काठमाडौं। नेपालमा महँगा पर्यटक आकर्षण गर्दै आएको शेर्पा हस्पिटालिटीले अपर मुस्ताङमा दुईवटा शिन्ता मणि रिसोर्ट बनाउने भएको छ। प्रतिव्यक्ति दैनिक २ हजार अमेरिकी डलर तिरेर न्यूनतम ५ दिन बस्नुपर्ने अवधारणासहित सञ्चालनमा आएको शिन्ता मणि मुस्ताङको सफलतापछि शेर्पा हस्पिटालिटी ग्रुपले अपर मुस्ताङमा दुईवटा रिसोर्ट बनाउने भएको हो।
शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नाम्गेल शेर्पाले अबको केही वर्षभित्रै सञ्चालनमा आउने गरी एकसाथ दुईवटा शिन्ता मणि रिसोर्ट निर्माण प्रक्रिया अगाडि बढाएको जानकारी दिए। अपर मुस्ताङको छुक्साङ र लोमान्थाङमा दुईवटा शिन्ता मणि खोल्ने तयारी अघि बढेको उनले बताए।
दुवै ठाउँमा बन्ने शिन्ता मणि जोमसोममा चलिरहेको रिसोर्टभन्दा अझ प्रिमियम, अझ विशेष र अझ अनुभूति–केन्द्रित हुने योजना छ। प्रत्येक रिसोर्टमा करिब १५/१५ वटा मात्र ‘स्वीट’ कोठा रहनेछन्। ‘थोरै पर्यटक, तर अत्यन्त उच्च मूल्यमा आधारित ‘उच्च मूल्य–कम संख्या’ मोडलमा रिसोर्ट सञ्चालन गर्ने सोच अगाडि सारेका छौं’, नाम्गेलले भने, ‘तल्लो मुस्ताङदेखि माथिसम्मको सम्पूर्ण यात्रालाई एउटै अनुभवमा जोडेर ‘पाँच दिन तल, पाँच दिन अपर मुस्ताङ’ भन्ने १० दिनको एउटै यात्रा–मोडल बनाउने योजना छ।’
स्टोरी टेलिङको अवधारणासहित सञ्चालन हुने रिसोर्टको राम्रो भविष्य रहेको र धेरै स्वदेशी एवं विदेशीले समेत चासो दिने भएकाले अपर मुस्ताङमा लगानी विस्तार गर्न लागिएको उनको भनाइ छ। पछिल्लो समय नेपालमा महँगा पर्यटक प्रवेश बढिरहेको बताउँदै शिन्ता मणिजस्तै अन्य लक्जरी ब्रान्ड प्रवेशले अझै पर्यटन क्षेत्रलाई प्रतिस्पर्धा बढाउने उनको भनाइ छ।
‘पहिल्यैदेखि एउटा सपना थियो–मुस्ताङको अझ उचो, अझ दूरदराज भूभागमा उच्चस्तरीय लज बनाउने,’ नाम्गेल भन्छन्, ‘अब त्यो सपना योजनाबाट डिजाइन चरणमा पुगेको छ।’
तल्लो मुस्ताङदेखि माथिसम्मको सम्पूर्ण यात्रालाई एउटै अनुभवमा जोडेर ‘पाँच दिन तल, पाँच दिन अपर मुस्ताङ’ भन्ने १० दिनको एउटै यात्रा–मोडल बनाउने योजना।
‘एउटै ब्रान्डमार्फत दुई फरक उचाइ, दुई फरक वातावरण, तर सेवाको स्तर उस्तै राख्ने योजना छ’, नाम्गेल भन्छन्, ‘यसरी निरन्तरता दिन सके, पर्यटकको मनमा ‘नेपाल बारम्बार फर्किनुपर्ने देश’ भन्ने भावना बलियो हुन्छ।’
शिन्ता मणिले विदेशीलाई पाँच दिन र नेपालीलाई तीन दिनको प्याकेज राखेझैं आगामी दिनमा एभरेस्ट ट्रेल, मनास्लु, बर्दिया, चितवन, लुम्बिनीजस्ता ठाउँसँग पनि लिंक गरेर ‘नयाँ ठाउँ, उस्तै भरोसा’ दिने यात्रा शृंखला बनाउने योजनामा शेर्पा हस्पिटालिटी अघि बढिरहेको छ।
मुस्ताङको जोमसोममा रहेको शिन्ता मणि रिसोर्ट स्थानीय ढुंगाबाट प्राचीन तथा परम्परागत डिजाइबाट बनाइएको छ। जोग्राफिक डट कमले उल्लेख गरेअनुसार संसारभरबाट हिमाली क्षेत्रका साथै गुम्बा र स्थानीय जनजीवनसँग घुलमिल गर्न चाहने पर्यटकले सर्वाधक रुचाएको जनाएको छ।
नेसनल जोग्राफिकले २०२४ का लागि विश्वका उत्कृष्ट र मन परेका होटलको सूचीमा राखेको शिन्ता मणि एसियाको पहिलो नम्बरमा परेको थियो।
मुस्ताङको जोमसोममा सञ्चालित रिसोर्ट समुद्र सतहबाट २ हजार ८ सय मिटर उचाइ तथा कालीगण्डकी नदीछेउ जोमसोममा रहेको छ। रिसोर्टमा २९ वटा कोठा रहेको छ।