काठमाडौं । बन्दावन्दी (लकडाउन) का बेलामा पनि माथिल्लो र तल्लो सान्जेन जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । अहिले आयोजनामा ३२५ जनाले काम गरिरहेका छन ।
सिभिल निर्माणको काम जारी रहेको सान्जेन जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए । उनले आयोजनाको काममा ठुलो प्रभाव नपरेको जानकारी दिए ।
उनका अनुसार अहिले तल्लो सान्जेनको ४४५ मिटर अग्लो हेडको झन्डै १ हजार ५० मिटर लामो इन्कलाइन्ड पेनस्टक पाइप जडानका लागि खन्ने काम सम्पन्न भएको छ ।
आयोजना निर्माणमा यो काम सबैभन्दा जटिल रहेको उनले जानकारी दिए । अब पेनस्टक पाइप जडानको काम सुरु हुन सीईओ श्रेष्ठले जानकारी गराए ।
कम्पनीले १४.८ मेगावाटको माथिल्लो र ४२.५ मेगावाटको तल्लो गरी ५७ मेगावाट क्षमताका दुई आयोजनाको काम एकसाथ गरिरहेको छ । माथिल्लो सान्जेन आउँदो असारसम्म सम्पन्न गर्ने लक्ष्यलाई कोरोना भाइरस महामारीले असर गरेको उनले सुनाए ।
माथिल्लो सान्जेनमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम बाँकी रहेको छ । कारोना महामारीले चिनियाँ कामदार नआउँदा काम अवरुद्ध भएको उनको भनाई छ । माथिल्लो सान्जेनको ९३ र तल्लोको ७७ प्रतिशत काम सकिएको छ । यी दुबै कोरोना भाइरसले गर्दा यी आयोजना एकसाथ आउने देखिएको छ ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माणाधिन आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको ३ हजार ६७४ मिटर छ ।
माथिल्लो आयोजनाको काम नेपालको बज्रगुरु र भारतीय कम्पनी संयुक्त उपक्रम र तल्लो आयोजनाको सिभिलतर्फको निर्माण कार्य एईडब्लु–तुन्दीले गरिरहेको छ ।
माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट निस्केको र छुप्तुङ खोलाको पानीलाई मिसाइ चिलिमेमा ३ वटा टर्बाइनमार्फत ४२.५ मेगावाट विद्युत उत्पादन हुनेछ । तल्लो आयोजना २०७७ दशैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेकोमा लम्बिने भएको छ ।
कोरोना भाइरसको प्रभाव आयोजनामा पनि परेको छ । नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक तथा कामदार उतै रोकिदा आयोजनाको इलेक्ट्रोमेकानिकलको काम नै प्रभावित भएको श्रेष्ठले बताए । आयोजनाको काम चिनियाँको हातमा रहेको उनले जानकारी दिए ।
आयोजनाको विद्युत उत्पादन गर्ने कार्य तालिका नै प्रभावित हुने सम्भावना बढेको छ । सान्जेन जलविद्युत चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो ।
सान्जेनमा चिलिमे, नेपाल विद्युत प्राधिकरण र रसुवा जिल्लाका स्थानीय तह र सर्वसाधारणको लगानी छ । आयोजनाबाट उत्पादन हुने बिजुली नजिकै रहेको चिलिमे हवमा जोडिने छ ।