काठमाडौं। चिनियाँ अटो ब्रान्ड जेनयाओ अटोले नयाँ इलेक्ट्रिक जेनयाओ जेवाई सेडान एयर पहिलो पटक नेपालमा सार्वजनिक गरेको छ।
आधिकारिक वितरक एलआरआर मोटर्समार्फत भित्र्याइएको यो मोडल नाडा अटो शो २०२५ मा आकर्षक डिजाइन, नवीनतम प्रविधि र किफायती मूल्यका कारण विशेष ध्यान खिच्न सफल भएको छ।
जेवाई सेडान एयर दुई भेरियन्टमा उपलब्ध छ। जेवाई एयर सेडान लाइट ४९.९९ लाख रुपैयाँमा उपलब्ध छ, जसमा ५१ किलोवाट एलएफपी ब्याट्री प्रयोग गरिएको छ। यसले करिब ३५५ किमि डब्लूएलटीसी दायरा प्रदान गर्छ।
त्यस्तै, जेवाई सेडान एयर अल्ट्रा ६३.९९ लाख रुपैयाँमा उपलब्ध छ, जसमा ६४ किलोवाछ एलएफपी ब्याट्री दिइएको छ र करिब ४४० किमि डब्लूएलटीसी दायरा प्राप्त हुन्छ। दुवै मोडलमा ९९ किलोवाट मोटर र २५० एनएम टर्क दिइएको छ, जसले सशक्त प्रदर्शन सुनिश्चित गर्छ।
चार्जिङ क्षमतामा पनि यो मोडल प्रतिस्पर्धात्मक देखिन्छ। अल्ट्रा भेरियन्टलाई डीसी फास्ट चार्जमार्फत ३० देखि ८ प्रतिशतसम्म चार्ज गर्न २१ मिनेट मात्र लाग्छ भने एसी चार्जिङमार्फत पूर्ण चार्ज ६.५ घन्टामा हुन्छ।
लाइट भेरियन्टमा पनि ३० देखि ८० प्रतिशत फास्ट चार्ज ३० मिनेटमा पूरा हुन्छ भने एसी चार्जिङमार्फत पूर्ण चार्ज ५.३ घन्टामा हुने कम्पनीले जनाएको छ।
सुरक्षाका दृष्टिले पनि जेवाई एयर प्रिमियम स्तरको सुविधा छ। यसमा एलटू एडीएस सुविधा, सात एयरब्याग (अल्ट्रा भेरियन्टमा), ३६०–डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, एबीएस, ईबीडी, टीसीएस, ईएससी र टीपीएमएसजस्ता अत्याधुनिक सुरक्षा प्रणाली उपलब्ध छन्। साथै, भेहिकल–टु–लोड प्रणालीमार्फत गाडीलाई पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।
इन्टेरियरमा आधुनिकता र आरामको विशेष ध्यान दिइएको छ। १५.६ इन्चको रोटरी टचस्क्रिन, ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, प्यानोरामिक ग्लास सनरुफ, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, इलेक्ट्रिक सिट एड्जस्टमेन्ट (अल्ट्रा भेरियन्ट)तथा आकर्षक अलोय व्हीलले यसलाई प्रिमियम बनाउँछन्। लाइट भेरियन्टमा पनि १७ इन्च अलोय व्हील र आवश्यक स्मार्ट सुविधा समावेश गरिएको छ।
गाडीको ४,५५० मिमि लम्बाइ, १,८६० मिमि चौडाइ, १,५१५ मिमि उचाइ, २,८०० मिमि ह्वीलबेस र १७२ मिमि ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडकका लागि यो मोडल व्यावहारिक देखिने कम्पनीको भनाइ छ।
नाडा अटो शो २०२५ बाट बिक्री सुरु भएको जेनयाओ जेवाई एयरले प्रिमियम डिजाइन, आधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यका कारण नेपाली इलेक्ट्रिक सवारीसाधन बजारमा बलियो प्रतिस्पर्धा गर्ने संकेत देखिएको छ।