काठमाडौं। सामाजिक सञ्जालदेखि मिडियामा अहिले उड्ने कारको निकै चर्चा र परिचर्चा भइरहेको छ। हुन त जति बेला नेपालमा उड्ने कार ल्याउने भनेर समाचार सार्वजनिक भयो त्यहीँ देखिनै चर्चा सुरु भएको थियो। झन मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा उड्ने कार राखेपछि त्यसको चर्चा र परिचर्चाले शिखर चुमिरहेको छ।
सोही उड्ने कार हेर्नेहरुको भिड लागेको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शो–२०२५ उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उड्ने कार निरिक्षण गरेका थिए।
प्रधानमन्त्री ओलीले उद्घाटन एवम् निरिक्षण गरेपछि अहिले सो कार सर्वसाधारणका लागि समेत खुला गरिएको छ। अहिले अटो शोमा आउने अधिकाशंको नजर सोही उड्ने कारमा परिरहेको छ।
प्रदर्शनीमा राखिएको उड्ने कार के नेपालमा चलाउन सकिन्छ र किन्न परेमा कति मूल्य पर्छ? अहिले धेरैले यो प्रश्न गरिरहेका छन्। तर, अहिले प्रदर्शनीमा राखिएको कार हेर्न मात्र पाइन्छ र किन्न पाइदैन। नेपालमा अटो शो कै लागि भनेर चांगन अटोमोबाइल र इहाङ कम्पनीको सहकार्यमा निर्मित उड्ने ट्याक्सी पहिलो पटक सार्वजनिक रूपमा प्रर्दशन गरिएको हो।
एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) लाई नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राखेको छ।
नेपालमा उड्ने कार ल्याउनुको उद्देश्य चांगन प्राविधिक रुपमा कतिको अगाडी छ र मार्केटमा कसरी लिड गरिरहेको छ भन्ने कुरा बताउनका लागि ल्याइएको डिपलका मार्केटिङ हेड रमेश दनेखु बताउँछन्। ‘नेपालमा उड्ने कार ल्याउनुको उद्देश्य चांगन प्राविधिक रुपमा कतिको अगाडी छ र मार्केटमा कसरी लिड गरिरहेको छ भन्ने कुरा यसले देखाउँछ,’ दनेखु भन्छन्, ‘हुनत भविष्य उड्ने कारकै हो। तर, पनि यसको व्यवसायीक सुरुवात अहिले भइसकेको छैन।’
प्रधानमन्त्री ओलीले उद्घाटन एवम् निरिक्षण गरेपछि अहिले सो कार सर्वसाधारणका लागि समेत खुला गरिएको छ। अहिले अटो शोमा आउने अधिकाशंको नजर सोही उड्ने कारमा परिरहेको छ।
चिनमा पनि उड्ने ट्याक्सी परीक्षण अवस्थामा नै छ त्यसकारण यो नाडा अटो शोमा प्रदर्शनीको लागि मात्र ल्याएको हुनाले नाडा सकिएपछि चिनमा नै फर्किने उनको भनाइ छ।
‘नाडा अटो शोमा ल्याइएको उड्ने ट्याक्सी नेपालमा प्रदर्शनीका लागि मात्र ल्याएको हो। नेपालमा यसलाई उडाउने अनुमति पनि छैन चिनमा पनि यो कार परीक्षण अवस्थामा नै रहेकाले यसको मूल्य कति पर्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न,’ दनेखुले भने।
धेरैको चासो उड्ने ट्याक्सीको मूल्य कति पर्छ भन्ने रहेको छ। तर, यो ट्याक्सी परीक्षण कै अवस्थामा रहेकाले कति पर्छ भन्ने कुरा अहिले नै बाहिर आएको छैन। नाडामा प्रदर्शनीमा राखिएको उड्ने कार स्वचालित रुपमा उडाउन मिल्छ। एक पटकको फुल चार्जमा ३० किलोमिटर रेन्ज प्रदान गर्ने यस कारको स्पिड भने प्रति घन्टा १३० किलोमिटर मात्रै छ।
यो कार दुई सिट क्षमताको छ, जसमा ८ वटा प्रोपेलर र ८ वटा इलेक्ट्रिक मोटरहरू छन्। साथै, सुरक्षाका लागि मल्टी–प्यारासुट प्रणाली पनि जडान गरिएको छ। यसले सहरी हवाई यातायातलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। दक्षिण एसियामै अटो प्रदर्शनीका नाममा भए पनि उड्ने कार भित्र्याउने पहिलो मुलुक नेपाल भएको छ। उड्ने कार पूर्णरूपमा विद्युतीय छ। यो कारले ठाडो उडान र अवतरण गर्छ।