काठमाडौं। नाडा अटो शो २०२५ मा उत्कृष्ट स्टलको पुरस्कार डिपल र रोयल इनफिल्डले पाएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजित १७ औँ संस्करणको नाडा अटो शो २०२५ मा सवारी साधनमा उत्कृष्ट स्टलको पुरस्कार डिपल र रोयल इनफिल्डले पाएका हुन्।
त्यस्तै, नाडामा कमर्सियलमा डिएफएसकेले उत्कृष्ट पुरस्कार पाउँदा कम्पोनेन्टमा हिक्टोले पाएको छ। यस पटकको नाडा अटो शोमा १३५ वटा स्टल राखिएको थियो। ३० वटा नयाँ सवारी साधन लञ्च गरेको आयोजकको भनाइ छ।
नाडा अटो शो २०२५ मा प्यासेन्जर सेग्मेन्टमा उत्कृष्ट स्टलको पुरस्कार डिपलले पाएको हो। नेपालका लागि डिपल गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धि हो। नाडा अटो शोमा एमएडब्लु वृद्धिले डिपल, लुमिन, नामी, सेरेस र फोटोनलगायतका ब्रान्डहरु प्रदर्शनीमा राखेको थियो।
एमएडब्लुले सवारी साधनहरू आधुनिक शैलीमा प्रस्तुत गर्दै हरित प्रविधिमा आधारित भविष्यको सवारी समाधानलाई प्रभावकारी रूपमा दर्शाएको थियो। कम्पनीको आकर्षक डिजाइन, सुलभ सूचना प्रवाह र पर्यावरणमैत्री सन्देशले दर्शक तथा निर्णायकको ध्यान खिच्न सफल भएको हो।
पछिल्लो समय केही शिथिल देखिएको अटोमोबाइल बजारमा नाडाको यो सफलताले बजार चलायमान भएको संकेत दिएको छ।
त्यस्तै, दुई पांग्रे सवारीको उत्कृष्ट पुरस्कार रोयल इफिल्डले पाएको छ। नेपालका लागि रोयल इफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ हो। त्यसैगरी, रोयल इनफिल्डले आफ्नो क्लासिक मोटरसाइकलको प्रस्तुति अत्यन्तै सृजनात्मक र ऐतिहासिक पृष्ठभूमिसँग जोडेर गरेको थियो। ब्रान्डको पहिचान झल्किने राइडिङ संस्कृतिको प्रतिनिधित्व गर्ने शैलीले स्टललाई दर्शकमाझ लोकप्रिय बनायो।
नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा चिनिने नाडा अटो शो हरेक वर्ष आयोजना हुँदै आएको छ। सवारी साधन ब्रान्ड तथा लुब्रिक्रेन्ट कम्पनीहरूले आफ्ना उत्पादनहरू र प्रविधिहरू प्रदर्शनी गर्ने गरेका छन्।
नाडा अटो शो २०२५ को समापनसँगै नेपाली अटो बजारमा देखिएको उत्साह र नयाँ प्रविधिको माग अझै चुलिएको छ। यस्ता कार्यक्रमले ग्राहक र उत्पादकबीचको सम्बन्ध मजबुत बनाउनुका साथै, समग्र उद्योगलाई प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
यही भदौ ३ गतेदेखि संचालन भएको नाडा अटो शो भदौ ८ गते आइतबार समापन भएको हो। अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। समापन स्वाथ्यमन्त्री प्रदीप पौडेलले गरेका हुन्। यस पटकको अटो शो अपेक्षाभन्दा धेरै राम्रो भएको प्रतिक्रिया व्यवसायीहरुले दिएका छन्।
पछिल्लो समय केही शिथिल देखिएको अटोमोबाइल बजारमा नाडाको यो सफलताले बजार चलायमान भएको संकेत दिएको छ। व्यवसायीका लागि यो एउटा ठूलो उपलब्धि हो। जसले उनीहरूलाई बजार अझै जीवन्त छ भन्ने महसुस गराएको छ।