काठमाडौं। नेपालमा सामान्यतया वर्षात समय साउन-भदौ अटो व्यवसायका लागि ‘लो सिजन’ मानिन्छ। तर, २०८२ सालमा भने परिस्थितिले उल्टो मोड लियो।
अटो व्यवसायीको आन्तरिक तानातानका कारण दुई संस्थाले छुट्टाछुट्टै अटो शो आयोजना गरे। अरु व्यवसायीहरू संगठनगत फुटमा व्यस्त रहँदा, बिवाइडी नेपाल (साइमेक इंक)ले दुवै शोमा सहभागिता जनाएर रणनीतिक रूपमा ठूलो फाइदा उठायो।
गाडी आयातकर्ताले आफूहरु छुट्टै संस्थामा रहने भन्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले साउनको २१ देखि २६ गतेसम्म नाइमा मोबिलिटी एक्स्पोको आयोजना गर्यो।
नाइमाको एक्स्पोको रजगज नसकिँदै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शोको आयोजना भयो।
अटो क्षेत्रकै दुई ठूला एकपछि अर्को शो हुँदा सबैभन्दा बढी फाइदा उपभोक्तालाई पुग्यो। किनकी दुवै अटो शोमा प्रतिस्पर्धात्मक रुपमा सवारी साधानको मूल्य घटाएर बुकिड लिए।
उपभोक्ताभन्दा बढी फाइदा यो पटक बिवाइडी नेपाललाई भयो अर्थात बिवाइडी गाडी बिक्रेता साइमेक इंकले दुवै संस्थालाई चिढ्याएन। दुवै अटो शोमा आफ्नो सहभागिता जनायो।
नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना प्रतिक्षित मोडल एटो १ सार्वजनिक गर्यो। नाडा अटो शोमा एटो २ सार्वजनिक गर्यो।
अटो व्यवसायीहरुको राजनीति तानातानमा अरु व्यवसायीहरु कित्ताकाट गरिरहँदा साइमेक्स इंकले दुवै अटो शोको फाइदा लिएको हो। दुवै संस्थामा समेत आबद्ध छ।
जसका कारण उसलाई दुवै शोमा सहभागी हुन बाटो खुल्यो। दुवै शोमा गरी दुई हजार ४०० गाडी बुकिङ लिनसमेत सफल भयो। जुन यस पटकको अटो बजारको सबैभन्दा ठूलो सफलता मानिएको छ।
यी दुवै मोडल अत्याधुनिक प्रविधि, आकर्षक मूल्य दायरा र उच्च सुरक्षा सुविधाले उपभोक्ता माझ लोकप्रिय बन्न सफल भएका छन्।
साइमेक इंकका प्रतिनिधिका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा १ हजार ४ वटा र नाडा अटो शोमा एक हजार ४०० सय वटा गाडी बुकिङ भएको जनाएको छ।
साइमेक्स इंकमार्फत हाल बिवाइडीको डल्फिन, इ ६, सिलायन ७ र एटो ३ लगायतका मोडल बजारमा बिक्री गरिरहेको छ।
बिवाइडी हाल विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बनेको छ। जसले टेस्लासमेतलाई पछाडि पारेको छ। नेपालमा पनि यसको बजार हिस्सा तीव्र रूपमा बढ्दै गएको छ।
वातावरणमैत्री प्रविधि, लामो ड्राइभिङ रेन्ज र छिटो चार्जिङ क्षमताका कारण बिवाइडी नेपाली उपभोक्ताबीच ‘ट्रस्टेड ईभी ब्रान्ड’ बन्न पुगेको छ।