काठमाडौं। अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको छ। यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पकै पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ।
कंग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न असफल भएपछि सरकारी कोष रोकिँदै आएको छ। यसले संघीय निकायहरूदेखि सर्वसाधारणको दैनिकीसम्म गम्भिर असर पारेको छ।
सरकारी कार्यक्रम ठप्प हुँदा लाखौँ अमेरिकीलाई अत्यावश्यक सामान पाउन कठिनाइ भइरहेको छ। हाल १४ लाखभन्दा बढी संघीय कर्मचारीदेखि एयर ट्राफिक कन्ट्रोलर, राष्ट्रिय पार्कका वार्डन बिना तलब काम गरिरहेका छन्। काममा नगएकाहरू जबरजस्ती बिदामा बस्न बाध्य भएका छन्।
मध्यरातमा रेकर्ड तोडिनुअघि ट्रम्प प्रशासनले आगामी सात दिनभित्र हवाई सेवा पूर्ण रुपमा अव्यवस्थित हुन सक्ने चेतावनी दिएको थियो। कर्मचारीको अभावले देशका प्रमुख विमानस्थलमा लामो पंक्ति र सम्भावित उडान रद्द हुने स्थिति देखिएको छ।
‘यदि, डेमोक्रेटले अहिले समाधान खोजेनन् भने एक हप्ताभित्र देशव्यापी हवाई अराजकता देख्न सकिने छ,’ यातायात मन्त्री सीन डफीले फिलाडेल्फियामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीसँग आवश्यक संख्यामा नियन्त्रक नभए हवाई क्षेत्रका केही भागहरू बन्द गर्नुपर्ला।’
अमेरिकी अटोमोबाइल एसोसिएसन (एएए)का अनुसार यस वर्षको थ्याङ्क्सगिभिङमा ५८ लाख नागरिकले हवाई यात्रा गर्ने अनुमान छ। जुन नयाँ रेकर्ड हुनेछ। तर, ६० हजारभन्दा बढी हवाई यातायात नियन्त्रक र ट्रान्सपोर्ट सुरक्षा अधिकारी तलब बिना काममा निरन्तर खटिँदा सेवा प्रभावित हुने जोखिम बढेको छ।
यसअघि सन् २०१९ मा भएको शटडाउन अन्त्य गराउन हवाई कर्मचारीको सामूहिक बिरामी बिदा लिने निर्णायक बनेको थियो। शटडाउनको मूल कारण स्वास्थ्य सेवासम्बन्धी खर्च हो।
डेमोक्रेट लाखौँ अमेरिकीका लागि स्वास्थ्य बिमामा दिइँदै आएको अनुदानको म्याद सकिएपछि मात्र बजेटमा सहमति जनाउने अडानमा छन्। तर, रिपब्लिकन स्वास्थ्य विषयलाई पछि सम्बोधन गर्ने शर्तमा अहिले सरकारी कार्य पुनः सुरु गर्न दबाब दिइरहेका छन्।
डेमोक्रेटले अमेरिकी नागरिकले नयाँ वर्षका लागि स्वास्थ्य बिमा लिन खोज्दा बढ्दो प्रिमियमको सामना गरेपछि रिपब्लिकन सम्झौता गर्न बाध्य हुने छन् भन्ने आशा गरेका छन्। तर, राष्ट्रपति ट्रम्पले अझै अडिग देखिँदै आएका छन्। सिबिएस न्युजसँगको अन्तर्वार्तामा उनले भने, ‘म जबरजस्ती स्वीकार गर्ने पक्षमा छैन।’
शटडाउनलाई आफ्ना राजनीतिक विरोधीलाई दबाबमा राख्ने माध्यम बनाउने ट्रम्प प्रशासनले संघीय कामदारलाई तलब नदिने चेतावनी जारी गरेको छ। साथै, प्रगतिशील नीतिमा कटौती गर्न खोजेको आरोप पनि लागेको छ।
अदालतले केही कदम रोकेका छन्। तर, प्रशासनले ‘सप्लिमेन्टल न्युट्रिशन असिस्टेन्स प्रोग्राम’ (एसएनएपी)अन्तर्गत चार करोड २० लाख अमेरिकीलाई किराना किन्न सहयोग गर्ने कोष रोक्ने धम्की दोहोर्याएको छ।
तर, ह्वाइट हाउसले पछि स्पष्टीकरण दिँदै भनेको छ, ‘सरकार आफ्नो कानुनी दायित्वको पूर्ण रुपमा पालना गर्दै छ। सकेसम्म चाँडो आंशिक सहायता वितरण गर्ने प्रयासमा छ।”