काठमाडौं। एसियाली मुलुकको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच दक्षिण कोरियाको बुसानमा भेटवार्ता भएको छ। व्यस्त तालिकाका कारण दुई नेताहरूले बुसान विमानस्थलमै वार्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
एक दिनअघि नै एसिया भ्रमण छोट्याएर अमेरिका फर्किन निर्णय गरेका ट्रम्प र सीबीच समयको दबाब एवं सुरक्षा जोखिमबाट बच्न विमानस्थलमै डेढ घन्टा बढी भेटवार्ता भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। दुई नेताबीच ६ वर्षपछि प्रत्यक्ष भेट भएको हो।
बैठकअघि ट्रम्पले चीनसँग व्यापार सम्झौतामा हस्ताक्षर हुन सक्ने बताएका थिए। तर, बैठकमा भएका निर्णय हालसम्म सार्वजनिक गरिएको छैन।

वार्तामा ट्रम्प, विदेशमन्त्री मार्को रुबियो, व्यापार प्रतिनिधि जेमिसन ग्रियर, अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक, चीफ अफ स्टाफ सुजी विल्स र चीनस्थित अमेरिकी राजदूत डेभिड पड्र्यु सहभागी थिए। चीनबाट सी, विदेशमन्त्री वाङ यी, उप विदेशमन्त्री मा झाओक्सु, उप–प्रधानमन्त्री हे लिफेङ, वाणिज्यमन्त्री वाङ वेन्टाओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ सान्जी सहभागी थिए।
वार्तामा चिनियाँ राष्ट्रपति सीले ट्रम्पको ‘शान्ति र युद्ध रोक्ने प्रयास’ को प्रशंसा गरेको बताइएको छ। उनले भने, ‘चीन र अमेरिका धेरै विषयमा सहमत नहुन सक्छन्, तर संवाद र सहकार्य दुवै देशका लागि अपरिहार्य छन्। चीनको विकास ट्रम्पको दृष्टिकोणसँग मेल खान्छ।’ सीले चीनको विकास ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ को दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको पनि बताए।
राष्ट्रपति ट्रम्पले सीसँगको भेट सफल भएको प्रतिक्रिया दिएका छन्। उनले दुई नेताहरू धेरै महत्त्वपूर्ण मुद्दामा सहमतिमा पुगेको दाबी गरेका छन्। ट्रम्पले विशेषगरी भटमास खरिदलगायत धेरै मुद्दामा सहमति नजिक पुगिएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पको भन्सार शुल्कका कारण चीनले मे महिनामा अमेरिकी भटमास किन्न बन्द गरेको थियो।
ट्रम्पले समकक्षी सीलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनबाट छिमेकी युक्रेनमाथि हुँदै आएको अवैध आक्रमण रोक्न सुझाएको पनि बताइएको छ। एसिया भ्रमण सकेर ट्रम्प एयर फोर्स वनमार्फत अमेरिका फर्किएका छन्।
यसैबीच ट्रम्प र सीबीचको भेटवार्ता सुरु हुनेबित्तिकै चिनियाँ सेयर बजारमा हरियाली छाएको छ। चीनको मुख्य सेयर बजार सांघाई कम्पोजिट इन्डेक्स प्रारम्भिक गिरावटबाट सुधार भएर ०.२ प्रतिशतले बढ्दै ४,०२५.७० मा पुगेको छ, जुन सन् २०१५ पछिको उच्च बिन्दु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।–एजेन्सी