काठमाडौं। साउन २१ गतेदेखि भृकुटीमण्डस्थित प्रदर्शनीस्थलमा नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५ चलिरहेको छ। नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर एसोसीएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पो साउन २५ गते सकिँदैछ।
एक्स्पोमा विभिन्न कम्पनीले नयाँ सवारी मात्र भित्र्याएका छैनन्, आकर्षक अफर पनि ल्याएका छन्। अफर नयाँ सवारीमा मात्र पनि सीमित छैन, पुराना सवारी पनि उतिकै प्रतिस्पर्धी छन्। एक्स्पोमा दुईपांग्रे तीन र चारपांग्रे सवारीसाधनका साथै, इन्स्योरेन्स तथा बैंकिङका स्टल पनि छन्। तुलनात्मक रुपमा पेट्रोल/डिजेलबाट चल्ने सवारीभन्दा विद्युतीय सवारीको हिस्सा बढी रहेको छ।
एक्स्पोमा चारपांग्रे ब्रान्डको स्टल २३ वटा रहेपनि पाँच/सात वटा स्टलमा बढी ग्राहकको आकर्षण देखिन्छ। विभिन्न ब्रान्डका काउन्सेलिङ रुम भरिभराउ नै छन्। गाडी र मोटरसाइकलप्रतिको क्रेजको तह कुन स्थितिमा छ भन्ने भृकुटीमण्डपमा लागेको भीडले नै बुझ्न सकिन्छ। सबैभन्दा धेरै भीड २० लाखदेखि ६० लाखसम्मका गाडी भएका स्टलमा हुनुले त्यसको संकेत गरिरहेको छ। ग्राहकहरु मध्यम रेन्जका गाडीका स्टलमा मात्र पुगेका छैनन्, गाडीका विशेषताबारे सोधखोज गरिरहेका छन्।
एक्स्पोमा ह्याचब्याक सेग्मेन्टका रुपमा आएका गाडीमा पनि ग्राहकको आकर्षण झन् बढी छ। पछिल्लो समय २० देखि ६० लाख रुपैयाँसम्मका मध्यम रेन्जका गाडीमा नेपालीहरुको चासो बढ्दै आएको देखिन्छ। विभिन्न अटो शो र त्यहाँ पुग्ने अवलोकनकर्ता धेरैको रोजाई हेर्दा पनि मध्यम रेन्जका गाडीहरू नेपाली बजारमा लोकप्रिय बन्दै गएको देखिन्छ।
एक्स्पो अवलोकनमा आउने मध्ये धेरैको ध्यान बीवाईडी, लिपमोटर, महेन्द्रा, ओमोडा एण्ड जेक्को र एमजीमा देखिएको छ। यीमध्ये सबैले यसयूभी सेग्मेन्टमा नयाँ गाडी लन्च गरेका छन्। एक्स्पोमा प्रिमियम गाडी पनि राखिएका छन। टोयोटा, माज्दा, फक्सवागन, मित्सुबिसीका साढे ३ करोड रुपैयाँसम्मका गाडी प्रदर्शनीमा छन्।
बीवाईडीले आफ्नो नयाँ मोडलको रुपमा एटो–१ एक्स्पोमा नै लन्च गरेको हो भने सिलायन–७ केही समय अघि आधिकारिक रुपमा लन्च गरहेको हो। बीवाईडीको दुई नयाँ मोडल रहेकोमा अवलोकनकर्ताको आकर्षण एटो–१ मा देखिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले ह्याचब्याग सेग्मेन्टमा नेपाल ल्याएको एटो–१ का दुई भेरियन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो गाडीलाई नाइमा अटो शोमा ‘हट केक’का रुपमा हेरिएको छ।
एक्स्पोमा चारपांग्रे ब्रान्डको स्टल २३ वटा रहेपनि पाँच/सात वटा स्टलमा बढी ग्राहकको आकर्षण देखिन्छ। विभिन्न ब्रान्डका काउन्सेलिङ रुम भरिभराउ नै छन्।
यस्तै,महिन्द्राको स्टलमा ग्राहकको भीड देखिन्छ। एक्स्पोमा महिन्द्राका दुई नयाँ मोडल बीई–६ र एक्सइभी ९ई एक्स्पोमा नै सार्वजनिक गरिएका हुन्। यी दुई मोडलको मूल्य ५७ लाखदेखि ६९ लाख रुपैयाँसम्म छ। यी दुवै मोडल भारतीय बजारमा सार्वजनिक भएको लामो समयपछि नेपाली बजारमा भित्रिएका कारण पनि पनि महिन्द्राको स्टलमा अवलोकनकर्ताको भीड लागेको हो।
नाइमा अटो शोमा अवलोकनकर्ताको रोजाइमा परेको अर्को स्टल लिपमोटरको हो। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रीला मोटर्सले नयाँ मोडलको रुपमा बी–१० बुधबार नै सार्वजनिक गरिएको थियो। बी–१० को नाइमा पछि मूल्य ५५ लाखदेखि ६० लाखसम्म रहने घोषणा गरेको कम्पनीले एक्स्पो अवधिका लागि अफर सोरुप ४९.९९ र ५६.९९ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ।
लिपमोटरको विपरित रहेको ओमोडा एण्ड जेको स्टलमा पनि अन्य स्टलमा जस्तै अवलोकनकर्ता झुम्मिएको देखिन्छ। नयाँ मोडलको रुपमा नेपाल आएको जेक्को जे–५ यो स्टलको आकर्षण हो। यो गाडी पनि एक्स्पोमा नै सार्वजनिक गरिएको हो।
जेको जे–५ को मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहेकामा बिक्रेता कम्पनी एसपीजी अटोमोबाइलले ले नाइमा अफर भनेर ४ लाख छुट दिएको छ। जसले गर्दा यो स्टलमा भिड लाग्यो। अवलोकनकर्ताले गाडी किन्ने योजनासहित सोधखोज गरेको महसुस व्यवसायीले गरेका छन्।
एक्स्पोको हल १ मा एमजी, केई, फरथीङ ब्रान्डको स्टल राखिएको छ। यी ब्रान्डका स्टलमा पनि गाडीको छुटका बारेमा सोधखोज गर्ने ग्राहको भीड नै लागेको छ। केई र एमजीले पहिलेदेखि नै नेपाली बजारमा उपलब्ध मोडलहरु प्रदर्शनीमा राखेकाले यी ब्रान्डमा गाडीको फिचर भन्दा पनि छुटको बारेमा बुझ्ने ग्राहकको भीड देखिन्छ।
फरथीङ फ्राइडे एक्स्पोमा नै सार्वजनिक गरेको नयाँ ब्रान्ड हो। बिक्रेता कम्पनीले यसमा पनि एक्स्पोको लागि ६ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। समग्रमा नाइमा एक्स्पोमा यी ब्रान्डमा भन्दा अन्य चार पांग्रे गाडीका स्टलमा अवलोकनकर्ता पातलो संख्यामा देखिएका छन्।
छुटको आशले महिनौंदेखि एक्स्पो कुरेका ग्राहक
अटो शोमा विभिन्न अफर र नगद छुट दिने चलन पहिले देखि नै चल्दै आएको छ। गत नाडा अटो शोमा पनि विभिन्न कम्पनीहरुले अटो शोको अवसर पारेर लाखौं मूल्य घटाएका थिए। त्यही कुरालाई मध्यनजर गर्दै ग्राहकले भने अटो शोमा सवारीसाधनमा छुट पाउने आसले महिनौंदेखि अटो शो कुरेर बसेका छन्। भौसीपाटीबाट एक्स्पोमा गाडी हेर्न र बुझ्न आएका सुरेश श्रेष्ठ ४० लाख रुपैयाँ सम्म मूल्यको गाडी हेर्न एक्स्पोमा आएको बताउँछन्।
‘घरमा तीन/चार महिना अघि गाडी किन्ने सल्लाह भएको थियो। त्यो बेलादेखि नाइमा मोबिलिटी एक्स्पोमा केही छुट र अफर हुन्छ भनेर कुरिरहेका थियौं।’ श्रेष्ठ भन्छन, ‘एमजीको कोमेट ईभी र वीन्डसर मध्ये एउटा बुकिङ गराउने कुरा भएको छ। त्यहीअनुसार अहिले यी दुई गाडी हामीले हेरिरहेका छौं,’ उनले भने।
मध्यम वर्गीय र उच्चमध्यम वर्गीय नेपालीले एक्स्पो कुरेर बसेको बुझ्न कठिन छैन। एक्स्पोमा गएका ग्राहकहरु कुन ब्रान्डले कति लाखसम्मको नगद छुट दिएको छ बुझ्दै हिडिरहेका छन्। एक्स्पो अवलोकन गर्न ललितपुरबाट गएकी सुनिता नेपाल बच्चाहरु बाहिर छन्। उनीहरुले नै नाइमा मोबिलिटी एक्स्पोमा कुन गाडीमा कति छुट दिन्छ त्यो बुझ्न पठाएको उनी बताउँछिन्।
‘छोराछोरीले यो एक्स्पोमा गाडी किन्दा छुट हुन्छ भनेर बुझ्न पठाए,’ उनी भनिछन्, ‘यहाँँबाट बुझेर गएपछि उनीहरुले कुन गाडी किन्न भन्छन् त्यही किन्ने हो। बानेश्वरबाट एक्स्पोमा आएका किरण अधिकारी बीवाईडी एटो ‑१ बुकिङ गराएको बताउँछ्न्। ‘पहिलेदेखि नै रोजाई बीवाईडी नै थियो, एक्स्पोमा अफर भएकोले बुकिङ गरी हाले।’