त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सुटकेस तान्दै बाहिर निस्कन्छन् एक भारतीय तीर्थयात्री। उनको आँखामा हर्ष छ तर, अनुहारमा अलमल पनि। काउन्टरमा पुगेर उनी सोध्छन्- मुक्तिनाथ पुग्न कस्तो बाटो छ? कसरी जाने? कसलाई लिएर जाने? यस्तै-यस्तै प्रश्न दैनिक सयौं तीर्थयात्रीले यहाँ दोहोर्याइरहेका हुन्छन्।
नेपाल धार्मिक आस्थाको धरोहर हो। तराईदेखि हिमालसम्म असंख्य धार्मिक स्थल छन्, जसको आफ्नै कथा र विशेषता छन्। पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू, मुक्तिनाथ, पाथिभरा, बराहक्षेत्र, जनकपुर, लुम्बिनी। यी नाम मात्र उच्चारण गर्दा पनि नेपाल धार्मिक पर्यटनका लागि कति समृद्ध छ भन्ने प्रस्ट हुन्छ।
तर, समस्या यहीँबाट सुरु हुन्छ। आस्था जति प्रबल छ, व्यवस्थापन त्यति बलियो छैन। तीर्थयात्री आउँछन्, दर्शन गर्छन् तर, धार्मिक स्थलको गहिरो इतिहास, पौराणिक कथा र आध्यात्मिक महत्त्व नजानी फर्कनुपर्ने बाध्यता छ। किनभने, उनीहरूलाई नेपालका धार्मिक क्षेत्रको महत्व बुझाउन/सुनाउन सक्ने दक्ष धार्मिक टुर गाइड अभाव छ।
महत्त्व बुझाउने गाइड अभाव
काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले धार्मिक स्थलका महत्त्व बुझाउने व्यक्ति (स्टोरी टेलिङ गर्ने) नहुँदा नेपाली धार्मिक पर्यटनले व्यापकता पाउन नसकेको बताउँछन्। ‘विदेशमा सम्पदा र धार्मिक स्थलको महत्त्व बुझाउने टुर गाइड पर्याप्त हुन्छन्। उनीहरूले एउटै पुरातत्त्वबारे घन्टौँ बताउन सक्छन्। त्यसैकारण समय र बसाइँ अवधिसमेत लम्बिँदै जान्छ,’ अग्रवाल भन्छन्।
विदेशमा नभएका धार्मिक स्थल र सांस्कृतिक सम्पदा नेपालमा छन्। त्यस्ता सम्पत्तिबारे पर्यटकलाई बेचेर मुलुकले मनग्य आम्दानी गर्न सकेको छैन।
उनको भनाइमा गहिरो सत्य छ। नेपालमा पर्याप्त धार्मिक सम्पदा छन्। तर, तिनका बारे विस्तृत जानकारी दिने व्यक्ति नै छैनन्। परिणामस्वरूप विदेशी तीर्थयात्रीले चाहे जसरी ती सम्पदाको विस्तृत जानकारी प्राप्त गर्न सकेका छैनन्। नेपालमा दर्जनौं धाम छन्। तर, ती धामको महत्त्वबारे दुई घन्टा पनि बताउन सक्ने दक्ष जनशक्ति नेपालमा छैन।
कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले यस विषयलाई अझ स्पष्ट पार्दै अहिले पर्यटक आँखाले हेर्ने मात्र होइन, सुन्न र बुझ्न चाहना राख्ने धेरै आउन थालेको सुनाउँछन्। ‘अहिले धेरै विदेशी धार्मिक एवं सांस्कृतिक सम्पदाबारे जानकारी लिने, त्यसको अनुसन्धान गर्ने र त्यहाँका भित्री रहस्यमा चासो राख्नेको संख्या बढेको छ। तर, हामीसँग अहिले त्यसरी कथा भन्नेहरूको संख्या निकै कम छ,’ उनले भने।
विदेशमा नभएका धार्मिक स्थल र सांस्कृतिक सम्पदा नेपालमा छन्। त्यस्ता सम्पत्तिबारे पर्यटकलाई बेचेर मुलुकले मनग्य आम्दानी गर्न सकेको छैन। विदेशीलाई नेपालको सांस्कृतिक, प्राकृतिक र धार्मिक कथा प्रस्तुत गर्न सकिएको छैन। सांस्कृतिक सम्पदा मात्र होइन, नेपाल विश्वमा कहीँं नहुने जात्रा र पर्वका लागि प्रख्यात छ। त्यसलाई पनि बेच्न नसकेको पर्यटन व्यवसायी भनाइ छ।
वसन्तपुरको कुमारी घर
‘काठमाडौंको इन्द्रजात्रा, मच्छिन्द्रनाथ जात्रा, गाईजात्रा, रामजानकी विवाह, शिवरात्रि, तेमालजात्रालगायतका ऐतिहासिक जात्राको विश्वसामु प्रसार-प्रचार गर्नुपर्छ,’ प्रमुख कार्यकारी अधिकृत अमात्य भन्छन्, ‘विश्व बजारलाई अंग्रेजीसहित विभिन्न भाषामा ती जात्राको महत्त्वबारे प्रत्यक्ष जानकारी दिने व्यवस्था गराउन आवश्यक छ। संसारभर एकपटक प्रचार-प्रसार गर्न सकियो भने अर्काे वर्षदेखि त्यहाँका नागरिक नेपालमा सोही जात्रा हेर्न आउन इच्छुक हुन्छन्।’
यो अवधारणा विश्वका धेरै देशमा सफल भइसकेको छ। स्पेनको ला टोमाटिना, ब्राजिलको रियो कार्निभल वा भारतको कुम्भ मेला। यी सबै प्रचार-प्रसार र डिजिटल प्रचारबाट विश्वव्यापी पर्यटक आकर्षित गर्न सफल भएका छन्।
धार्मिक टुर गाइडको वास्तविकता
नेपालमा अहिले धार्मिक टुर गाइड पर्याप्त मात्रामा छैनन्। हरेक ठाउँमा तालिम दिन आवश्यक छ। राष्ट्रिय स्तरदेखि स्थानीय तहसम्म रहेका धार्मिक स्थलबारे पर्यटकलाई बुझाउन सक्ने खाले जनशक्ति उत्पादन गर्न अति आवश्यक छ। स्थानीय स्तरमा टुर गाइड उत्पादन गर्न सके सम्बन्धित क्षेत्रका धार्मिक स्थलबारे जानकारी गराउन सकिन्छ र धेरै रोजगारी सिर्जना हुन सक्छ। धार्मिक क्षेत्रसँग सम्बद्ध पुस्तक बनाउन पनि आवश्यक छ।
तालिम आवश्यकता र प्राथमिकता
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अधिकांश धार्मिक क्षेत्रमा धार्मिक पर्यटकभन्दा तीर्थयात्री धेरै आउने भएकाले ती स्थानको धार्मिक महत्त्व, विशेषता र वैभवताबारे जानकारी दिन आवश्यक जनशक्ति तयार पारिरहेको जानकारी दिए।
धार्मिक स्थलहरूमा स्थानीय टुर गाइड अझ धार्मिक स्थलका बारेमा पूर्ण जानकार भएका व्यक्तिलाई प्रशिक्षण गराउन नसक्दा जति जानकारी पर्यटकले पाउनुपर्ने हो, त्यति पाउन सकिरहेका छैनन्।
‘नेपाल आउने पर्यटकमध्ये धेरैले तीर्थाटन पनि गर्ने र ती ठाउँमा गएर रमाउने पनि भएकाले त्यस्ता खाले गन्तव्यमा स्थानीय निकायसँगको समन्वयमा सूचना प्रवाह गर्न आवश्यक तयारी थालिएको छ,’ सीईओ जोशीले भने।
धार्मिक स्थलहरूमा स्थानीय टुर गाइड अझ धार्मिक स्थलका बारेमा पूर्ण जानकार भएका व्यक्तिलाई प्रशिक्षण गराउन नसक्दा जति जानकारी पर्यटकले पाउनुपर्ने हो, त्यति पाउन सकिरहेका छैनन्। केन्द्रस्तरमा तालिम भए पनि तल्लो तहमा हुन नसकेकाले जनशक्ति तयार पार्न बोर्डले स्थानीय तहसँग समन्वय गरी प्रमुख धार्मिक स्थलबारे जानकारी दिन त्यहीँ नै टुर गाइड उत्पादन तयारी थालेको जोशीले बताए।
पशुपतिनाथ मन्दिर
विगतमा पनि नाथम (नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट)सँगको सहकार्यमा विभिन्न धार्मिक स्थलबारे जानकारी दिने उद्देश्यसहित तालिम दिइने गरे पनि पर्याप्त नहुँदा स्थानीयसँग नियमित अभियान चलाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
कहाँ-कहाँ चाहिन्छ टुर गाइड
काठमाडौंभित्रका सम्पदामा टुर गाइडका लाइसेन्स लिइएका छन्। टुर गाइडको तालिम दिने बेला सबैभन्दा बढी उपत्यकाभित्रका धार्मिक सम्पदाको स्थलगत निरीक्षण र अवलोकन गर्ने भएकाले काठमाडौंमा खासै समस्या नभए पनि नयाँ र उदीयमान धार्मिक गन्तव्यमा भने समस्या रहेको टुर गाइडको अनुभव छ।
प्राथमिकताका क्षेत्र
- कीर्तिपुर, साँखु, थिमिलगायत ठाउँमा टुर गाइड आवश्यक
- जनकपुर, लुम्बिनी, खप्तड-सम्भावनायुक्त क्षेत्र
- मुक्तिनाथ र पाथिभरा-स्थानीय धार्मिक स्थल
- बराहक्षेत्र-पौराणिक महत्त्वको वैष्णव तीर्थ
रोजगारी र आर्थिक उपार्जनको स्रोत
लामो समयदेखि टुर गाइडका रूपमा काम गरिरहेका दीपक गिरी ट्रेकिङ र पर्वतारोहणपछिको सबैभन्दा बढी आम्दानी हुने क्षेत्रको रूपमा धार्मिक टुर गाइड रहेको बताउँछन्। धार्मिक टुर गाइड छुट्टै व्यवस्था नगरिए पनि सिटी टुर गर्नेहरूले नै धार्मिक स्थलमा समेत पर्यटकलाई घुमाउने गरेको र धार्मिक क्षेत्रलाई मात्र ‘फोकस’ गर्न सके अझ धेरै आम्दानी लिन सकिने उनको बुझाइ छ।
अहिले धार्मिक टुर अर्थात् सिटी टुर गर्नेहरूले एक सिजनमा न्यूनतम ५ देखि ७ लाखसम्म आम्दानी गरेको गिरीको भनाइ छ। ‘अहिले सिटी टुरकै रूपमा धार्मिक क्षेत्रको पनि भ्रमण गर्ने गरिन्छ,’ टुर गाइड गिरीले भने, ‘त्यस क्षेत्रकै मात्र यात्रा गराउने र त्यहाँको मात्र जानकारी दिन सक्ने भए व्यक्तिगत रूपमा राम्रो आम्दानी हुने र रोजगारी सिर्जना धेरै हुने क्षेत्रको रूपमा यसलाई लिन सकिन्छ।’
ठूलो हिस्सा भारतीय पर्यटक
नेपालमा सबैभन्दा धेरै धार्मिक पर्यटक भारतबाट आउने गर्छन्। दक्षिण भारतदेखि गुजरातसम्मका भक्तजनको लहर यहाँका तीर्थमा देखिन्छ। मुक्तिनाथ र पाथिभरा देखेर उनीहरू मोहित हुन्छन्। तर, उनीहरूलाई चुनौती एउटै हुन्छ-पूर्वाधार कमी र मार्गदर्शन अभाव।
लुम्बिनी
सन् २०२५ को आठ महिना (सेप्टेम्बर)सम्म हवाई मार्गबाट मात्र २ लाख ३३ हजार ९४८ भारतीय पर्यटक आएका थिए। तीमध्ये ६० देखि ७० प्रतिशत धार्मिक पर्यटक नै रहेको पर्यटन बोर्डको पोखराका निर्देशक मणिराज लामिछाने बताउँछन्।
स्थानीय तहले धार्मिक टुर गाइडको रूपमा नाथमसँग मिलेर तालिम दिन सके स्थानीय स्तरमै रोजगारी सिर्जना मात्र होइन, आम्दानीको गतिलो स्रोतसमेत धार्मिक स्थल बनाउन सकिने भएकाले त्यसतर्फ सोच्न आवश्यक रहेको उनले बताए।
गाइडको अधुरो अनुभव
होटल एसोसिएसन अफ नेपाल (हान) का पूर्वअध्यक्ष योगेन्द्र शाक्य धार्मिक पर्यटनको अथाह सम्भावना रहँदारहँदै पनि सम्बन्धित क्षेत्रसँग विज्ञता प्राप्त टुर गाइड नहुँदा अधुरो र अपूरो सूचना लिएर धेरै पर्यटक फर्किने गरेको बताउँछन्।
पर्यटकले धार्मिक क्षेत्रबारे धेरै जानकारी लिन चाहँदाचाहँदै पनि पर्याप्त ज्ञान अभाव र त्यसलाई प्राथमिकतामा नदिएका कारणले अधुरो र अपूरो जानकारी लिएर फर्किनुपरेको गुनासो गर्ने गरेको शाक्यको भनाइ छ।
‘पर्यटकले तीर्थ हेरेर मात्र सन्तुष्टि पाउँदैनन्। उनीहरू कथा सुन्न चाहन्छन्-मुक्तिनाथमा १०८ धारा किन छन्?, पाथिभरामा किन इच्छा पूरा हुन्छ भनिन्छ?, जनकपुरमा राम-जानकी विवाहको कथाले कसरी आस्था बोकेको छ? भन्ने प्रश्नको उत्तर खोज्छन्। तर, यी धार्मिक क्षेत्रको व्याख्या गर्ने गाइड भेटिँदैनन्। नेपालमा तालिमप्राप्त धार्मिक टुर गाइडको ठूलो कमी छ। यसैले धेरै विदेशीले अनुभव अधुरो लिएर फर्किन्छन्,’ शाक्य भन्छन्।
पर्यटकले धार्मिक क्षेत्रबारे धेरै जानकारी लिन चाहँदाचाहँदै पनि पर्याप्त ज्ञान अभाव र त्यसलाई प्राथमिकतामा नदिएका कारणले अधुरो र अपूरो जानकारी लिएर फर्किनुपरेको गुनासो गर्ने गरेको शाक्यको भनाइ छ।
अझै बनेन गाइड-बुक
विश्वका प्रायः धार्मिक स्थलमा गाइडबुक सहजै पाइन्छ। तर, नेपालमा अझै यस्तो बहुभाषिक पुस्तिका बनेको छैन। अहिले नेपालमा पर्यटक संख्या मात्र बढाउन सबै क्षेत्र लागेको देखिन्छ। तर, पर्यटकलाई आवश्यक सहजीकरण कसरी गर्ने र कहाँबाट गर्ने भन्ने विषयमा कुनै पनि निकायले चासो नदेखाएको पर्यटन व्यवसायी सुमन घिमिरेको भनाइ छ।
पर्यटन सम्बद्ध क्षेत्रले हालसम्म नेपालको पर्यटकीय गन्तव्य, त्यसमा पनि धार्मिक क्षेत्रबारे समेटेर गाइडबुक नबनाउँदा धेरै पर्यटकलाई समस्या भएको उनले बताए।
गाइडबुकभित्र निम्न जानकारी हुनुपर्ने आवश्यकता औँल्याइएको छः
- कुन-कुन धार्मिक स्थलमा कसरी पुग्ने
- कहाँ बस्ने र होटलको विवरण
- बसाइँका लागि न्यूनतम समय कति चाहिन्छ
- अनुमानित खर्चको विवरण
- टुर गाइड कहाँ र कतिमा पाइन्छ
- धार्मिक स्थलको ऐतिहासिक र पौराणिक महत्त्व
- विशेष पर्व र जात्राको समय तालिका
पशुपतिनाथबारे बुझाउने छैनन् टुर गाइड
विश्वभरका हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथबारे समेत पर्याप्त जानकारीसहित बुझाउन सक्ने टुर गाइड छैनन्। टुर गाइड तथा पर्यटकलाई पनि सहज बनाउन कति घन्टा घुम्दा कति पैसा लाग्ने भनेर सूचनापाटी नै राखिदिनु पर्छ। यसले गर्दा विदेशीलाई पनि आफू ठगिएको छैन, ठीक मूल्यमा जानकारी पाएको छु भन्ने आभास हुन्छ। पशुपतिनाथमा मात्र होइन, हरेक धार्मिक एवं सांस्कृतिक सम्पदामा टुर गाइड राख्न सकिन्छ र त्यसबाट निश्चित आम्दानी राज्यले लिन सक्छ।
समाधानका बाटा
टुरिस्ट गाइड एसोसिएसन नेपाल (टुरगान) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले टुर गाइडको शुल्क निर्धारण गर्दै आएको छ। तर, धार्मिक स्थलमा सबैले देख्ने र धार्मिक टुर गाइडलाई सहज हुने गरी शुल्क निर्धारण गरी सूचनापाटीमै टाँस्न सके पर्यटकलाई धेरै राम्रो हुने विज्ञहरूको भनाइ छ।
अहिले जति टुर गाइड छन्, सबै क्षेत्रको ज्ञाताको रूपमा रहेका छन्। धार्मिक क्षेत्रबारे मात्रै जानकारी दिने गरी अहिलेसम्म धार्मिक टुर गाइड उत्पादन गर्न सकिएकै छैन।
नाट्टा अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटकीय सम्भावनायुक्त क्षेत्रमध्ये धार्मिक पर्यटन रहेकाले त्यसका लागि छुट्टै टुर गाइड नहुँदा केही समस्या आएको सुनाए।
स्वयम्भु
अहिले जति टुर गाइड छन्, सबै क्षेत्रको ज्ञाताको रूपमा रहेका छन्। धार्मिक क्षेत्रबारे मात्रै जानकारी दिने गरी अहिलेसम्म धार्मिक टुर गाइड उत्पादन गर्न सकिएकै छैन। रोजगारीसँगै पर्यटक बसाइँ अवधि बढाउने गतिलो माध्यम बन्न सक्छ- धार्मिक टुर गाइड।
नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईको भनाइमा पछिल्लो समय धार्मिक पर्यटक संख्या वृद्धि भइरहेका बेला अब ती धार्मिक गन्तव्यबारे पूर्ण जानकारी दिएर कथा प्रस्तुत गर्न सक्ने खाले जनशक्ति उत्पादन गर्न सके नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सक्छ। अहिले नेपालमा पर्यटक संख्या आगमनलाई हेर्दा संख्यात्मक रूपमा केही बढे पनि बसाइँ अवधि र खर्च गर्ने प्रवृत्ति बढ्न नसकेको अवस्थामा धार्मिक पर्यटनलाई बढावा दिन आवश्यक जनशक्ति तयार गर्नुपर्ने उनको भनाइ छ।
पशुपति क्षेत्रः मुक्तिको सर्वोच्च थलो
काठमाडौंमा रहेको पशुपतिनाथ क्षेत्र केवल आस्थाको मन्दिर मात्र नभई पूर्ण आध्यात्मिक वातावरण स्थल पनि हो। त्रिदेव महादेव पशुपतिनाथको ज्योतिर्लिंग रहेको यो क्षेत्र मुक्ति प्राप्तिको सर्वाेच्च धार्मिक स्थल मानिन्छ। पौराणिक ग्रन्थअनुसार यहाँ स्नान गर्दा अन्य नदीको तुलनामा दस गुणा पुण्य प्राप्त हुन्छ। बागमती किनारको गुह्येश्वरी शक्तिपीठ, श्लेष्मान्तक वन, गोरखनाथ, मृगस्थली र वत्सलादेवीले यस क्षेत्रलाई पूर्ण धार्मिक परिधि बनाएका छन्।
शिवपुराण, लिंगपुराण र नेपाल माहात्म्यमा पशुपतिको महिमा विशेषगरी वर्णन गरिएको छ। यहाँका घाटमा हुने आरती र बेलुकीको धुप-दीपले आत्मालाई शान्त र मनलाई मोक्षतर्फ उन्मुख गराउँछ। तर, यी सबै कथा तथा गहिरो अर्थ पर्यटकसम्म पुग्दैनन् किनभने त्यहाँ यी कथा सुनाउने र यसको महत्त्व बुझाउने पर्याप्त गाइड छैनन्।
मुक्तिनाथ क्षेत्रः १०८ धाराको रहस्य
कालीगण्डकी जहाँसम्म बग्छिन्, सम्पूर्ण भूगोललाई मुक्ति क्षेत्र भनिन्छ। यहाँका मुक्तितीर्थ-रुरु (रिडी), देवघाट, त्रिवेणीधाम, हरिहर क्षेत्र र विशेषगरी मुक्तिनाथ-वैष्णव र बौद्ध दुवै समुदायका साझा आस्थाका केन्द्र हुन्।
बराह पुराणमा उल्लेख भएअनुसार यहाँ भगवान् विष्णु शालिग्रामका रूपमा अवस्थित छन्। सहस्रकुण्डका १०८ धारामा स्नान गर्दा पापमोचन र स्वास्थ्यलाभ हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ। तर, १०८ धारा नै किन? संख्याको आध्यात्मिक महत्त्व के हो? यी कथा सुन्न चाहने तीर्थयात्रीलाई बुझाउने गाइड पर्याप्त छैनन्।
मुक्तिनाथ वरिपरि दामोदर कुण्ड, गलेश्वर, भृगु गुफा र रामघाटजस्ता स्थलले धार्मिक यात्रालाई सफल बनाउँछ। कागबेनीमा श्राद्ध गर्दा पितृ आत्मालाई मोक्ष प्राप्त हुने जनश्रुति अहिले पनि जीवितै छ।
सुनसरीमा अवस्थित बराहक्षेत्र पौराणिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण वैष्णव तीर्थ हो। यहाँ भगवान् विष्णुले बराह रुप धारण गरी पृथ्वीको उद्धार गरेको विश्वास छ।
फागुपूर्णिमा र जनैपूर्णिमाजस्ता पर्वमा स्थानीय थकाली र तिब्बतेली समुदायले यारटुङ पर्व मनाउँछन्-जहाँ घोडा दौड, धनुष खेल र सामूहिक उत्सवले आध्यात्मिकता र संस्कृतिलाई एकै ठाउँ ल्याउँछ। यी पर्वको महत्त्व। यी संस्कृतिको मिश्रण-यी सबै कथा बताउन सक्ने विशेषज्ञ गाइड नितान्त अभाव छ।
बराहक्षेत्रः पृथ्वी उद्धार साक्षी
सुनसरीमा अवस्थित बराहक्षेत्र पौराणिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण वैष्णव तीर्थ हो। यहाँ भगवान् विष्णुले बराह रुप धारण गरी पृथ्वीको उद्धार गरेको विश्वास छ। सप्तकौशिकी र कोका नदीको संगममा रहेको बराह मन्दिर, श्री विष्णुपद (पादुका) मन्दिर, लक्ष्मी मन्दिर, नागेश्वर र सूर्य बराह मन्दिरजस्ता स्थल यस क्षेत्रका आकर्षण हुन्।
मुक्तिनाथ मन्दिर जाँदै पर्यटक
यहाँको जलमा स्नान गर्दा शरीर र मन शुद्ध हुने एवं बराह भगवान्को दर्शनले पृथ्वीजस्तै सहनशीलता र धैर्यको पाठ सिकाइने जनविश्वास छ। तर, यो कथा-पृथ्वी उद्धारको महाकथा-पर्यटकलाई पूर्ण रूपमा सुनाउने गाइड उपलब्ध छैनन्।
मिथिला क्षेत्रः प्रेमको अमर कथा
जनकपुरस्थित मिथिला क्षेत्र हिन्दु धर्ममा भक्ति र प्रेमको प्रतीक हो। यो यहीँ भूमि हो, जहाँ त्रेतायुगमा भगवान् राम र जानकीबीच दैवी विवाह सम्पन्न भएको थियो। यहाँको नौलखा मन्दिर जनकपुरको गौरव हो।
भारतकी महारानी वृषभानुकुमारीले नौ लाख खर्चेर बनाएको यो मन्दिर वास्तुकलाको अद्भुत नमुना हो। तर यो मन्दिर कसरी बन्यो? किन नौ लाख? यो वास्तुकलाको के विशेषता छ? यी प्रश्नको जवाफ दिन सक्ने गाइड अभाव छ।
कथनअनुसार कालिञ्चोक, पलाञ्चोक र शोभा भगवती सात दिदीबहिनी हुन्। जनैपूर्णिमा, चैतेदसैं र बडादसैंमा यहाँ हजारौं भक्तजनको भीड लाग्छ।
मिथिला केवल एक धार्मिक स्थल होइन, यो ज्ञान र दर्शनको भूमि पनि हो-याज्ञवल्क्य, गार्गी र अष्टावक्रजस्ता ऋषिले यहाँ आत्मज्ञानको ज्योति प्रज्वलित गरेका थिए। गंगा सागर, धनुष सागर र जनक सरोवर मिथिलाको धार्मिक र सांस्कृतिक आत्मा हुन्। प्रत्येक कुण्ड र सरोवरमा कुनै न कुनै पौराणिक कथा लुकेको छ, जसले यो क्षेत्रलाई जीवित मन्दिर बनाएको छ। तर, यी सबै कथा, दार्शनिक ज्ञानलाई पर्यटकसम्म पस्कन सकिएको छैन।
कालिञ्चोक भगवतीः हिमालको काखमा शक्ति
बागमती प्रदेशमा पर्ने दोलखाको ३ हजार ८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवती नेपालको प्रमुख शक्तिपीठमध्ये एक हो। यहाँको शीतल हावा, हिमशृंखलाको दृश्य र भगवतीप्रतिको श्रद्धा–यी सबैले यात्रुलाई अध्यात्मिक अनुभव दिन्छ।
कथनअनुसार कालिञ्चोक, पलाञ्चोक र शोभा भगवती सात दिदीबहिनी हुन्। जनैपूर्णिमा, चैतेदसैं र बडादसैंमा यहाँ हजारौं भक्तजनको भीड लाग्छ। चरिकोटदेखि करिब १५ किलोमिटर उत्तरमा रहेको यो स्थान हिमालको काखमा बसेको शक्तिशाली प्रतीक हो। तर, सात दिदीबहिनीको यो कथा पूर्ण रूपमा कसैले सुनाएको छैन किनभने यी स्थानीय कथा, लोकविश्वास बुझेका र सुनाउन सक्ने स्थानीय गाइड अभाव छ।
अगाडि बढ्ने बाटो
धार्मिक पर्यटन केवल आस्था मात्र होइन, रोजगारी सिर्जनासँगै आर्थिक उपार्जनको मुख्य स्रोतको रूपमा धार्मिक टुर गाइड र गाइडबुकलाई लिन सकिन्छ। यदि गाइड तालिम सुरु गरियो, गाइडबुक प्रकाशन गरियो, पूर्वाधार विकास गरियो भने नेपालको धार्मिक पर्यटनको विश्वमै उदाहरणीय बन्न सक्छ।
स्थानीय तहसम्म पुग्ने गरी धार्मिक टुर गाइड तालिम कार्यक्रम सञ्चालन गरिनुपर्छ। यो वर्षको पर्यटन बोर्डको बजेटमा लोकल टुर गाइड तयार पार्ने उद्देश्यसहित तालिम सञ्चालन गर्न लागिएको छ। यो सकारात्मक पहल हो तर, यसलाई थप व्यापक र दीर्घकालीन बनाउन आवश्यक छ।
प्रमुख जात्राको लाइभ स्ट्रिमिङ र डिजिटल प्रचार-प्रसार गर्नुपर्छ। सामाजिक सञ्जालमा नियमित रूपमा धार्मिक स्थलको कथा र महत्त्व बुझाउने सामग्री प्रकाशित गर्नुपर्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा रहेका सबै धार्मिक स्थलको विवरण संकलन गर्ने र पर्यटकलाई सहज हुने गरी विभिन्न भाषामा पूर्ण जानकारी गराउने खाले पुस्तक तयार पार्नुपर्छ। नेपाली, अंग्रेजी, हिन्दी, गुजराती, तमिल, तेलगु, कन्नडलगायत भाषामा गाइडबुक उपलब्ध गराउनुपर्छ। धार्मिक स्थलमा सबैले देख्ने र धार्मिक टुर गाइडलाई सहज हुने गरी शुल्क निर्धारण गरी सूचनापाटीमै टाँस्नुपर्छ। यसले पर्यटकलाई पनि सहज हुने र टुर गाइडको आम्दानी पनि बढ्न सक्छ।
प्रमुख जात्राको लाइभ स्ट्रिमिङ र डिजिटल प्रचार-प्रसार गर्नुपर्छ। सामाजिक सञ्जालमा नियमित रूपमा धार्मिक स्थलको कथा र महत्त्व बुझाउने सामग्री प्रकाशित गर्नुपर्छ।
जनकपुरमा पर्याप्त होटल नहुँदा बसाइँको समस्या छ। यस्तै, अन्य धार्मिक स्थलमा पनि आधारभूत सुविधा विकास गर्न आवश्यक छ। सडक, सञ्चार, बिजुली, खानेपानीजस्ता आधारभूत सुविधा उपलब्ध गराइनुपर्छ।
दीर्घकालीन दृष्टिकोण
तराईदेखि हिमालसम्मका क्षेत्रमा विभिन्न खाले धार्मिक स्थल छन्। ती धार्मिक स्थलका आ-आफ्नै विशेषता छन्। यसको सम्भावना अथक छ। अहिले नेपालमा सबैभन्दा बढी धार्मिक पर्यटक भारतीय नै आउने गरेका छन्। भारतको पनि दक्षिणी क्षेत्र र गुजरातबाट धेरै संख्यामा आउने गर्छन्।
धार्मिक पर्यटनका लागि बराहक्षेत्रदेखि पाथिभरा हुँदै लुम्बिनीलगायत स्थल सबैभन्दा ठूलो सम्भावनाका क्षेत्र हो। यिनलाई जोड्ने धार्मिक पर्यटन सर्किट बनाउन सकिए पर्यटकको बसाइँ अवधि बढ्नुका साथै नेपालले आर्थिक लाभ पनि लिन सक्छ।
यदि संघीयदेखि स्थानीय तहसम्म तालिम दिइयो भने गाइड मात्र होइन, संस्कृतिका दूत उत्पादन हुन्छन्। रोजगारी पनि सिर्जना हुन्छ, पर्यटक अनुभव पनि गहिरो हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका ती भारतीय तीर्थयात्री अझै पनि सोधिरहेका छन् ‘कसरी पुग्ने? कसलाई लिएर जाने? कहाँ बस्ने?’ तर अब यी प्रश्नसँगै अर्काे प्रश्न पनि थपिएको छ- ‘यी ठाउँको कथा कसले सुनाउँछ?’
मुक्तिनाथको १०८ धाराको प्रत्येक थोपा, पशुपतिको घाटमा बल्ने प्रत्येक दीप, जनकपुरको प्रत्येक ढुंगामा लुकेको प्रेमकथा, पाथिभराको हरेक पाइला चढ्दा महसुस हुने आस्था।
नेपाल हिमालको मात्र होइन, आस्थाको पनि धरोहर हो। तर, यो धरोहरले तब मात्र पूर्णता पाउँछ, जब यसको कथा सुनिन्छ, महत्त्व बुझिन्छ, गहिराइ अनुभव गरिन्छ। त्यो तब मात्र सम्भव छ, जब हामीसँग दक्ष, जानकार, कथा सुनाउन सक्ने धार्मिक टुर गाइडको सशक्त टोली हुन्छ।
मुक्तिनाथको १०८ धाराको प्रत्येक थोपा, पशुपतिको घाटमा बल्ने प्रत्येक दीप, जनकपुरको प्रत्येक ढुंगामा लुकेको प्रेमकथा, पाथिभराको हरेक पाइला चढ्दा महसुस हुने आस्था। यी सबै कथा हुन्। यी कथा सुन्न विश्वभरका तीर्थयात्रीहरू आउँछन्। मुलुकको जिम्मेवारी हो, तिनलाई कथाहरू सुनाउने।
चितवनको सौराहा
यदि अहिले धार्मिक टुर गाइडमा लगानी गरियो, उनीहरूलाई तालिम दिएर क्षमता बढायौ भने भोलि नेपाल विश्वको सबैभन्दा रोचक र सम्पूर्ण धार्मिक पर्यटन गन्तव्यको रूपमा स्थापित हुन सक्छ। यो केवल पर्यटनको विकास होइन, यो हाम्रो संस्कृति, हाम्रो इतिहास, हाम्रो आस्थाको संरक्षण र प्रवर्द्धन हो।
तर, हामीले हेरेर मात्रै बस्यौं भने तीर्थयात्री आउनेछन्, दर्शन गरेर जानेछन् तर, कथा सुन्न नपाउँदा अधुरो मन लिएर फर्किनेछन्। देशको, संस्कृतिको ठूलो क्षति हुनेछ। समय आएको छ-कथा सुन्नुपर्छ, सुनाउनुपर्छ। नेपालको धार्मिक पर्यटनको भविष्य यसमै निर्भर छ।
|
कथाकथनको अर्थशास्त्रः विश्वले सम्पदालाई कसरी सुनमा बदल्यो
सन् २०२४ मा विश्वव्यापी सम्पदा पर्यटन बजार ६०४ अर्ब डलरमा पुगेको छ। यो तथ्यांकले सम्पदा संरक्षण केवल संस्कृतिको जोगाइ मात्र होइन, एउटा शक्तिशाली आर्थिक रणनीति बन्नुका साथै देशलाई समृद्धिको बाटोमा अघि बढाउने उपयुक्त स्रोत भएको देखाउँछ।
विश्वका धेरै देशले आफ्ना ऐतिहासिक र पौराणिक सम्पदालाई संरक्षित मात्रै गरेका छैनन्, त्यसबाट मनग्य आम्दानी पनि गरिरहेका छन्। सम्पदालाई जीवन्त कथामा रुपान्तरण गरेका छन्। अमेरिकाको प्लिमोथ प्लान्टेसनमा पोसाकमा रहेका व्याख्याताले पर्यटकलाई १७औं शताब्दीमा फर्काउँछन्। कथाकथनले पर्यटकको बसाइँ र खर्च दुवै बढाउँछ। पुर्खाको खोजीमा आउने पर्यटकले सामान्य पाहुनाभन्दा ३० प्रतिशत बढी खर्च गर्ने विभिन्न तथ्यले देखाउँछन्।
पौराणिक विषयवस्तुमा सबैभन्दा अगाडि रहेको देश ग्रीस हो। ग्रीसको पर्यटन उद्योगले सन् २०२४ मा ३० अर्ब युरो प्रत्यक्ष योगदान गरेको छ, जुन देशको अर्थतन्त्रको १२.७ प्रतिशत हो। ग्रीसमा १९ वटा युनेस्को विश्वसम्पदा स्थल छन्। प्रत्येक स्थल पछाडि जिउस, एथेना, अपोलोजस्ता अमर कथा छन्। ग्रिकेलीले यी कथालाई मात्र सुनाउँदैनन्, प्रस्तुत गर्छन् र पर्यटकलाई हिस्सा बनाउँछन्।
ग्रीसको प्रिभेजा सहरको उदाहरण अझ प्रेरणादायी छ। यस सहरले मिथोटुर नामक अवधारणामार्फत प्राचीन निकोपोलिस, एक्टियमको नौ सैनिक युद्ध र एम्ब्रासियन खाडीसँग सम्बन्धित पौराणिक कथालाई पर्यटन उत्पादनमा रुपान्तरण गरेको छ। यस्तो कथामूलक पर्यटनले केवल एक दिनको भ्रमण होइन, बहुदिवसीय गहिरो अनुभव सिर्जना गर्छ। सांस्कृतिक पर्यटकले सामान्य पर्यटकभन्दा ३८ प्रतिशत बढी खर्च गर्ने तथ्यले यसको आर्थिक महत्त्वलाई प्रमाणित गर्छ।
ऐतिहासिक सम्पदामा आर्थिक शक्तिको अर्को उत्कृष्ट उदाहरण इजिप्ट हो। पिरामिड, स्फिन्क्स र फारोहरूको देश इजिप्टले आफ्नो प्राचीन सभ्यतालाई आर्थिक सम्पन्नताको स्रोतमा परिणत गरेको छ। सन् २०२४ मा इजिप्टको पर्यटन क्षेत्रले १.४ ट्रिलियन इजिप्सियन पाउन्ड योगदान गरेको छ, जुन देशको अर्थतन्त्रको ८.५ प्रतिशत हो। सन् २०१० मा यो क्षेत्रले १२.५ अर्ब डलर राजस्व संकलन गर्दै १४.७ मिलियन पर्यटकलाई सेवा दिएको थियो।
इजिप्ट सफलताको रहस्य केवल पिरामिड र ममीहरू होइन। कथाकथन, अन्तरक्रियात्मक प्रदर्शनी र निर्देशित भ्रमणजस्ता कार्यक्रमले आगन्तुक अनुभवलाई समृद्ध बनाएको छ भने सांस्कृतिक सम्पदाप्रति गहिरो आस्था विकास गरेको छ। पर्यटकले फारोहरूको शक्ति, नील नदीको महत्त्व र प्राचीन इजिप्सियन सभ्यताको रहस्यमय कथा सुन्छन्।
दक्षिण अमेरिकाको पेरुले पनि आफ्नो इन्का सभ्यताको सम्पदालाई सुनको खानीमा परिणत गरेको छ। माचु पिच्चु नाम मात्रै सुन्दा विश्वभरका पर्यटक हृदय धड्कन बढ्छ। माचु पिच्चुले प्रत्येक वर्ष लगभग १.५ मिलियन पर्यटकलाई स्वागत गर्दछ र लगभग ४० मिलियन डलर वार्षिक राजस्व संकलन गर्छ। सन् २०२४ मा यसले पेरुको राष्ट्रिय अर्थतन्त्रमा २.९ प्रतिशत योगदान गरेको छ र क्षेत्रमा लगभग ३६ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ।
विश्वभरका सफल देशले केही साझा रणनीति अपनाएका छन्। केवल सामान्य प्रचारको सट्टा विशेष सम्पदा उत्पादनले बढी सफलता प्राप्त गरिरहेका छन्। जस्तै, स्कटल्यान्ड र इंग्ल्यान्डमा स्थानीय डिस्टिलरीमा केन्द्रित ह्वीस्की वा जिन ट्रेल छन्। यसले पर्यटकलाई गहिरो र यादगार अनुभव दिलाउँछ।
युनेस्कोको सम्पदा ट्यागसहितका स्थलले तुरुन्तै विश्वव्यापी मान्यता प्राप्त गर्ने तथ्यले अन्तर्राष्ट्रिय प्रमाणीकरणको महत्त्वलाई देखाउँछ। तर, प्रमाणीकरण मात्र पर्याप्त छैन। डिजिटल प्लेटफर्मको विस्तारले सम्पदा गन्तव्यलाई भर्चुअल कथाकथन प्रवर्द्धन गर्न सक्षम बनाएको छ, जसले पहुँच र संलग्नता बढाउँदै छ। आधुनिक प्रविधि प्राचीन कथालाई नयाँ पुस्तासम्म पुर्याउने माध्यम बनेको छ।
एसिया प्रशान्त क्षेत्रले सन् २०२४ मा सम्पदा पर्यटन राजस्वको लगभग ३९.७६ प्रतिशत हिस्सा ओगटेको छ। उक्त तथ्यांंकले यस क्षेत्रको सम्भावनालाई प्रमाणित गर्छ। नेपालसँग पनि असाधारण समृद्ध पौराणिक र ऐतिहासिक सम्पदा छन्।
बढ्दो अनुभव केन्द्रित यात्राको माग, इमर्सिभ कथाकथन र प्रामाणिक सांस्कृतिक मुठभेडले सम्पदा पर्यटन बजारलाई पुनः परिभाषित गरिरहेको छ। आजका पर्यटक केवल तस्बिर खिच्न मात्रै चाहँदैनन्, तिनीहरू अनुभव गर्न, महसुस गर्न, र सम्बन्ध स्थापित गर्न चाहन्छन्।
नेपालका लागि यी उदाहरण अत्यन्तै प्रेरणादायी छन्। एसिया प्रशान्त क्षेत्रले सन् २०२४ मा सम्पदा पर्यटन राजस्वको लगभग ३९.७६ प्रतिशत हिस्सा ओगटेको छ। उक्त तथ्यांंकले यस क्षेत्रको सम्भावनालाई प्रमाणित गर्छ। नेपालसँग पनि असाधारण समृद्ध पौराणिक र ऐतिहासिक सम्पदा छन्।
हामीले यी सम्पदालाई जीवन्त कथामा बुन्न सक्छौं। प्रत्येक मन्दिर, प्रत्येक दरबार, प्रत्येक पौराणिक स्थलमा कथाकार राख्न सक्छौं, जसले पर्यटकलाई केवल ढुंगाको संरचना होइन, बरु ती ढुंगा पछाडिका जीवन्त कथा सुनाउन सक्छन्। हामीले पर्यटकलाई केवल दर्शक होइन, इतिहासका भागिदार बनाउन सक्छौं।
सम्पदा केवल ढुंगा, काठ, र पुरानो संरचना होइनन्। सम्पदा भनेको कथा हो, हाम्रा पुर्खाका सपना, संघर्ष र सफलता हो। जब यी कथालाई प्रभावकारी रूपमा सुनाइन्छ, तब मात्र सम्पदा पर्यटन शक्तिशाली आर्थिक उपकरण बन्छ। विश्वका सफल देशहरूले यो बुझेका छन्। अब नेपालले पनि यो पाठ सिक्ने बेला आएको छ। कथा नै हाम्रो समृद्धिको चाबी बन्न सक्छ।
|