काठमाडौं। प्रहरीले राहदानी विभागमा बिचौलिया बनेर सर्वसाधारणबाट रकम असुल्ने ११ जनालाई पक्राउ गरेको छ। विभागमा राहदानी बनाउन आउने सेवाग्राहीसँग पैसा लिएर काम गरिदिने प्रलोभन देखाउँदै आएका बिचौलियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
विभागमा मौलाएको भ्रष्टाचार र घुसखोरीबारे क्यापिटल नेपालले गत कात्तिक १३ मा प्रमाणसहित स्थलगत रिपोर्टिङ समाचार प्रकाशित गरेको थियो। फलोअप समाचारमा विभागमा सिस्टम र कानुन बाहिर गएर भएको खुलेयाम कारोबारबारे भिडियो तथ्यसमेत प्रकाशित गरेको थियो।
त्यसपछि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई सञ्चार माध्यमबाट प्रकाशित समाचारको आधार देखाउँदै विभाग वरपर निगरानी बढाएर शंकास्पद गतिविधि तथा कारोबारको छापा मार्न कात्तिक १६ मा पत्राचार गरेको थियो। सोही पत्रअनुसार गृहले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई निर्देशन दिएसँगै बिचौलिया पक्राउ परेका हुन्।
राहदानी विभागले गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा राहादानी शाखामा आगजनी गरिँदा प्रिन्ट भइसकेको राहदानी जलेपछि पहिलो प्राथमिकता राहदानी प्रिन्ट गरिने र असोज १ देखि दैनिक कोटा सिस्टम लगाएको थियो। यसले गर्दा राहदानी बनाउन विभागको वेबसाइटबाट दिनुपर्ने ई–पासपोर्ट अनलाइन अपोइन्टमेन्ट सर्वसाधारणको पहुँच बाहिर हुँदै गएको थियो।
विभागमा मौलाएको भ्रष्टाचार र घुसखोरीबारे क्यापिटल नेपालले गत कात्तिक १३ मा प्रमाणसहित स्थलगत रिपोर्टिङ समाचार प्रकाशित गरेको थियो।
विभागले यस्तो अपोइन्टमेन्ट लिइसकेका सेवाग्राहीको मात्रै राहदानी निर्माण प्रक्रिया अघि बढाउँछ। विभागले दैनिक कोटा तोकेसँगै अपोइन्टमेन्ट लिने समयसमेत साँझ ६ बजेपछि मात्रै गर्दा सेवाग्राही आफैंले विभागको वेबसाइटमार्फत अनलाइन अपोइन्टमेन्ट लिन मुस्किलजस्तै छ।
यसको फाइदा राहदानी विभाग परिसरमा सञ्चालनमा रहेका साइबरले उठाउँदै आएका छन्। ‘सिभिल ड्रेसका प्रहरीले पक्राउ परेका बिचौलियाका गतिविधि ५÷१० दिनयता निगरानीमा राखेको थियो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले क्यापिटल नेपाललाई भने, ‘विभागमा पासपोर्ट बनाउन गएका सेवाग्राहीलाई लाइन बस्नु नपर्ने गरी पासपोर्ट बनाइने भन्दै रकम माग्ने गरेका थिए। उनीहरुलाई प्रहरीले मंसिर १ मा पक्राउ गरेको हो।’
उनका अनुसार विभागका कर्मचारीको मिलोमतोबारे थप अनुसन्धान भइरहेको छ। बिचौलियाले प्रत्यक्ष रुपमा विभागका कर्मचारीलाई पैसा दिएको नदेखिएकाले बिचौलियाको बयान, उनीहरुको डिभाइसको डिजिटल फरेन्सिक जाँचपछि संलग्नता थाहा हुने उनले बताए।
बिचौलियाले प्रत्यक्ष रुपमा विभागका कर्मचारीलाई पैसा दिएको नदेखिएकाले बिचौलियाको बयान, उनीहरुको डिभाइसको डिजिटल फरेन्सिक जाँचपछि संलग्नता थाहा हुने उनले बताए।
हाल ललितपुर ज्यासल बस्ने पाँचथरका २६ वर्षीय सञ्जय आङदेम्बे, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय प्रेमबहादुर लामा, सुर्खेत घर भई हाल नयाँ बसपार्क बस्ने २९ वर्षीय टेकबहादुर सुनुवार रहेका छन्।
यस्तै, सिन्धुपाल्चोक घर भई हाल बागबजार बस्ने १५ वर्षीय भगवान तामाङ, काठमाडौं शंखरापुरका ३२ वर्षीय श्यामबहादुर श्रेष्ठ, दोलखा घर भई हाल काँडाघारी बस्ने ३० वर्षीय सागर श्रेष्ठ पक्राउ परेका छन्। रामेछाप घर भई हाल सीतापाइला बस्ने ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक घर भई गोठाटार बस्ने ३८ वर्षीय जीवन लामालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले कात्तिक ३० मा ३ जनालाई र मंसिर १ मा ८ जना गरी ११ बिचौलियालाई पक्राउ गरेको हो। मंसिर ३० गते सर्लाही घर भई हाल काठमाडौं महानगर–२६ मा बस्दै आएका ३२ वर्षीय भाग्यनारायण साह, धादिङ घर भई हाल काठमाडौं महानगर–३ मा बस्दै आएका ३६ वर्षीय वीरेन्द्र थापा मगर र सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–२८ मा बस्दै आएका मिक्टे लामालाई पक्राउ गरेको हो।
यसअघि पनि क्यापिटल नेपालले स्थलगत रिपोर्टिङको समाचार प्रकाशित भएपछि विभागले २ बिचौलिया सुनील नेपाली र बुद्धिनारायण श्रेष्ठलाई कालीमाटी प्रहरी वृत्तमा बुझाएको थियो। तर, उनीहरुलाई प्रहरीले १०/१० हजार रुपैयाँ धरौटीमा छाडिसकेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वृत्तका डिएसपी मधुकुमार थापाका अनुसार पकाउ परेका व्यक्तिलाई थुनामा राखेर बयान लिँदा कर्मचारीसँगको प्रत्यक्ष संलग्नता पुष्टि नभएको तर उनीहरुको मोबाइल, ल्यापटपलगायत डिभाइसको थप अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानमा ती बिचौलियाले विभागका केही कर्मचारीलाई राहदानी बनाउन आवश्यक कागजात म्यासेजमा पठाएको देखिएको छ। थप पुष्टिका लागि बिचौलियाको डिभाइस डिजिटल फरेन्सिक ल्याबमा जाँचका क्रममा छ।