काठमाडौंको भृकुटीमण्डपमा प्रत्येक वर्ष भदौतिर विशेष उत्सव मनाइन्छ–नाडा अटो शो। यो उत्सव केवल कारप्रेमीका लागि मात्र होइन, नेपालकै अटोमोबाइल उद्योगको ऐतिहासिक यात्रा, प्रविधिको उन्नति र भविष्यको झलक देखाउने एउटा ‘विन्डो’ पनि हो। सन् १९९८ मा सुरु भएको यो प्रदर्शनीले दुई दशकभन्दा बढीमा नेपालको अटो व्यवसायलाई बृहत् आकार दिँदै आएको छ।
नेपालमा सवारीसाधनको कथा अनौठो छ। राणाकालमा सडक नभएका कारण भारतबाट मानिसले काँधमै बोकेर पहिलो कार काठमाडौं ल्याएका थिए। त्यो केवल विलासी वस्तु थियो–राणाको सोख। तर, त्यही क्षणबाट नेपालमा मोटरगाडीको इतिहास सुरु भयो।
नेपाली सडकमा गाडी गुडेको देख्ने नेपाली भए। गाडी चढ्ने महत्वकाँक्षा पलायो, गाडीको व्यापार गर्नेको सोच पलायो। तर, सोचको मात्र जन्म भयो।
दशकौंसम्म नेपालमा कार केवल विशिष्ट वर्गको सम्पत्ति रह्यो। २०३० को दशकपछि मात्र निजी क्षेत्रले सवारी साधन आयातलाई व्यावसायिक रूपमा लिन थाल्यो। गाडी कारोबार गर्ने, सीमितै भए पनि नेपालभर गाडी बेच्ने व्यवसायीहरुको सोचले आकार लियो।
यो पृष्ठभूमिमा २०३२ असोज १० गते स्व. तोलाराम दुगडको नेतृत्वमा अटोमोबाइल एसोसिएसन अफ नेपाल गठन भयो। पछि यसको नाम परिवर्तन भएर नेपाल अटोमोबाइल डिलर एसोसिएसन) नाडा) बन्यो।
पहिलो नाडा अटो शो
नेपालको पहिलो अटो शो सन् १९९८ नोभेम्बर ४–८ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको थियो। नाडा आठौं अध्यक्ष किरण वैद्यको नेतृत्वमा अटो शो भएको थियो।
ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस र नाडाले संयुक्त रूपमा आयोजना गरेको नाडा अटो शोमा २६ कम्पनी सहभागी भएका थिए। नयाँ प्रविधि देख्ने र गाडी छुन–हेर्ने उत्सुकताले मानिस त्यहाँ पुगेका थिए। त्यसबेलासम्म बैंकको सिमित सुविधा, चर्काे कर र सिमित आम्दानीले गाडी खरिद कम नै थिए।

सुरुआती दिनमा हरेक दुई वर्षमा हुने नाडा अटो शो अहिले भने हरेक वर्ष आयोजना हुने गरेको छ। अहिलेसम्म नाडाले १६ वटा अटो शो सम्पन्न गरिसकेको छ।
छैटौं संस्करण (२०११) सम्म हरेक २ वर्षमा हुने नाडा अटो शो त्यसपछि प्रत्येक वर्ष हुन थाल्यो। कोभिड महामारीको बीचमा २०२०, २०२१ र २०२२ मा मात्र शो रोकियो। २०२३ यता निरन्तर भइरहेको छ। तर, त्यसै क्षणबाट नयाँ यात्रा सुरु भयो—नेपालमा कारलाई ‘प्रदर्शनी’ संस्कृतिसँग जोड्ने यात्रा र आजका दिनसम्म निरन्तर छ।
नाडाको विस्तार र योगदान
नाडा सुरु हुँदा जम्मा १८ सदस्य थिए। आज यो संख्या ३,००० बढी नाघेको छ। नाडाले नेपालमा अटोमोबाइल व्यवसायलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान दियो। सरकारसँग नीति–संवाद, आयात कर, भन्सार, बैंकिङ कर्जा सुविधा र बजार व्यवस्थापनमा नाडा व्यवसायीको साझा आवाज बन्यो।
टोयोटा, हुन्डाई, टाटा, महिन्द्रादेखि लिएर पछिल्लो दशकमा आएको बीवाईडी, एमजी, दिपाल, ओमोडा, जिलीजस्ता नयाँ ब्रान्ड नेपाल भित्र्याउन नाडा सदस्यको अग्रसरता रह्यो। सडक सुरक्षा, प्रदूषण नियन्त्रण र इलेक्ट्रिक गाडीको प्रोत्साहनमा नाडाले निरन्तर वकालत गर्दै आएको छ।
नेपालको अर्थतन्त्रमा नाडाको योगदान
स्थापना भएदेखि नै नाडाको विश्वास नेपालकै आर्थिक विकासमा योगदान पुराउने रहेको छ। नेपालमा अटोमोबाइल व्यवसायलाई प्रोत्साहन गर्ने र प्रभावकारी ढंगले सञ्चालनमा ल्याउने उद्यममार्फत नाडाले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ।
हालसम्म नाडाअन्तर्गतका व्यवसायी र कम्पनीमा १० लाखभन्दा बढी कर्मचारी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न रहेको नाडाले जनाएको छ। यसैगरी अटोमोबाइल व्यवसायमार्फत वार्षिक करिब ९० अर्बभन्दा बढीको आम्दानी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ।
नेपालभरका अटोमोबाइल व्यवसायीको समग्र लगानी १ खर्बभन्दा बढी पुगेको छ। यस क्षेत्रमा हाल करिब ३ हजार २ सयभन्दा बढी आयातकर्ता र वितरक सक्रिय रहेका छन्। नाडाले देखाएको सक्रियता र नेपालका अटो व्यवसायीको निरन्तर लगानीले देशको रोजगारी, कर संकलन र आर्थिक गतिशीलता वृद्धि गर्न ठूलो टेवा पुर्याएको मानिन्छ।
टोयोटा, हुन्डाई, टाटा, महिन्द्रादेखि लिएर पछिल्लो दशकमा आएको बीवाईडी, एमजी, दिपाल, ओमोडा, जिलीजस्ता नयाँ ब्रान्ड नेपाल भित्र्याउन नाडा सदस्यको अग्रसरता रह्यो।
दसैंको सुरुआत, अटो शोको रौनक
नाडा अटो शो अहिले केवल कार प्रदर्शन नभई दसैं सुरुआतसँग जोडिएको छ। क्यालेन्डरमा एउटा पर्व थपिएजस्तै भएको छ। उपभोक्ता नयाँ गाडी किन्ने योजना बनाएर शोमा आउँछन्।
बैंक–वित्तीय संस्थाले सहुलियतमा कर्जा योजना ल्याउँछन्। आयातकर्ताले नयाँ मोडल सार्वजनिक गर्छन्। यो वातावरणले बजारलाई चलायमान बनाउने मात्र होइन, नेपालकै उपभोक्ता संस्कृतिलाई आकार दिएको छ।
नेपालको अटो बजारको रूपान्तरण तीन चरणमा देखिन्छ पेट्रोल–डिजेलको युग–१९९० दशकदेखि २०१० सम्म मुख्यतया टाटा, हुन्डाई, मारुती, टोयोटा, महिन्द्राका गाडीले बजार ओगट्यो। यस बेला नेपालमा गाडी भनेको लक्जरी हो भन्ने मान्यता थियो।
एसयूभी ट्रेन्ड– २०१० पछि ह्युन्डाई क्रेटा, किया सेल््टोस, टाटा ह्यारियरजस्ता एसयूभीले उपभोक्ताको मन जिते। गाडीका सस्ता मोडल पनि सार्वजनिक हुन थाले। विश्वबजारदेखि घरेलु बजारसम्म तीव्र प्रतिस्पर्धा हुन थाल्यो। स्किम, अफर, छुटले ग्राहकको मन जित्न थाल्यो।
२०२० पछि नेपालले विद्युतीय सवारीतिर तीव्र मोड लियो। सरकारले पेट्रोल–डिजेलभन्दा ईभीमा कम कर लगाउँदा ईभी बिक्रीमा विस्फोटक वृद्धि भइरहेको छ। अहिले इभी गाडीबीच नै प्रतिस्पर्धा चलिरहेको छ। चर्काे प्राइस वारले ग्राहकलाई सहज भएको छ।
गाडी आयात र बिक्री मात्र होइन, यस यात्रामा नाडाले व्यवसायी र सरकारबीच सेतुको काम पनि गरेको छ। मापदण्ड बनाउने, सरकारलाई सुझाव दिने, नीतिगत रुपमा पहल गर्ने योगदान पनि नाडाको रहेको छ । यस वर्षको नाडा अटो शो आजदेखि सुरु भएको छ। गुड्ने कार मात्र होइन, अब ‘उड्ने कार’ समेत प्रदर्शनमा देख्न पाइने भएको छ।
‘हामीले पुरानो लिगेसीलाई जोगाउँदै प्रविधिको नवीनतालाई मिसाएर अटो शो निरन्तर अघि बढाएका छौं। यसपालि उड्ने कार नै मुख्य आकर्षण हुनेछ’, नाडाका अध्यक्ष करण चौधरीले भने। यो केवल नयाँ प्रविधि देखाउने होइन, भविष्यतर्फको संकेत पनि हो, जहाँ अकासमा उड्ने सवारी साधन नेपालमा पनि सम्भावना बन्दै जाने संकेतको रुपमा रहने उनले बताए।
२७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नाडा अटो शो अब केवल प्रदर्शनी नभई नेपालको अटोमोबाइल इतिहासको सजीव संग्रहालयजस्तै बनेको छ।
बोकेर ल्याइने गाडीको युगदेखि गुड्ने, अनि विद्युतीय र अब उड्ने कारसम्मको यात्रा नेपालकै आर्थिक, सामाजिक र प्राविधिक क्रान्ति हो। नाडाले बनाएको यो प्लेटफर्मले नेपाललाई विश्व अटो उद्योगसँग जोडिरहेको छ।

विश्व अटो बजारका प्रतिनिधिले नेपालको सानो बजारलाई पनि आफ्नो रणनीतिक बजारको रुपमा लिएका छन्। उपभोक्ताका लागि—यो केवल गाडी हेर्ने अवसर नभई, आफ्नो जीवनशैली र सपनालाई नयाँ गति दिने मेला पनि हो।
नाडा अध्यक्षहरूको नेतृत्व यात्राः आधारशिलादेखि आधुनिक युगसम्म
नाडा स्थापना २०३२ असोज १० मा स्व. तोलाराम दुगडको अध्यक्षतामा भएको थियो। संस्थापक अध्यक्ष दुगडले अटो व्यवसायीलाई एउटै छातामुनि ल्याउँदै संगठित संस्थाको आधारशिला राखे।
त्यसपछि स्व.मोहन गोपाल खेतानले नेतृत्व सम्हालदा संस्थागत संरचनालाई औपचारिकता दिने काम भयो। स्व. गौरीशंकर मोरेको पालामा संस्था राजधानी बाहिर पनि परिचित हुन थाल्यो भने रुपज्योतिको अध्यक्षतामा सदस्य विस्तारमा जोड दिइयो।
२०४१ देखि २०४६ सम्म स्व. दिवाकरविक्रम राणाले सरकारी निकायसँग नीतिगत संवाद सुरु गर्ने पहल गरे। त्यसपछि स्व. उदयशमशेर थापाले प्रजातन्त्रपछिको नयाँ वातावरणमा अटो व्यवसायलाई खुला बजारसँग जोड्ने काम गरे।
पद्य ज्योतिको अध्यक्षतामा प्रदर्शनी संस्कृतिको जग हाल्ने प्रारम्भिक प्रयास भयो। यिनकै नेतृत्वपछि २०५३ मा किरण वैद्य अध्यक्ष हुँदा नेपालकै पहिलो नाडा अटो शो आयोजना भएको थियो, जसले नेपालको अटो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी संस्कृतिसँग जोड्यो।
त्यसपछि श्रीनिवास वीरसिंह र लोकमान्य गोल्छाले अटो शोलाई निरन्तरता दिँदै नयाँ ब्रान्ड प्रवेशका लागि वातावरण तयार गरे। रोहिणी थपलियाले संघलाई व्यावसायिक रुपमा व्यवस्थित तुल्याए भने स्व. हिक्मतबहादुर मालीले नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरे।
सुनील खेतानको पालामा बजारमा विदेशी ब्रान्डको तीव्र विस्तार भयो भने स्व. सौर्य राणाको अध्यक्षतामा नाडा अटो शोमा जनसहभागिता उल्लेख्य रुपमा बढ्यो।
२०६७ मा सौरभ ज्योति अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय स्तरमा नाडालाई चिनाउने अभियान सुरु भयो र वातावरणमैत्री गाडीबारे छलफल चल्यो। शेखर गोल्छाको नेतृत्वमा संघलाई उच्चस्तरीय व्यावसायिक संस्थाको रुपमा स्थापित गरियो र कर तथा आयात नीतिमा सरकारसँग संवाद मजबुत बनाइयो। अन्जन श्रेष्ठको पालामा संघमा संरचनात्मक सुधार र डिजिटलाइजेसनतर्फ ध्यान दिइयो।
२०७४ मा शम्भुप्रसाद दाहाल अध्यक्ष भएपछि अटो शोमा नयाँ ब्रान्ड र प्रविधि प्रदर्शनमा जोड दिइयो। त्यसपछि कृष्णप्रसाद दुलालको नेतृत्वमा विद्युतीय सवारी प्रोत्साहनका लागि जोडदार पहल भयो र कोभिड–१९ महामारीकै बीचमा अटो व्यवसायलाई जोगाउने प्रयास गरियो। ध्रुवबहादुर थापाको अध्यक्षतामा महामारीपछिको पुनरुत्थानमा नाडा सक्रिय रह्यो र हरित प्रविधिमा व्यवसायीलाई आकर्षित गर्ने रणनीति अघि बढाइयो।
हाल २०८० सालदेखि करणकुमार चौधरी नाडाका अध्यक्ष बनेका छन्। उनी संस्थाका सबैभन्दा युवा अध्यक्ष मानिन्छन्। चौधरीले पुरानो परम्परा जोगाउँदै अटो शोमा नयाँ प्रविधि मिसाउने कामलाई निरन्तरता दिएका छन्।
यही क्रममा यस वर्षको अटो शोमा पहिलो पटक उड्ने कार प्रदर्शनमा ल्याइएको छ, जसलाई नेपालकै अटोमोबाइल इतिहासको नयाँ अध्यायका रुपमा हेरिएको छ। यसरी हेर्दा नाडा अध्यक्षहरूको नेतृत्व यात्रा केवल पद हस्तान्तरणको शृंखला मात्र होइन, नेपालकै अटोमोबाइल उद्योगको विकासको इतिहास देखिन्छ।
संस्थापक तोलाराम दुगडको आधारशिलादेखि किरण वैद्यको पालामा भएको पहिलो अटो शो हुँदै अहिले करण चौधरीको अध्यक्षतामा उड्ने कारसम्म आइपुग्दा नाडाले देशलाई विश्व अटो व्यवसायसँग जोड्ने महत्त्वपूर्ण पुलको काम गरेको छ।