काठमाडौं। नेपालीहरुको पर्व दसैँ, तिहार नजिकिँदै छ। अधिकांश नेपालीहरुले यी पर्वको अवसरमा नयाँ सवारी साधन खरिद गर्ने ट्रेण्ड बसिसकेको छ।
चाड पर्वमा उपभोक्ताहरुले गाडी खरिद गर्ने ट्रेण्डलाई ‘क्याप्चर’ गर्दै हरेक वर्ष नाडा अटो शो आयोजना हुँदै छ। व्यवसायीका लागि अटो शोलाई दसैँको सुरुवातको रुपमा लिँदै आएका छन्। सोही अटो शोमा गाडी किन्न चाहनेका लागि विभिन्न अफरहरु दिने गथ्र्ये। त्यहीअनुसार उपभोक्ता पनि आफ्नो तयारी रहँदै आएका थिए।
तर, यो वर्ष गाडी किन्नेहरुलाई बम्पर उपहार परिरहेको छ। अर्थात, यो एक साताको बीचमा अटो क्षेत्रको दुई ठूला शोहरु आयोजना भएको छ। एउटा अटो शो सम्पन्न भइसकेको छ। अर्को चलिरहेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले एक साताअघि पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो २०२५ सम्पन्न गरेको थियो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा नाडा अटो शो २०२५ चलिरहेको छ।
एक साताअघि सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा गाडी खरिद गर्नेहरुलाई भारी छुट दिएको थियो। अहिले नाडा अटो शोमा पनि उपभोक्तालाई गाडी खरिदमा छुट दिने प्रतिस्पर्धा चलिरहेको छ।
नाइमापछि नाडामा पनि सवारी साधन बिक्रेता कम्पनीहरुले उपभोक्तालाई ‘प्राइस वार’को ‘सरप्राइज’ दिएका हुन्। नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीबीच चलेको मूल्य घटाउने होडबाजी नाडा अटो शोमा पनि देखिएको छ। यस वर्ष पहिलो पटक आयोजना भएको नाइमा र नाडा अटो शोमा सवारी साधन बिक्रेताबीच चलेको चर्को प्रतिस्पर्धाले उपभोक्तालाई उत्साहित बनाएको छ।
नाडामा गाडी बिक्रेता कम्पनीहरूले एकअर्कालाई पछि पार्न आकर्षक नगद छुटसहित फाइनान्स सुविधामा ठूलो प्रतिस्पर्धा चलाएका छन्। यसबाट सबैभन्दा बढी फाइदा उपभोक्ताहरूलाई हुने देखिन्छ। गाडी बिक्रेता कम्पनीहरूले लाखौँ नगद छुटका साथै विभिन्न सामानहरु, निःशुल्क चार्जरलगायत छुट दिने घोषणा गरेका छन्। यसले ग्राहकहरूलाई नयाँ सवारी साधन किन्न प्रोत्साहित गरेको छ।
अटोमोबाइल कम्पनीहरूले नाडा अटो शोलाई आफ्नो व्यापार बढाउने महत्वपूर्ण अवसरका रूपमा लिने गरेका छन्। त्यसैले उनीहरूले नयाँ मोडल सार्वजनिक गर्ने, विशेष स्किमहरू ल्याउने र प्रतिस्पर्धीलाई कडा टक्कर दिने रणनीति अपनाएका छन्।
नाइमा मोबिलिटी एक्स्पोमा एक कम्पनीले छुट घोषणा गर्नासाथ अर्को कम्पनीले त्यसभन्दा बढी छुट दिएर ग्राहक आकर्षित गरेका थिए। नाइमामा बिवाइडी, एमजी, हुण्डाई, फरथिङ, लिपमोटर, निसान, जिकर, ओमोडा, एलएस अटोलगायतका नाइमा प्रदर्शनी गरेका अघिकांश ब्रान्डले मूल्य घटाएका थिए। नाइमा मोबिलिटी एक्स्पोमा एउटै गाडी खरिद गर्दा २० लाख रुपैयाँसम्म नगद छुट दिएका थिए।
जारी १७ औँ संस्करणको नाडा अटो शो २०२५ मा नाइमामा जस्तै गाडी बिक्रेताबीच ‘प्राइस वार’ सुरु भएको छ। १६ औँ संस्करणको नाडा अटो शोमा पनि गाडी बिक्रेताबीच नगद छुट र स्किमको होड चलेको थियो। त्यति बेला कम्पनीहरुले १० लाखसम्म छुट दिएका थिए।
नाडामा छुटका भारी
जिली ग्यालेक्सी
यस पटकको नाडा अटो शोमा नेपाल भित्रिएको नयाँ चिनियाँ ब्राण्ड जिली खरिद गर्ने ग्राहकले विशेष छुट पाउने छन्। नेपालका लागि जिली गाडीको आधिकारिक वितरक एलआरआर मोटर्सले विशेष छुट योजना घोषणा गरेको हो।
एलआर मोटर्सले नाडामा जिली र जेवाई एयर ब्राण्डका गाडी प्रदर्शनीमा राखेको छ। कम्पनीले नाडा अवधिका लागि दुवै ब्रान्डमा विशेष छुट दिएको छ। एलआरआरले जेवाई एयरमा ४ लाख र जिलीमा ३ लाख रुपैयाँ छुट दिएको छ। नाडा अवधिभरका लागि ग्राहकले जिली एक्स–५ म्याक्स ६४ लाख ९९ हजारमा खरिद गर्न सक्ने छन्। जुन वास्तविक मूल्यभन्दा ३ लाख कम हो। जिली एक्स–५ म्याक्सको वास्तविक मूल्य ६८ लाख रुपैयाँ हो।
त्यस्तै, जिली एक्स–५ प्रो नाडा अवधिभरका लागि ५४ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यसको वास्तविक मूल्य ५८ लाख कायम गरिएको थियो।
यसैगरी, जेवाई एयरका प्रिमियम मोडलमा पनि आकर्षक छुट योजना ल्याइएको छ। ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा ६४ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइट ४९ लाख ९९ हजारमै खरिद गर्न सकिने छ। यसमा नगद छुटसँगै ७ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ।
जिनपेङ
जिनपेङ नाडा अटो शोमा नेपाल भित्रिएको नयाँ ब्राण्ड हो। जिनपेङ नेपाली बजारमा ठाकुर मोटर्सले ल्याएको हो। नयाँ ब्राण्डको रुपमा नेपाल भित्रिएको जिनपेङमा कम्पनीले ५ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ।
दुई भेरिएन्टमा उपलब्ध जिनपेङको वास्तविक मूल्य २३ लाख ४९ हजार र २४ लाख ९९ हजार रुपैयाँ रहेको छ। नाडा अवधिभरको लागि कम्पनीले १९ लाख ९९ हजार र १८ लाख ९९ हजार रुपैयाँमा झारेको छ।
नामी
नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपले नामी ०६ मा १ लाख रुपैयाँ छुट दिएको छ। नाडा अटो शोमा दुई भेरिएन्टमा सार्वजनिक गरेको नामी–०६ ई–२ ३७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यसको वास्तविक मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, ई–२ प्लसमा पनि कम्पनीले १ लाख रुपैयाँ छुट दिने घोषणा गरेको छ। नाडाका लागि ई–२ प्लसको मूल्य ४० लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको वास्तविक मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ।
रिडारा
नेपालका लागि रिडाराको आधिकारिक वितरक सिजी मोटर्सले रिडारा आरडी सिक्स इलेक्ट्रिक पिकअपमा पनि नगद छुट दिने घोषणा गरेको छ। कम्पनीले रिडारा आरडी सिक्सको टु ह्विल ड्राइभ अप्सन र फोरह्विल ड्राइभ दुवैमा छुट दिने घोषणा गरेको छ।
रिडारा फोरह्विल ड्राइभको तीन भेरियन्ट उपलब्ध छ। यसको बेस अप्सनको वास्तविक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीले यसमा २ लाख रुपैयाँ छुट दिई ७७ लाख ९९ हजार रुपैयाँमा झारेको छ। कम्पनीले बेस अप्सनमा नाडा अफर सोरुप एक्सचेञ्जमा ३ लाख रुपैयाँ डिस्काउन्ट लिई ७४ लाख ९९ हजार रुपैयाँमा लिन सकिने जनाएको छ।
विथ सनरुफमा पनि २ लाख रुपैयाँ डिस्काउन्ट दिई ८१ लाख ९९ हजार रुपैयाँ मूल्यको गाडी ७९ लाख ९९ हजार रुपैयाँमा पाउने कम्पनीले जनाएको छ।
साथै, नाडामा अफर सोरुप बेस अप्सनमा नाडाको लागि कम्पनीले ७६ लाख ९९ हजार रुपैयाँमा झारेको छ। ड्युलटोन कलर विथ सनरुफको ८२ लाख ९९ हजार रुपैयाँबाट ७७ लाख ९९ हजार रुपैयाँमा झारेको छ। यो मूल्य नाडाको एक्सचेञ्ज र डिस्काउन गरेर हो।
त्यस्तै, कम्पनीले रिडारा आरडी सिक्सको टु ह्विल ड्राइभ अप्सनमा ३ लाख रुपैयाँ डिस्काउन्ट दिने जनाएको छ। ६६ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको रिडारा आरडी सिक्सको टु ह्विल ड्राइभ अप्सन ६३ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले एक्सचेञ्ज बोनस सोरुप ३ लाख रुपैयाँ पाउन सक्ने छन्।
नाडा अफरका लागि एक्सचेञ्ज बोनस सोरुप आरडी सिक्सको टु ह्विल ड्राइभ अप्सन ६० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। साथै, कम्पनीले यसमा ६.६ किलोवाटको चार्जर ३.३ किलोवाटको चार्जर, एक वर्षको अटो प्लस इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्स छुट दिने घोषणा गरेको छ।
सुजुकी
नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले अटो शोमा दसैँ तिहारभरिका लागि लक्षित हुने गरी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बिमा, ६ वर्षका लागि निःशुल्क पीएमएस पाट्र्स, २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस र एसेसरिजहरु पाउन सक्ने छन्।
कम्पनीले नाडा अटो शो लक्षित गरी शो अवधिभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने छ। यसैगरी १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सक्ने छन्। यसका साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याज दर सुविधा उपलब्ध हुनेछ।
एक्स्पेङ जी–६
नेपालका लागि एक्स्पेङको आधिकारिक वितरक सिजी मोटर्सले एक्स्पेङ जी–६ मा पनि ४ लाख नगद छुट दिएको जनाएको छ।