काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजना गरिने यस पटकको नाडा अटो शो प्रविधिको नयाँ युगमा पाइला टेक्दै फ्लाइङ कार, रोबोटको प्रदर्शनी गर्ने घोषणा नाडाले गरेको छ।
फ्लाइङ ट्याक्सीदेखि रोबोटसम्मका नविनतम आविष्कार प्रदर्शनी हुँदा यो शो अहिलेसम्मकै सबैभन्दा प्रभावशाली र आकर्षक अटो बन्ने घोषणा नाडाले गरेको हो।
यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा नेपालमा पहिलो पटक ‘फ्लाइङ कार’ (ईभीटीओएल) र अत्याधुनिक रोबोटहरू प्रदर्शन गरिने नाडाले जनाएको छ।
शोको मुख्य आकर्षणको रूपमा मुख्य प्रायोजक एमएडब्ल्यु वृद्धिले ‘फ्लाइङ कार’ र युनिट्रीका अत्याधुनिक रोबोटहरू प्रदर्शन गर्ने भएको छ। यस वर्षको नाडा अटो शो प्रदर्शनी नभएर भविष्यको अटोमोबाइल क्षेत्रको झलक दिने महोत्सव हुने नाडाका अध्यक्ष करण चौधरीले बताए।
‘नेपालले मोबिलिटीमा यति छिटो परिवर्तन गर्छ भन्ने सोचेको कसैले पनि थिएन। तर, हामीले यसमा ठूलो फड्को मारेका छौँ,’ अध्यक्ष चौधरीले भने, ‘यहीँ कुरालाई मध्यनजर गर्दै यस वर्षको नाडा अटो शोमा प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन ढंगमा प्रदर्शन हुनेछ।’
उनले नाडाबाट आफूले अटो क्षेत्रको वास्तविक ओझन देखाउन चाहेको बताए। यस वर्ष मोबिलिटी, अटो के हो? र आगामी भविष्य कस्तो बनाउने? भन्ने विषयलाई देख्न पाइने उनले बताए। विगतका तुलनामा यस वर्षको नाडा अटो शोमा आमुल परिवर्तन र प्रविधिकको प्रयोग देख्न पाइने उनको भनाइ छ।
एमएडब्लुका प्रबन्ध निर्देशक विवेक सिकारियाले नाडा अटो शोको मुख्य प्रायोजक हुन पाउँदा उत्साहित भएका बताए। ‘यस शोमा ५० भन्दा बढी नयाँ सवारी साधन सार्वजनिक हुँदै छन्। जसमा एमएडब्ल्युले मात्र ७ वटा नयाँ उत्पादन लन्च गर्ने छ,’ उनले भने।
यस वर्षको नाडा अटो शोमा १५ देखि २० वटा नयाँ सवारी साधान सार्वजनिक हुने नाडाले जनाएको छ। यस वर्षको नाडा अटो शो २०२५ मा एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा नाडाको छ। नाडा अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुई पांग्रे सवारी ब्रान्ड, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था) रहने छ।
नाडामा प्रदर्शनी गर्ने ब्रान्डहरु
नाडा अटो शो २०२५ मा चार पांग्रेतर्फ डिपल, अवतार, डोङफेङ नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, आइएडब्लू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेङ गरी १८ वटा ब्रान्डले स्टल राख्ने छ।
दुई पांग्रेतर्फ हिरो, रोयल इन्फिल्ड, जोनसन र यामाहाले स्टल राख्ने छन्। लाइट कमर्सियल भेहिकलमा न्यु जोनाउ, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी/किङलङ, मोन्ट्रा, स्काईवर्थ, काइन्यु, केवाइ/नाभीको र सुनलङ ब्रान्डका १३ वटा स्टल रहने छन्।
अटो कम्पोनेन्टमा एसियन, गल्फ, डकह्याम्स, एटीएस एल्गी, माफ्रा, म्याक्ससाइन, वेभेक्स/कुरुमा, मासिमो नेपाल, म्याचिलिन, लिक्वी मोलि, एसटीसी राइड/इनर्जी, सिएट टायर, जेके/गुड टायर, स्पाइसर, भुल्कन, आईटीआर/एटीएफ, युएसबी/होबी, सीवाईजी, केपीआई एण्ड कोहिनुर, मनाती, इलेक्ट्रिक भेहिकल चार्जर, टाटा ग्रिन, टोटल इनर्जी, स्टुड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, म्याक, पीएलओलगायतका स्टल रहने नाडाले जनाएको छ।
नाडाले यस पटकको अटो शो अहिलेसम्मकै ठूलो अटोमोबाइल प्रदर्शनी हुने बताएको छ।