काठमाडौं। उद्योगी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सिंगो मन्त्रिपरिषद् सदस्यसहित उद्यमी, व्यवसायी, अर्थविद्लगायतको सहभागितामा दोस्रो शृंखलाको निरन्तरतास्वरुप ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ काठमाडौंमा आयोजना गर्दै छ।
देशको समग्र आर्थिक अवस्था, जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र आगामी आर्थिक कार्यदिशा तय गर्ने उद्देश्यले महासंघले सरकार, उद्यमी, राजनीतिक नेतृत्वको सहभागितामा दोस्रो शृंखलाको बहस आयोजना गर्न लागेको हो।
महासंघको आर्थिक बहस २.० मा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि र अर्थमन्त्री रामेश्वरप्रसाद खनाल सहभागी कार्यक्रममा मन्त्रिपरिषद् सदस्यसमेत सहभागी हुनेछन्।
बहस कार्यक्रममा मुख्यसचिव, राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिव, नेपालस्थित विभिन्न देशका राजदूत, विकास साझेदार र नियोगका प्रमुख, निजी क्षेत्रका संघ–संस्थाका पदाधिकारीसमेत सहभागी हुने महासंघले जनाएको छ।
महासंघले यसअघि २०८० पहिलोपटक ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गरेको थियो। त्यततिबेलाको सुझाव र निष्कर्षका आधारमा यसपटकको दोस्रो शृंखलाले नीति, प्रशासन र निजी क्षेत्रबीचको समन्वयलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको महासंघले बताएको छ।