काठमाडौं। उइगुर मुस्लिमहरूमाथि गम्भीर मानवअधिकार उल्लंघनको आरोप लागिरहेको बेला चीनको सिनजियाङ क्षेत्र तीव्र गतिमा पर्यटन गन्तव्यमा परिणत भइरहेको छ। बेइजिङले अर्बौं डलर लगानी गरेर यस विवादास्पद क्षेत्रलाई ‘पर्यटन स्वर्ग’ बनाउने अभियान चलाएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार, सन् २०२४ मा सिनजियाङले करिब ३० करोड पर्यटक भित्र्याएको छ, जुन सन् २०१८ को तुलनामा दोब्बरभन्दा बढी हो। पर्यटनबाट ३६० अर्ब युआन (करिब ५१ अर्ब अमेरिकी डलर) राजस्व आर्जन भएको सरकारले जनाएको छ।
१० लाख उइगुर थुनिएको आरोप
संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले चीनमाथि १० लाखभन्दा बढी उइगुर मुस्लिमहरूलाई "पुन:शिक्षा शिविर"मा थुनेको, यौन दुर्व्यवहार र जबरजस्ती नसबन्दी गरेको लगायतका गम्भीर आरोप लगाएका छन्।
ह्युमन राइट्स वाचको प्रतिवेदनअनुसार, सन् २००९ र २०२३ बीच सिनजियाङका सयौं गाउँको नाम जुन उइगुरहरूको धर्म, इतिहास र संस्कृतिसँग सम्बन्धित थिए। इस्लामको अभ्यास रोक्न मस्जिदहरू बन्द, नष्ट र पुन:प्रयोग गरिएको पनि आरोप छ।
चीनले भने यी सबै आरोप अस्वीकार गर्दै आएको छ।
सरकारी लगानीले बदलियो दृश्य
राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले सिनजियाङमा ठूलो लगानी गरेको छ। हिल्टन र मेरियट जस्ता करिब २०० अन्तर्राष्ट्रिय होटल सञ्चालन वा निर्माणाधीन अवस्थामा छन्।
टेलिभिजन नाटक निर्माण र पूर्वाधार विकासमा अर्बौं खर्च भएको छ। बेइजिङको लक्ष्य सन् २०३० सम्ममा वार्षिक ४० करोड पर्यटक भित्र्याउने र १ ट्रिलियन युआन राजस्व उठाउने रहेको छ।
पर्यटकको अनुभव विवादास्पद
सिंगापुरी पर्यटक सन शेङयाओले सिनजियाङको प्राकृतिक सौन्दर्यको प्रशंसा गरे। ‘दृश्यहरू न्युजिल्यान्ड, स्विट्जरल्यान्ड र मंगोलिया सबै एकैठाउँमा प्याक गरेजस्तो थियो,’ उनले भने।
तर, सिंगापुरकी अर्की पर्यटक थेनमोली सिल्भाडोरीको अनुभव फरक छ। ’हामी उइगुर संस्कृतिबारे जिज्ञासु थियौं तर निराश भयौं,’ हिजाब लगाएर गएकी उनले भनिन्, "उइगुर विक्रेताहरूले हामी स्वतन्त्र रूपमा हिजाब लगाउन पाएकोमा ईर्ष्या व्यक्त गरे।"
पर्यटकहरूले पुलिस चेकपोइन्ट र सुरक्षा क्यामेराको व्यापक उपस्थिति रहेको बताएका छन्। विदेशीहरूलाई तोकिएका होटलमा मात्र बस्न अनुमति दिइन्छ।
-1762069210.jpg)
संस्कृति संरक्षण कि विनाश?
सन् २०१० को दशकमा सिनजियाङमा बसेका लेखक जोश समर्सले कश्गर शहरको पुरानो सहर ‘पूर्ण रूपमा भत्काएर पुनर्निर्माण गरिएको र यसले उइगुर संस्कृतिलाई प्रतिबिम्बित गर्दैन’ भन्ने आरोप लगाएका छन्।
उइगुर-अमेरिकी कार्यकर्ता इराडे कश्गरीले भनिन्, ‘कम्युनिस्ट पार्टीले उइगुर मानिसहरूलाई पर्यटक आकर्षणको रूपमा प्रस्तुत गरेर आफ्नै संस्करणको उइगुर संस्कृति बेचिरहेको छ।’
सन् १९९८ मा सिनजियाङ छोडेकी कश्गरीले थपिन्, ’पर्यटकहरूले त्यहाँ अनुभव गरेको सिनजियाङको सेतो धोइएको संस्करण हो। हाम्रो सक्रियताको कारण म जस्ता मानिसहरू कहिल्यै फर्कन सक्दैनौं। यो मेरो मातृभूमि हो।’
प्रचारमा सरकारी भूमिका
चीन सरकारले सिनजियाङलाई ‘विदेशी’ र ‘रहस्यमय’ गन्तव्यको रूपमा प्रचार गरिरहेको छ। सरकारी वित्त पोषणमा टेलिभिजन नाटक निर्माण र विदेशी प्रभावकारहरूमार्फत सकारात्मक सामग्री प्रवर्द्धन गरिएको छ।
चिनियाँ सोशल मिडिया रेडनोट र वेइबोमा सिनजियाङको सौन्दर्यको प्रशंसामा भरिएका पोस्टहरू छन् तर मानवअधिकार उल्लंघनको कुनै चर्चा छैन।
अन्तर्राष्ट्रिय मिडिया र पर्यवेक्षकहरूका लागि यो क्षेत्र धेरै हदसम्म बन्द रहेको छ भने निर्वासनमा रहेका उइगुरहरूले आफ्ना आफन्त बेपत्ता भएको र त्रसित रहेको बताइरहेका छन्।

स्रोत: बीबीसी