए। यस्तो अवस्था फेरि नदोहोरियोस् भन्ने हो।
जब राष्ट्र बैंकको मौद्रिक नीति आउँछ, त्यतिबेला हामीले उद्यमीको समस्या संकलन गरेर औपचारिक सुझाव दिने गर्छौं। यस्ता सुझावले नीति निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना हुन्छ।
कतिपय उद्यमीमा क्षमता देखिन्छ तर पहिलेको ऋणका कारण समस्या छ। यो समस्या ठूलो स्तरको हो। यसलाई समाधान गर्न व्यक्तिगत वा संस्थागत सानो पहल मात्रले पुग्दैन। यसका लागि नीति–निर्माण तहमा पुगेर प्रभाव पार्नु जरुरी हुन्छ।
जब राष्ट्र बैंकको मौद्रिक नीति आउँछ, त्यतिबेला हामीले उद्यमीको समस्या संकलन गरेर औपचारिक सुझाव दिने गर्छौं। यस्ता सुझावले नीति निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना हुन्छ। यद्यपि केही बैंकले पनि उद्यमीलाई सहज ऋण प्रवाह गर्न सहजीकरण गरेका उदाहरण छन्। यस्ता सकारात्मक अभ्यासलाई विस्तार गर्न र नीति तहमै प्रभाव पार्न हामीले निरन्तर प्रयास गरिरहेका छौं।
कतिपय बैंकले सहज रूपमा हेरिदिएका पनि छन्। तर, नेपालमा परम्परागत रूपमै धितोबिना ऋण दिन नसक्ने वा प्रजेक्टबेसमा नदिने छ। यो समस्यमा युवा उद्यमीमा मात्रै नभएर सबै उद्यम र उद्यमीमा छ। प्रोजेक्टबेस लोनमा केही मान्छे र प्रोजेक्टबाहेक अन्यको पहुँच छैन भन्दा पनि हुन्छ। स्थिर भइसकेका व्यवसायीलाई त धितो नभए ऋण पाउन गाह्रो छ। नयाँलाई अझै गाह्रो छ। नयाँ मौद्रिक नीतिले केही राहत दिएको छ। तर, नेपालको आर्थिक अवस्था हेरिँदा ऋणको हालत पनि उस्तै छ।
कुनै वर्ष फालाफाल पैसा हुन्छ, कुनै वर्ष हुँदैन। कहिले ६ प्रतिशतमा पाएको ऋण १६ प्रतिशत पुग्छ। यति धेरै अस्थिर हुनु भनेको खतरा हो। बैंकसँग पैसा छ भने अध्ययनबिनै नगरी दिइने छैन भने जति राम्रो प्रोजेक्ट भए पनि नपाउने अवस्था थियो। अहिले केही परिवर्तन भएको छ।
तपाईंले देशभित्र देख्नुभएको नवप्रवर्तन र उद्यम सम्भावनाका क्षेत्र कुन–कुन हुन् ?
नेपालमा सम्भावनायुक्त केही प्रमुख क्षेत्र देखिन्छन्। सबैभन्दा पहिलो कृषि हो। कृषिमा व्यावसायिक खेती र नयाँ प्रविधि ल्याएर काम गर्न सकिन्छ। तर, यसका आफ्नै चुनौती पनि छन्। जस्तै, जमिनको समस्या, पूर्वाधार र आवश्यक स्रोत अभाव। अर्को क्षेत्र भनेको सूचना प्रविधि हो। नेपालमा अहिले उत्कृष्ट कम्पनी छन्, धेरैले बाहिर थाहा नपाउने खाले। म्यानपावर लागत सस्तो हुने भएकाले यो क्षेत्रमा ठूलो सम्भावना छ।
त्यसपछि पर्यटन हो। नेपालमा पर्यटनको अपार सम्भावना छ तर, यसका लागि इकोसिस्टम तयार हुनुपर्छ। पाँचतारे होटल मात्र बनाएर पुग्दैन। अन्तर्राष्ट्रिय स्तरको विमानस्थल, गुणस्तरीय सडक र अन्य पूर्वाधार पनि त्यही स्तरका हुनुपर्छ।

त्यसपछि हाइड्रोपावर पनि सम्भावनायुक्त क्षेत्रमा पर्छ। यी सबै क्षेत्रसँगै कपडा, जुत्ताजस्ता उद्योग पनि क्रमशः विस्तार हुनेछन्। मेरो व्यक्तिगत बुझाइमा युवाका लागि अहिले सबैभन्दा आकर्षक र सम्भावनायुक्त क्षेत्र भनेको कृषि र आईटी हो। यी दुई क्षेत्रमा ध्यान केन्द्रित गर्न सके युवाहरूले ठूलो अवसर पाउनेछन्। पर्यटन र हाइड्रोलगायत नेपालको सम्भावनाका क्षेत्र हुन्। यद्यपि तिनलाई सफल बनाउन पूरै इकोसिस्टमले सहयोग गर्नुपर्ने हुन्छ। एउटै क्षेत्रमा मात्र केन्द्रित भएर काम गर्दा पर्याप्त हुँदैन जस्तो लाग्छ।
होटल मात्रै बनाएर वा क्याफे मात्रै खोलेर पर्यटन क्षेत्र बुम हुँदैन। केवल निजी क्षेत्रको प्रयास मात्र पर्याप्त हुँदैन, राज्यको पूर्वाधार र नीतिगत सहयोग पनि आवश्यक हुन्छ। आईटीसम्बन्धी व्यवसाय सुरु गर्न ठूलो लगानी चाहिँदैन तर यसले निरन्तर पुँजीको माग गर्छ। त्यस्तै, शिक्षा क्षेत्रमा पनि कतिपय ठाउँमा स्किल–बेस्ड शिक्षाको माग बढ्दै गएको छ।
हामी एप्पलका फोन वा मोटरसाइकलजस्ता ठूला वस्तु नेपालमा सजिलै उत्पादन गर्न सक्दैनौं, तर स–सानो फर्निचर वा अन्य साना वस्तु सजिलै उत्पादन गर्न सकिन्छ। यसले मूल्य थप्न सक्छ र स्रोत उपयोग गर्न सहयोग पुर्याउँछ। त्यस्तै, फार्मिङअन्तर्गत जडीबुटी उत्पादनले पनि राम्रो सम्भावना राख्छन्। यस्ता क्षेत्रमा थोरै गहिरो अनुसन्धान र ज्ञान आवश्यक पर्छ। नजानेर काम गर्नु सम्भव छैन।
यसकारण युवाले सानो पुँजीमा सुरु गर्न मिल्ने तर ज्ञान र अनुसन्धानमा आधारित क्षेत्र हेर्न सक्छन्। कसैले के गर्यो, कसैले कहाँबाट तेल निकालेर पैसा कमायो भनेर मैले त्यही गर्न सक्दिनँ। त्यसैले दुई कुरा चाहिन्छ– पहिलो ज्ञान र दोस्रो धैर्य। व्यवसाय तुरुन्त सफल हुँदैन। समय लाग्छ।
मञ्चले एफएनसीसीआईसँग पदेन सदस्यता लिएको छ। त्यहाँबाट पनि समन्वय गरेर संस्थामा जोडिएका मानिसलाई सँगै ल्याउन सकिन्छ नि?
हो। बजारमा हेर्दा पनि मञ्च बुबा क्लब र छोरा क्लबजस्तो देखिन्छ। जहाँ नेतृत्व छ, त्यहाँ अधिकांश दोस्रो, तेस्रो पुस्ताका उद्यमी छन्। एनवाईएफ बन्द कम्युनिटी हो तर, एफएनसीसीआई निकै ठूलो संस्था हो, जसमा क्षेत्रगत, भौगोलिक र व्यावसायिक रूपमा धेरै किसिमका संघ–संस्था छन्। त्यहाँ पदेन सदस्यता दिने प्रावधान पहिलेबाट छ र हामी अहिले त्यस प्रक्रियालाई अगाडि बढाइरहेका छौं।
अझै पूर्ण रूपमा कार्यान्वयन भएको छैन। हामीले पनि अञ्चलअनुसार नभएर आर्थिक केन्द्रलाई लक्षित गरेर काम गरिरहेका छौं किनभने उद्यमी हुन आवश्यक योग्यता र मापदण्ड छन्। त्यसैले मुख्य आर्थिक केन्द्रलाई प्राथमिकता दिइएको हो। संस्था अझ बलियो, विविध र प्रभावकारी बनाउन आवश्यक भएअनुसार नयाँ स्थानमा विस्तार गर्न तयार छौं।
कोही सम्पर्कमा आएर विस्तार गर्न चाहन्छ भने हामी त्यसलाई नकार्दैनौं। हामी धेरै आक्रामक रूपमा विस्तार गर्न खोज्दैनौं। धेरै ठाउँमा एकैपटक विस्तार गर्न खोज्दा व्यवस्थापनमा समस्या आउन सक्छ। त्यसैले हामी स्वाभाविक वृद्धिमा विश्वास गर्छौं। पछिल्लो ५/६ वर्षमा हाम्रो संस्थाले यसैअनुरुप ग्रोथ भएको छ।
तपाईंहरूमाथि धनी बाबुका छोराले ‘तलका मानिस’लाई बुझ्दैनन् भन्ने आरोप छ। गण्डकीमा एउटा च्याप्टर छ तर, मुस्ताङ, मनाङजस्ता ठाउँ, जो पस्मिना प्रशोधन गर्छन्, भेडा र च्यांग्र्रा पाल्ने स्टार्टअप छन्। तर, त्यसलाई किन जोड्नुहुन्न?
एकाध मान्छेले मात्रै संस्था चलाउन सक्दैनन्। संस्था बनाउन एउटा निश्चित आकार र सक्रिय सदस्यता चाहिन्छ। सपोर्ट चाहिन्छ। त्यसैले हामी संस्थाबाट मात्र होइन, विभिन्न माध्यमबाट पनि उनीहरूलाई कनेक्ट गराउने प्रयास गर्छौं। उदाहरणका लागि, कहिलेकाहीँ मोटर र्याली आयोजना गर्छौं, गाडी लिएर विभिन्न स्थानमा पुग्छौं। यसको उद्देश्य नै त्यहाँ गएर स्थानीय समुदायसँग जोडिनु हो।

त्यसैगरी हामी स्थानीय निकाय र समुदायसँग सम्पर्कमा रहन्छौं र उनीहरूले पनि त्यहाँका स्टार्टअपको कुरा बाहिर ल्याउने काम गर्छन्। अहिले स्टार्टअप अवार्ड पनि गर्दै छौं, जसमा देशैभरिबाट आवेदन आउँछन्। यो कार्यक्रमले स्टार्टअपलाई प्रोत्साहन र प्लेटफर्म उपलब्ध गराउँछ। साना ठाउँमा रहेकाहरूलाई पनि हामी यस्तै माध्यमबाट कनेक्ट गराउन सक्ने र सहयोग गर्ने प्रयास गरिरहेका छौं।
उद्यमीका लागि लगानीमा सहजीकरण हुनु आवश्यक छ। कानुनी विषयबारे यताउता कुरा धेरै भएको छ। कर नीति पनि छन्। हामी नयाँ उद्यमीका लागि समयावधि हुनैपर्छ नि। जस्तै, मैले नयाँ अवधारणासहित स्टार्टअप सुरु गरें भने त्यसका लागि केही वर्षसम्म राज्यले सहजीकरण गर्न सक्नुपर्छ।
उद्यमीका लागि लगानीमा सहजीकरण हुनु आवश्यक छ। कानुनी विषयबारे यताउता कुरा धेरै भएको छ।
तर, यहाँ एउटा प्रश्न छ, स्टार्टअप भनेको के? के यो केवल प्रविधिमा आधारित व्यवसायलाई मात्र भन्ने कि कसैले च्याउ खेती गरे त्यसलाई पनि स्टार्टअप मान्ने कि नमान्ने? आखिर हरेक व्यवसाय सुरुमा स्टार्टअप नै हुन्छन्। त्यहीँ भन्न खोजेको। हेर्नुस्, यो त धेरै क्षेत्र र भेगका छन्।
मुख्य कुरा भनेको कर नीति हो। व्यवसायमा प्रवेश गर्न सजिलो हुनुपर्छ, निस्किन पनि त्यति नै सजिलो हुनुपर्छ। सबै प्रक्रिया स्वचालित हुनु आवश्यक छ। यदि घाटा भयो भने समस्या कहाँ छ, हेर्न जरुरी छ। दुई वर्ष लगातार घाटा भयो भने बैंकले ऋण दिन सक्दैन। व्यवसाय गर्नेले नाफा हुने ग्यारेन्टी पाउँदैनन्।
व्यवसाय भनेको आधा–आधाको अवस्था हो। कहिले नाफा हुन्छ, कहिले डुब्छ। व्यवसाय बन्द गर्दा कसैले बदमासी त गरेन भनेर हेर्नुपर्छ। खोल्न र बन्द गर्न सजिलो हुनु जरुरी छ। स्टार्टअपको पुँजी र वस्तु सही तरिकाले ब्रान्डिङ गर्नुपर्छ। आज पनि निर्यात आधारित उद्योगलाई करमा छुट दिने व्यवस्था छ। कमाउन थालिसकेपछि कर तिर्नुपर्छ। कुनै विशेष क्षेत्र वा उद्योगमा सुधारको आवश्यकता छ।
समग्रमा व्यवसाय सुरु गर्न जति सजिलो छ त्यति नै सजिलो गरी व्यवसाय बन्द गर्न पनि हुनुपर्छ। केस टु केस हेरेर अनावश्यक रूपमा गाह्रो बनाउनुहुँदैन। सबै ठाउँबाट घाटा भयो भनेर बदमासी भयो भन्ने सोच राख्नु ठीक होइन। व्यवसायमा घाटा लाग्न सक्छ। व्यवसायमा सधैं नाफा हुने कुरा हुँदैन। त्यसरी हेर्नुहुँदैन। व्यवसाय भनेको रिस्क हो। दुई वर्ष घाटा भयो भने तीन वर्षसम्म घर छोड्नुपर्ने स्थिति आउँछ। घाटा भयो भने त्यसलाई लखेटेर सबै ठाउँबाट आक्रमण मात्र गरिन्छ। त्यो तहको काम नहुनुपर्ने हो।
तपाईंको नजरमा युवा उद्यमीका वास्तविक समस्या के हुन्? मञ्चबाट के सहयोगको अपेक्षा गर्ने?
क्षेत्रगत समस्या आ–आफ्ना छन्। दूध डेरीका, रिटेलका, आयात–निर्यात सबैका समस्या छन्। त्यसैले यी मात्रै समस्या छन् भन्ने अवस्था छैन। सबै खाले व्यवसायलाई सबैले हेर्ने नजर एउटै भइदिनुपर्छ भन्ने हो।

सबैले केही कमाउँछु, केही राज्यलाई पनि तिर्छु भनेरै राज्यबाट अनुमति लिएका हुन्। राज्यले पनि त्यही आधारमा दिएको हो। तर, यसले धेरै पैसा कमायो, यो डाँका/हो फटाहा हो भन्ने जुन ‘माइन्डसेट छ, त्यो खतरा छ। उद्यमी हो। राज्यलाई कर तिरेर स्वरोजगार बनेको छ वा रोजगारी पनि दिएको छ भन्ने नजरमा हेरिदिनुपर्छ। राज्यले करका दायरा बढाउने, धेरैलाई जोड्ने र कर तिर्नेलाई सम्मान र सुविधा बढाउनेति सोचौं।
विदेशमा भएका नेपाली डायस्पोरालाई नेपाल र नेपाली उत्पादनलाई त्यहाँसम्म जोड्ने भन्नुभएको छ। कसरी जोड्ने हो?
विदेशमा रहेका नेपाली डायस्पोरा मात्रै होइन। त्यहाँ व्यवसाय, व्यापार गर्ने समुदाय नै ठूलो भइसकेको छ। यसमा हामीले ‘टार्गेट’ गरेको युवालाई हो। हामीले यसमा बिजनेस टू बिसजेन कनेक्टीभिटी गराउने हो।
उहाँहरू पनि नेपालमा पनि केही लगानी गरौं भन्दा देशमा रहेका मञ्चजस्ता संस्थासँग सीधै जोडिन सक्ने हो। नुन, सुन, चुन जुनसुकै क्षेत्रका मान्छे हुनुहुन्छ, उहाँहरूलाई जोड्न सकियोस भन्ने सोच हो। एनवाईएफभित्रै पनि अथाह बिजनेस बनेको छ भने उहाँहरूलाई पनि यसमा ल्याएर जोड्न सकिन्छ भन्ने सोच हो। यसले नेपालको उत्पादन सेवा बाहिर जान पनि पहुँच पुग्ने भयो।
भारत, श्रीलंका, बंगलादेशमा पनि हाम्राजस्ता संस्था छन्। यसमा पनि भारतको एकदमै ठूलो र शक्तिशाली छ। हाम्रो यति धेरै व्यापार भारत र चीनसँग हुन्छ। गत वर्षदेखि योङ इन्डिया सिलगुडी, सिक्किमसँग च्याप्टर स्तरमा कार्यक्रम गरिरहेका छौैं। अहिले यसलाई राष्ट्रिय स्तरमै लगौं र अन्य मुलुकमा पनि विस्तार गरौं भन्ने हो।