काठमाडौं। गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंकले नारी हत्या (फेमिसाइड)विरुद्ध लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ।
संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्र महिला (युएन वुमेन)ले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिकाहरू आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनु परेको थियो।
प्रतिवेदनले विश्वभर हत्या गरिएका महिलामध्ये करिब ६० प्रतिशतलाई आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्त-जस्तै बुबा, काका, आमा, दाइ-भाइद्वारा ज्यान दिइएको उल्लेख गरेको छ। तुलनात्मक रूपमा, पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशतको हत्या नजिकका व्यक्तिले गरेका थिए।
एक सय १७ देशबाट संकलित तथ्यांकका आधारमा तयार गरिएको उक्त प्रतिवेदनअनुसार दैनिक करिब १३७ महिला अर्थात् प्रत्येक १० मिनेटमा एक जना नारीहत्या अपराधको सिकार बनिरहेका छन्।
सन् २०२३ मा सार्वजनिक भएको तथ्यांकभन्दा संख्या केही कम देखिए पनि यो वास्तविक सुधारलाई जनाउने संकेत नभएको, बरु फरक-फरक देशबाट उपलब्ध हुने तथ्यांकमा देखिने असमानता नै यसको मुख्य कारण भएको प्रतिवेदनले स्पष्ट पारेको छ।
अध्ययनले चेतावनी दिँदै ‘घर नै महिला तथा बालिकाका लागि सबैभन्दा खतरनाक स्थान बनेको छ’ भन्दै प्रत्येक वर्ष दशौँ हजार महिलाको हत्या हुँदै आए पनि घट्दो प्रवृत्ति नदेखिएको जनाएको छ।
विश्वका कुनै पनि क्षेत्रमा नारीहत्या शून्य नभएको प्रतिवेदनले बताउँछ। तर, अफ्रिकामा गत वर्ष झण्डै २२ हजार महिलाको हत्या भई सबै क्षेत्रभन्दा उच्च संख्या दर्ता भएको उल्लेख गरिएको छ।
संयुक्त राष्ट्र महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सका गम्भीर चिन्ता व्यक्त गर्दै भने, ‘नारीहत्या एक्लै घटित हुँदैन। यसअघि नै व्यवहारगत नियन्त्रण, धम्की, दुर्व्यवहार र अनलाइनसँगै अफलाइन दुवै माध्यममा हुने उत्पीडनका रुपहरू देखिन सक्छन्, जसको अन्त्य घातक हिंसामा पुग्न सक्छ।’
उनका अनुसार प्राविधिक विकाससँगै महिलामाथि हुने हिंसाका केही प्रकार झनै बढेका छन् भने नयाँ प्रकारका डिजिटल अपराध-जस्तै गैर-सहमति तस्बिर साझेदारी, डक्सिङ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने कृत्य) तथा डिपफेक भिडियो-जस्ता खतरनाक रुपहरूसमेत जन्मिएका छन्।