काठमाडौं। नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको नाडा अटो शो २०२५ मा कम मात्रामा दुईपांग्रे ब्रान्डले सहभागिता जनाए पनि अवलोकनकर्ताको घुइँचो लागेको छ।
अटो शोमा थोरै ब्राण्ड मात्रै उपस्थित हुँदा दुईपांग्रे सवारी साधनका पारखीहरु एकै ठाउँमा झुम्मिनुपर्ने बाध्यता आएको हो।
एक साताअघि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा एक्स्पोमा धेरै ब्राण्ड सहभागी हुँदा पनि अवलोकनकर्ताको चासो अधिक मात्रामा थियो। अवलोकनकर्ताको इच्छाअनुसार अटो शोमा ब्राण्डको उपस्थिति धेरै नहुँदा सीमित दुईपांग्रे सवारीका स्टलमा भीड भएको हो।
१७औँ संस्करणको नाडा अटो शोमा पहिलो दिन १९ हजार ७०६ जनाले अटो शो अवलोकन गरेको नाडाले जनाएको छ। दुईपांग्रे सवारीसाधन विशेषतः युवा पुस्ताकाे प्राथमिक रोजाइमा पर्ने भएकाले पनि नाडामा न्यून सहभागिता जनाएका विभिन्न ब्रान्डका स्टलमा अधिक भीड देखिएको हो।

दुई पांग्रे सवारी विशेष गरी मोटरसाइकल र स्कुटर सधैँ नाडा अटो शोको दर्शकहरूको मुख्य आकर्षण रहँदै आएको छ। युवा वर्ग, विद्यार्थी र मध्यम वर्गका ग्राहकका लागि दुई पांग्रे सवारी ब्राण्ड सर्वाधिक चासोका विषय हुन्।
हरेक वर्ष दर्शकका लागि मुख्य आकर्षण बन्ने दुई पांग्रे सवारीमा यस पटकको नाडा अटो शोमा सीमित ब्राण्ड मात्र सहभागी भएकाले स्टलमा भिड देखिएको हो। नाडाभन्दा अघि नाइमा मोबिलिटी एक्स्पोमा अधिकांश ब्राण्ड सहभागी भएकाले ती ब्राण्डले नयाँ मोडल लञ्च गरेकाले अवलोकनर्ता बाँडिएका थिए। तर, यस पटक नाडामा दुई पांग्रे ब्राण्डको सहभागिता कम भएकाले एउटैमा ग्राहक झुम्मिएको हो।
एक साताअघि मात्र सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा करिब दुई दर्जन ब्राण्डका दुई पांग्रे सवारी साधन उपस्थित भएका थिए।
नाडा अटो शोमा दुई पांग्रे सवारीमा हिरो, यामाहा, जोनसन, रोयल इन्फिल्ड मात्र सहभागी भएका छन्। नाडामा दुई पांग्रे ब्राण्डमा हिरोका ४ नयाँ मोडल सार्वजनिक भएका छन् भने यामाहाले एमटी १५ र एफजेड बी ३ नयाँ रङमा सार्वजनिक गरेको छ। अन्य सहभागी ब्राण्डमा रोयल इन्फिल्ड र जोनसोनल पुरानै मोडल अटो शोमा प्रदर्शनीमा राखिएको छ।
हिरो बाइक तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नाडामा हिरो जुम १२५, स्प्लेन्डर १२५ बिएस सिक्स, एक्सपल्स २१० र जुम १६० सार्वजनिक गरेको छ। चार मोडलमध्ये जुम १२५ र स्प्लेन्डर १२५ बिएस ६ बिक्रीमा राखिएको छ। जसको मूल्य क्रमशः ३ लाख ९ हजार ९०० र २ लाख ६६ हजार ९०० रूपैयाँ तोकिएको छ। हिरोको स्टलमा एक्सपल्स २१० हेर्न आउनेको रामै्र भिड लागेको छ।

नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यामाहा एमजी १५ र एफजेड भी ३ नयाँ रंङमा सार्वजनिक गरेको छ। कम्पनीले एमटी १५ सेतो र ग्रे तथा एफजेड भी ३ सेतो रंगमा सार्वजनिक गरेको छ। एमटी १५ को दुवै नयाँ रंगको मूल्य ५ लाख ५७ हजार ९०० र एफजेड भी ३ को मूल्य ४ लाख १२ हजार ९०० रूपैयाँ तोकिएको छ। यी दुवै बाइकको मूल्य दुई दिनपछि क्रमशः ५ लाख ६९ हजार ९०० र ४ लाख १५ हजार ९०० हुने कम्पनीले जनाएको छ।
सबै ब्राण्ड नाइमामा सहभागी हुँदा नाडामा अनिच्छुक
एक साताअघि मात्र सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा करिब दुई दर्जन ब्राण्डका दुई पांग्रे सवारी साधन उपस्थित भएका थिए। नाइमा एक्स्पोमा धेरै ब्राण्ड सहभागी हुँदा पनि अवलोकनकर्ताको चासो धेरै मात्रामा देखिएको थियो।
नाडा अटो शोमा ग्राहकको आकर्षणअनुसार ब्राण्डको उपस्थिति नहुँदा दुई पांग्रे ब्राण्डका स्टलमा भिड भएको देखिएको व्यवसायीको भनाइ छ।
अटो शोमा अन्य ब्राण्डको उपस्थित भए पनि हिरो र यामाहाको स्टलमा धेरै भिड देखिएको छ। अहिले हिरो, यामाहा, रोयल इफिल्डका स्टलमा युवाहरू र विद्यार्थीको विशेष चासो देखिन्छ।
