काठमाडौं। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२५’मा उड्ने कारदेखि भिन्टेज कारसम्म हेर्नेको भिड लागेको छ। अटो शोमा सबैको बजेट समेट्दै २० लाखदेखि दुई करोड २० लाख रुपैयाँसम्मका गाडी सार्वजनिक गरेका छन्। बजेट फ्रेण्डली सवारी साधन प्रदर्शनी गरिएकाले अटो शोमा भिड लागेको हो।
विगतका वर्षको अटो शो जस्तै यस वर्षको अटो शोको मुख्य आकर्षण विद्युतीय सवारी साधन (ईभी) रहेका छन्। धेरै कम्पनीहरूले ग्राहकको रोजाई र बजारको मागलाई ध्यानमा राख्दै ह्याच ब्याकदेखि प्रिमियम सेग्मेन्टका गाडीहरु सार्वजनिक गरेका छन्।
नाडामा प्रिमियम सेग्मेन्टमा सबैभन्दा महंगो गाडी सिजी मोटर्सले सार्वजनिक गरेको छ भने ह्याच ब्याक सेग्मेन्टमा सबैभन्दा सस्तो ठाकुर मोटर्सले गरेको छ। सिजीले प्रिमियम सेग्मेन्टमा एक्सपेङ एक्स–९ प्रदर्शनी गरेकाले महंगो गाडी हेर्ने अवलोकनकर्ताको ध्यान खिचेको छ। ह्याचब्याक सेग्मेन्टमा चांगन लुमिन र जिनपेङले खिचेको छ।

अटो शोको मुख्य आकर्षको केन्द्रविन्दु बनेको बिवाइडीको स्टलमा भिडभाड लागिरहेको छ। नाडा अटो शोमा बिवाइडीको नयाँ गाडी एटो–२ सार्वजनिक भएको हो। नाइमा एटो–१ सार्वजनिक गरेको थियो। नयाँ गाडी बिवाइडी एटो–२ को मूल्यले पनि दर्शक आकर्षित भएका छन्। कम मूल्य राखेर गाडी सार्वजनिक गरेपछि बिवाइडीका स्टलमा ग्राहक झुम्मिएका हुन्।
डिपलको स्टलमा सधैँ एकनासको भिड देखिन्छ। यो स्टलमा डिपलका सबै मोडलका गाडीहरु राखिएको छ। डिपलका स्टलमा नयाँ मोडल चांगन लुमिन त्यही सार्वजनिक गरेको हो भने डिपल एस ०५ नाडाको केही समयअघि मात्र सार्वजनिक गरिएको मोडल हो। त्यसका कारण यी दुई मोडलबारे धेरैको चासो रहेको छ।
डोङफेङ नामीको स्टललाई पनि अवलोकनकर्ताको भिड देखिन्छ। कम्पनीले गाडीको मूल्य बजारमा प्रतिस्पर्धी रूपमा राखेको छ। टाटा र सुजुकीको स्टलमा पनि दर्शकको फलो राम्रो देखिएको छ। यी दुवै स्टलमा पेट्रोल र ईभी सेगमेन्टका गाडी छन्। त्यसका कारण पनि उक्त स्टलमा ग्राहकहरूले सबै खाले विकल्प हेर्न पाइरहेका छन्।
नाडामा सिजीले एक्सपेङ एक्स–९ का प्रिमियम कार सार्वजनिक गरेको छ। साइमेक्स इंकले बिवाइडीको एटो–२ सार्वजनिक गर्दा एमएडब्लू वृद्धिले चांगम लुमिन मिनी ईभी र नामी–०६ सार्वजनिक गरेको छ। त्यस्तै, ठाकुर मोटर्सले नयाँ ब्राण्ड जिनपेङ सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङले टाटा सफारी सार्वजनिक गरेको छ।
नाडामा सार्वजनिक भएका नयाँ मोडलका सवारी साधन यस्ता छन्?
बिवाइडी एटो–२
नेपालका लागि बिवाइ्डी गाडीका आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोमा एटो–२ सार्वजनिक गरेको छ। कम्पनीले एटो–२ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँभन्दा निर्धारण गरेको छ। एटो–२ लाई बिवाइडीले आफ्नै ई–प्लेटफर्म ३.० मोडुलर आर्किटेक्चरमा तयार गरेको हो। कम्प्याक्ट डिजाइनमा भए पनि यसमा हाई बनेट लाइन, लोअर पार्टमा प्लास्टिक ट्रिम र आकर्षक स्टाइलिङ दिइएको छ।
बिवाइडी एटो–२ मा ४१.१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री दिइएको छ। यो गाडीले एक पटकको फुल चार्जमा ३१२ किलोमटिर रेन्ज दिनेछ। यसको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ। यसमा १४३० लिटरको बुट स्पेस पाउन सकिन्छ।
यसमा १७ इञ्चको अलोय ह्विल, १०.१ इञ्च वा १२.८ इञ्चको घुम्ने इन्फोटेनमेन्ट स्क्रिन, ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा लगायतका फिचरहरु यसमा छन्।
चांगन लुमिन
एमएडब्लू वृद्धि मोटोकर्पले चांगान लुमिन मिनी ईभी पनि नाडामा सार्वजनिक गरेको छ। कम्पनीले लुमिन मिनी ईभीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ। लुमिन मिनी ईभीमा २८.०८ किलोवाट आवरको सिएटीएलले बनाएको ब्याट्री प्याक दिइएको छ।
यसमा ३५ किलोवाटको मोटर जडान गरिउको छ। यसले सिंगल चार्जमा ३०१ किलोमिटरसम्म रेञ्ज दिने कम्पनीको दाबी छ। यसलाई डिसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ।
‘ईपीए जिरो प्योर इलेक्ट्रिक प्लेटफर्म’मा बनेको लुमिन दुई ढोका भएको ४ जनाले आरामदायी यात्रा गर्न मिल्ने विद्युतीय कार हो। यसको लम्बाई ३२७० एमएम, चौडाई १७०० एमएम र उचाई १५४५ एमएम छ। यसमा १९८० एमएम लामो ह्विलबेस छ।
यसको इन्टेरियारमा थ्री स्पोक स्टेरिङ ह्विल, १०.२५ इञ्चको फ्लोटिङ टचस्क्रिन, रिभर्स क्यामरा, मोबाइल फोन इन्टरकनेक्सन, भोइस कन्ट्रोल जस्ता हाइटेक फिचर पाउन सकिन्छ।
जिनपेङ
जिनपेङ लिङकबक्स ईसी–०१ नाडा अटो शोमा नेपाल भित्रिएको नयाँ ब्राण्ड हो। यो नाडामा सार्वजनिक भएका गाडीमध्ये सबैभन्दा सस्तो गाडी हो। जिनपेङ नेपाली बजारमा ठाकुर मोटर्स प्रा.लि.ले ल्याएको हो।
कम्पनीले नाडामा यसको बेस भेरियन्टको मूल्य १८ लाख ९९ हजार र प्रिमियमको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकेको छ। नाडापछि यसको बिक्री मूल्य बेस भेरियन्टको २४ लाख ९९ हजार र प्रिमियमको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ।
जिनपेङ लिङकबक्स ईसी–०१ को बेस भेरियन्टमा १९.२६ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिइएको छ भने यसको प्रिमियम भेरियन्टमा ३१.४५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। समा ३५ किलोवाटको मोटर रहेको छ।
यसले १०५ एनएम टर्क उत्पन्न गर्दछ। यसको १९.२ किलोवाट आवरको ब्याट्रीले २४० किलोमिटरको रेञ्ज दिने कम्पनीले जनाएको छ। ३१.४५ किलोवाट आवरको ब्याट्रीले ३४० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ।
जिली ईएक्स–५
जिली ग्यालेक्सी नाडा अटो शोमा सार्वजनिक भएको नयाँ ब्राण्ड हो। नेपालका लागि जिलीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले दुई मोडल इएक्स–५ प्रो र जिली इएक्स–५ म्याक्स ‘नाडा अटो शो २०२५’लाई लक्षित गरी नेपाली बजारमा भित्र्याएको हो।
डिमस्मार्ट ग्रुपमार्फत आधिकारिक रुपमा नेपाल ल्याइएको यो मोडल अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय मानिन्छ। विशेषगरी अष्ट्रेलियामा बिक्री हुँदै आएको स्पेक नेपालमा प्रस्तुत गरिएको हो। ग्यालेक्सी इएक्स फाइभ दुई भेरियन्टमा उपलब्ध छ– प्रो र म्याक्स।
कम्पनीले प्रो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने म्याक्स भेरियन्ट ६७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने जनाएको छ। अटो शोको अवसरमा प्रो भेरियन्टमा तीन लाख रुपैयाँ नगद छुट दिइएको छ। छुटपछि यसको मूल्य ५४ लाख ९९ हजारमा पर्छ।
यस्तै, म्याक्स भेरियन्टमा चार लाख रुपैयाँ छुट दिइँदा ६४ लाख ९९ हजारमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। नगद छुटका साथै दुवै भेरियन्ट किन्ने ग्राहकलाई एक तोला सुन र आइफोन १६ प्रो म्याक्स उपहारको रूपमा प्रदान गरिने छ।
यी दुवै मोडलमा १६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसको सिएलटिसी परीक्षणअनुसार गाडीको रेञ्ज ५३० किलोमिटर र डब्लुएलटिपी मापनअनुसार ४३० किलोमिटर रहेको कम्पनीले जनाएको छ। जिलीले शून्यदेखि १०० किलोमिटरको गति ६.९ सेकेण्डमै पूरा गर्न सक्ने क्षमता राख्छ।
जिली इएमएएक्स–५ को बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ। जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्। यसको इन्टेरियरमा १५.४ इञ्चको टच स्क्रिन इन्फोटेन्मेण्ट सिस्टम, १०.२ इञ्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ जस्ता फिचरहरु पाउन सकिन्छ।
जेनयाओ जेवाई
नाडा अटो शोमा सार्वजनिक भएको नयाँ ब्राण्ड जेनयाओ जेवाई सेडान एयर हो। नेपाली बजारमा जेनयाओ जेवाई सेडान एयर एलआरआर मोटर्सले भित्र्याएको हो।
जेवाई सेडान एयर दुई भेरियन्टमा उपलब्ध छ। जेवाई एयर सेडान लाइट ४९.९९ लाख रुपैयाँमा उपलब्ध छ, जसमा ५१ किलोवाट एलएफपी ब्याट्री प्रयोग गरिएको छ। यसले करिब ३५५ किमी डब्लूएलटीसी दायरा प्रदान गर्छ।
यस्तै, जेवाई सेडान एयर अल्ट्रा ६३.९९ लाख रुपैयाँमा उपलब्ध छ। जसमा ६४ किलोवाट एलएफपी ब्याट्री दिइएको छ। यसमा करिब ४४० किमी डब्लूएलटीसी दायरा प्राप्त हुन्छ। दुवै मोडलमा ९९ किलोवाट मोटर र २५० एनएम टर्क दिइएको छ। जसले सशक्त प्रदर्शन सुनिश्चित गर्छ।
एक्स्पेङ एक्स ९
एक्स्पेङ एक्स ९ नाडामा सार्वजनिक भएको सबैभन्दा महंगो मोडलको ईभी हो। चिनियाँ ब्राण्ड एक्सपेङ एक्स ९ को नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्स हो। नाडामा सिजी मोटर्सले सार्वजनिक गरेको एक्स ९ को मूल्य दुई करोड २० लाख रुपैयाँ निर्धारण गरेको छ। यो मोडल नाडामा प्रदर्शनीमा राखिएको र सार्वजनिक भएको गाडीमा सबैभन्दा महंगो मोडल हो।
एक्सपेङ एक्स ९ मा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ। यसको रेञ्ज ५०० किलोमिटरभन्दा धेरै रहेको कम्पनीको दाबी छ। यसमा २३५ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर छ।
एक्सपेङको एक्स ९ एमपीभीको लम्बाई ५२९३ एमएम, चौडाई १९८८ एमएम र उचाई १७८५ एमएम छ। यसको क्याबिनमा रियर प्यासेञ्जरका लागि समेत सिलिङ माउण्टेड २१.४ इञ्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले दिएको छ।
प्यानारोमिक सनरुफ, फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल पाउन सकिन्छ। यसमा अगाडि डबल विसबोन र रियरमा मल्टिलिंक इन्डिपेन्डेन्ड सस्पेनसन छ। यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम रहेको छ।
नामी भिगो ०६
पालका लागि नामी गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नाडा अटो शो २०२५ मा नामी ०६ नेपाली बजारमा सार्वजनिक गरेको नयाँ मोडल हो। कम्पनीले यसअघि नामी ०१ नामबाट ह्याचब्याक कार बिक्री गर्दै आएकोमा अब नयाँ मोडल नामी ०६ एसयूभी नेपाल ल्याएको छ। कम्पनीले यसलाई प्रतिस्पर्धी मूल्यमा सार्वजनिक गरेको छ।
एमएडब्लूले नामी–०६ एसयूभी ई–२ को मूल्य ३७ लाख ९९ हजार र ई–२ प्लसको ४० लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो मूल्य नाडाको लागि मात्र राखिएको कम्पनीले जनाएको छ। यसको बिक्री मूल्य ई–२ भेरियन्टको ३८ लाख ९९ हजार र ई–२ प्लसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।

नामी–०६ ई–१ मा ४४.९४ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसको टप भेरियन्ट ई–२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। नामी–०६ एसयूभीको लम्बाई ४३०६ एमएम, चौडाई १८६८ एमएम र उचाई १६४५ एमएम छ। यसमा २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ।
यसमा १२.८ इञ्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इञ्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, भ्येन्टिलेटेड र मसाज सिट दिइएको छ। एडास फिचरसहित उपलब्ध हुने नामी–०६ एसयूभीमा पानारोमिक सनरुफ, फोल्डेबल सिट, १२८ कलरमा सजिएको एम्बियन्ट लाइट पाउन सकिन्छ।