काठमाडौं। अमेरिका-चीनबीचको व्यापार युद्ध रोकिने गरी वार्ता भएको छ। योसँगै लगानीकर्ताले देखाएको हर्षोल्लासले सोमबार एसियाली सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ।
दुई ठूलो अर्थतन्त्र भएको अमेरिमा र चीनको वार्ता सफलतालाई विश्वको सबैभन्दा ठूलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको संकेतका रुपमा लिइएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा शतप्रतिशत भन्सार शुल्क लगाउने योजना ‘टेबलबाट हटाइएको’ बताए।
बेसेन्टले एबिसी न्युजसँगको अन्तर्वार्तामा भने, ‘शुल्क हटाइने छ।’ उनका अनुसार चीनले दुर्लभ पृथ्वी खनिज (रियल अर्थ)को निर्यात नियन्त्रण ढिलाइ गर्न र ‘पर्याप्त मात्रामा’ अमेरिकी सोयाबिन खरिद गर्न सहमति जनाएको छ।
चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले वार्तालाई ‘स्पष्ट, गहिरो र रचनात्मक’ बताउँदै भन्सार शुल्क, निर्यात नियन्त्रण र फेन्टानिल नियन्त्रण सहयोगका विषयमा ‘प्रारम्भिक सहमति’मा पुगेको जानकारी दिए।
यो वार्तासँगै अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबीच यसै हप्ता दक्षिण कोरियामा आयोजना हुने एसिया-प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुन लागेको भेटका लागि मार्ग प्रशस्त भएको छ। ट्रम्पको दोस्रो कार्यकालपछि दुई नेताबीच हुने यो पहिलो भेट हो।
टेक कम्पनी सामसुङको सेयर तीन प्रतिशत र चिप निर्माता एसके हाइनिक्सको सेयर पाँच प्रतिशत नजिकले बढ्यो।
दुई देशको वार्तासँगै टोकियो सेयर बजार सबैभन्दा बढी वृद्धि भएको छ। निक्केई २२५ सूचकांक दुई प्रतिशतभन्दा बढीले उकालो लाग्दै पहिलो पटक ५० हजार अंकमाथि पुगेको छ।
प्रधानमन्त्री साने तकाइचीको प्रो-उत्प्रेरक (प्रो-स्टिमुलस) नीति र कमजोर येनले निर्यातमुखी उद्योगलाई बलियो फाइदा पुर्याएको विश्लेषकहरूले बताएका छन्। उनले यस आर्थिक वर्षमै रक्षा बजेटलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को दुई प्रतिशतमा पुर्याउने घोषणा गरे। यो पहिले तय गरिएको समयभन्दा दुई वर्ष अघि हो।
एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, ‘निक्केईको यो उछाल कुनै संयोग होइन, यो जापानको आर्थिक पुनर्जागरणको मूल्य संकेत हो।’
सियोल बजार पनि दुई प्रतिशतभन्दा बढीले उक्लिँदै पहिलो पटक चार हजार अंकमाथि पुगेर बन्द भयो। टेक कम्पनी सामसुङको सेयर तीन प्रतिशत र चिप निर्माता एसके हाइनिक्सको सेयर पाँच प्रतिशत नजिकले बढ्यो।
हङकङ, साङ्घाई, ताइपेई, सिङ्गापुर र सिड्नी बजारमा पनि सकारात्मक कारोबार देखियो। यद्यपि, जकार्ता र मनिला बजारमा सानो गिरावट आएको छ।
युरोपेली बजारमा लन्डन र फ्रेङ्कफर्ट सकारात्मक हुँदै खुले। पेरिस बजार रातोमा झर्यो। अमेरिकाको हालको मुद्रास्फीति तथ्यांकले फेडरल रिजर्भबाट ब्याजदर कटौती हुने अपेक्षालाई बल दिँदा वाल स्ट्रिटमा पनि गत शुक्रबार सकारात्मक बन्द भएको थियो।
राष्ट्रपति ट्रम्पले क्वालालम्पुरमा पत्रकारसँग भनेका छन्, ‘हामी सम्झौतामा पुग्नेमा विश्वस्त छौँ। चीन पनि चाहन्छ। हामी पनि चाहन्छौँ।’
पेपरस्टोनका विश्लेषक माइकल ब्राउनका अनुसार यो वार्ताले यथास्थितिको पुनःस्थापना र व्यापार युद्धमा अस्थायी युद्ध विराम ल्याएको हो। यद्यपि यो केवल वार्ताको रणनीति पनि हुन सक्छ।
गत अक्टोबरमा राष्ट्रपति ट्रम्पले चीनले दुर्लभ पृथ्वी निर्यात नियन्त्रण विस्तार गरेपछि ठूलो कर वृद्धि गर्ने चेतावनी दिएका थिए। यसलाई वासिङ्टनले ‘आर्थिक जबरजस्ती’ भनेको थियो।
राष्ट्रपति ट्रम्प पाँच दिने एसिया भ्रमणमा छन्। यसमा मलेसिया, जापान र दक्षिण कोरिया प्रमुख गन्तव्य रहेका छन्। हरेक देशमा व्यापार सम्झौता एजेन्डाको शीर्ष विन्दुमा छन्।
अमेरिकी तामाको मूल्य पनि व्यापार सम्झौताको आशावादमा वृद्धि भएको छ। यसले विश्वव्यापी मागमा सुधारको संकेत गरेको छ। यो उपलब्धि महिनौँदेखि बढ्दै गएको तनावपछि आएको हो।
गत अक्टोबरमा राष्ट्रपति ट्रम्पले चीनले दुर्लभ पृथ्वी निर्यात नियन्त्रण विस्तार गरेपछि ठूलो कर वृद्धि गर्ने चेतावनी दिएका थिए। यसलाई वासिङ्टनले ‘आर्थिक जबरजस्ती’ भनेको थियो।
सम्झौताको प्रारुपअनुसार चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यात प्रतिबन्धलाई ‘कम्तीमा एक वर्षका लागि स्थगित गर्ने’ र त्यसपछि पुनः समीक्षा गर्ने सहमति जनाएको अर्थमन्त्री बेसेन्टले जानकारी दिए।