काठमाडौं। पाँच वर्षको अवरोधपछि भारत र चीनबीच आइतबार प्रत्यक्ष हवाई उडान पुनः सुरु भएका छन्। यो कदम व्यापार र जनता–जनताबीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ। यसले एसियाका दुई दिग्गज राष्ट्रबीच सम्बन्ध पुनर्निर्माणको प्रतीकात्मक सुरुआत गरेको छ।
विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकी यी दुई देशबीच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै आएको छ। सन् २०२० मा हिमाली सीमामा भएको घातक झडपपछि सम्बन्धमा आएको तिक्तता विस्तारै घट्दै गएको छ।
भारत सरकारका अनुसार उडान पुनः सुरु हुनु ‘जनता–जनताबीचको सम्पर्क सुदृढ गर्न’ र ‘द्विपक्षीय आदानप्रदानलाई सामान्यिकरणतर्फ लैजान’ सहयोगी हुनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ५० प्रतिशत करको सजाय लगाइएपछि वासिङ्टनसँगको व्यापारिक सम्बन्धमा तनाव झेलिरहेको भारतको बेइजिङसँगको सम्बन्ध पछिल्ला महिनामा न्यानो भएको देखिएको छ। ट्रम्पका सहयोगीले भारतले मस्कोबाट तेल खरिद गरेर रुसको युक्रेन युद्धलाई परोक्ष रूपमा समर्थन गरेको आरोप लगाएका थिए।
भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक इन्डिगो एयरलाइन्सले चीनका लागि पहिलो दैनिक प्रत्यक्ष उडान सञ्चालन गरेको छ। कोलकाताबाट आइतबार बिहान १० बजे ग्वाङ्झाउका लागि पहिलो उडान प्रस्थान गरेको थियो। राजधानी नयाँदिल्लीबाट साङ्घाई र ग्वाङ्झाउतर्फका थप सेवाहरू नोभेम्बरदेखि सुरु हुने तयारीमा छन्।
“प्रत्यक्ष हवाई सम्पर्कले लजिस्टिक लागत र ट्रान्जिट समय घटाउनेछ”, कोलकातास्थित इन्डियन चेम्बर अफ कमर्सका प्रमुख राजीव सिंहले भने, “यसले व्यापारिक समुदायलाई ठूलो फाइदा पुर्याउने छ।”
कोलकाता सहरको चीनसँग ऐतिहासिक सम्बन्ध छ। जुन ब्रिटिश शासनकालदेखि नै सुरु भएको हो। जतिबेला चिनियाँ आप्रवासीहरू व्यापारीका रूपमा यहाँ आएका थिए। सहरको प्रसिद्ध ‘इन्डो–चिनियाँ फ्युजन’ परिकार त्यही सम्पर्कको स्वादिलो प्रतीक बनेको छ।
भारत र चीनबीच व्यापारिक असन्तुलन अझै ठूलो छ। भारतले चिनियाँ कच्चा मालमा ठूलो निर्भरता राखेको छ। जसले औद्योगिक उत्पादन र निर्यात वृद्धिलाई असर गरेको छ। गत वर्ष रुस तथा यस वर्ष अगस्टमा चीनमा भएका उच्चस्तरीय बैठकले दुई देशबीच मेलमिलापको वातावरण सिर्जना गरेको बताइन्छ।
भारतको वाणिज्य मन्त्रालयका अनुसार गत महिना चीनबाट आयात ११ अर्ब डलरभन्दा बढी पुगेको छ। यो गत वर्षको तुलनामा १६ प्रतिशत वृद्धि हो। त्यही अवधिमा भारतबाट चीनमा निर्यात एक अर्ब ४७ करोड डलर पुगेको छ। यसमा वार्षिक रुपमा करिब ३४ प्रतिशत वृद्धिदर देखिएको छ।