काठमाडौं। नेपाली बजारमा विद्युतीय स्कुटर (ईभी)को आयातसँगै बिक्री बढे रिसेल भ्यालु (पुनः बिक्री मूल्य) ठप्प छ। ईभी स्कुटरमा महँगा पार्टस् र ब्याट्रीको आयु कम हुने भएकाले यसको रिसेल भ्यालु ‘ठप्प’ भएको हो।
रिजाल रिकन्डिसन हाउसका सविन रिजालले ईभी बाइक तथा स्कुटरको ब्याट्रीमा वारेन्टी कम हुने भएकाले रिकन्डिसन हाउसले भ्यालुएसन नगरेको बताउँछन्। ‘ईभी बाइक तथा स्कुटरको ब्याट्रीमा वारेन्टी कम हुन्छ। यसको पार्टस पाउन कठिन र महँगो हुने भएकाले यसको रिसेल भ्यालु गर्ने गरेको छैन,’ रिजाल भन्छन्, ‘साधारणतया ईभीमा भएको ब्याट्रीमा १ देखि ३ वर्षको वारेन्टी दिएको हुन्छ। रिकन्डिसन हाउसमा आउँदासम्म त्यो स्कुटरको ब्याट्रीमा समस्या आइसकेको हुन्छ।’ ईभी सेकेन्ड ह्यान्डको व्यापारमा रिस्क हुने भएकाले रिकन्डिसन हाउसमा नराखेको उनको भनाइ छ।
बजारमा ईभी स्कुटरको रिसेल भ्यालु ठप्प हुनाले स्कुटरमा प्रयोग भएको ब्याट्री र यसको महँगो पार्टपुर्जा हो। ईभी स्कुटरको ब्याट्रीको वारेन्टी एकदमै कम हुन्छ। साथै, यसमा प्रयोग हुने मोटर, कन्ट्रोलर जस्ता मुख्य पार्टपुर्जाको मूल्य पेट्रोल स्कुटरको तुलनामा निकै महँगो हुन्छ।
यदि, वारेन्टी अवधिपछि यी पार्टसमा कुनै समस्या आएमा मर्मत खर्च धान्न नसकिने गरी बढ्छ। नेपालमा ईभी ब्रान्डहरू धेरै भए पनि उनीहरूको डिलर सञ्जाल र दक्ष मेकानिकको उपलब्धता ज्यादै सीमित छ। सोरुम एक ठाउँबाट अर्काे ठाउँमा सरिरहने वा नयाँ कम्पनीले सर्भिस सेन्टर विस्तार गर्न नसक्दा ग्राहकले आफ्नो स्कुटर बिग्रेपछि आधिकारिक पार्टपुर्जा र मर्मत सेवा पाउन कठिन हुन्छ। जसका कारण पनि रिकन्डिसन हाउसमा ईभी स्कुटर पाउन मुस्किल हुन्छ।
ईभी दुई पांग्रे सवारीमा भएको ब्याट्रीमा कम्पनीले १ वर्षदेखि ३ वर्षसम्मको वारेन्टी दिएका हुन्छन्। कम्पनीले ब्याट्रीमा दिएको वारेन्टीको समय सकिएपछि यसको अवस्था के हुन्छ? कसरी फेर्न मिल्छ वा फेर्नै पर्दैन? फेर्न परे कति खर्च लाग्छ? त्यस्तै विषयमा आम मानिसको चासो रहेको छ।
ब्याट्री विद्युतीय सवारी साधनको इन्जिन हुन्। विद्युतीय सवारीको माग बढेसँगै तिनीहरूमा प्रयोग हुने ब्याट्रीको मूल्य घट्दै गएको छ। ब्याट्री प्रतिस्थापनको लागत स्कुटरमा भएको ब्याट्रीको क्षमताअनुसार फरक हुन्छ। लिड-एसिड ब्याट्रीद्वारा सञ्चालित धेरैजसो नयाँ इलेक्ट्रिक स्कुटरहरू कम्तिमा दुई वर्षको ब्याट्री वारेन्टीको साथ आउँछन्।
ईभी प्रयोगकर्ताले आफ्नो पुरानो स्कुटर बेच्न वा नयाँ मोडलमा अपग्रेड गर्न चाहे कम्पनीहरुले एक्सचेन्ज सुविधामा बेवास्ता गर्ने गरेको ईभी प्रयोगकर्ताहरुको गुनासो छ।
यदि, ब्याट्री फेर्न पर्यो भने प्रतिस्थापनको लागत ५० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्मे हुन्छ। तर, यो मूल्य घट्न वा बढ्न सक्छ। नयाँ ईभी किन्दा महँगो पर्ने र केही वर्षपछि बेच्दा ब्याट्रीका कारण यसको रिसेल भ्यालु लगभग ‘ठप्प’ भएको अवस्था छ। यसले गर्दा ईभी प्रयोगकर्ता एक्सचेन्जको सुविधाबाट बञ्चित हुने दोहोरो मारमा परेका छन्।
कम्पनीहरूले एक्सचेन्ज गर्न नमान्दा उपभोक्ता निरास
ईभी प्रयोगकर्ताले आफ्नो पुरानो स्कुटर बेच्न वा नयाँ मोडलमा अपग्रेड गर्न चाहे कम्पनीहरुले एक्सचेन्ज सुविधामा बेवास्ता गर्ने गरेको ईभी प्रयोगकर्ताहरुको गुनासो छ।
उपभोक्ताले ईभी स्कुटर बिक्री गरी अपग्रेड गर्नु परे वा एक्सचेन्ज गर्नुपरेमा सेकेन्ड ह्याण्ड पसलमा बिक्रीको लागि लैजान कम्पनीले सुझाव दिने ईभी प्रयोगकर्ता दुर्गा अधिकारी बताउँछिन्।
‘अहिले बजारमा पेट्रोल स्कुटरका कम्पनीले नियमित रूपमा एक्सचेन्ज अफरहरु दिने गरे पनि आफूले बिक्री गरेको स्कुटर एक्सचेन्ज गर्न वा फिर्ता लिन मान्दैनन्,’ अधिकारी भन्छिन्, ‘कम्पनीले स्कुटर एक्सचेन्ज वा अपग्रेड नदिँदा ईभी प्रयोगकर्ताहरु मारमा पर्छन्। सेकेन्ड ह्याण्ड बजारमा यसको भ्यालुएसन गर्न निकै कठिन छ।’
नयाँ ब्याट्रीको उच्च लागत र पुरानो ब्याट्रीको घट्दो आयुका कारण सेकेन्ड ह्यान्ड बजारमा ईभी खरिदकर्ता जोखिम मोल्न चाहँदैनन्।
नेपालका ईभी बिक्री गर्ने कम्पनीले आफूले बिक्री गरेको स्कुटर एक्सचेन्ज गर्न वा फिर्ता लिन मान्दैनन्। पुरानो स्कुटरको ब्याट्री आयु कम हुने र पार्टस महँगो हुने भएकाले कम्पनीहरुले जोखिम लिन नचाहेको देखिन्छ।
ईभी स्कुटरको ब्याट्री कति वर्ष टिक्छ?
ईभी स्कुटरको कुल मूल्यमा ब्याट्रीको अंश सबैभन्दा ठूलो हुन्छ। नेपालमा लिथियम आयन ब्याट्री प्रयोग भएका अधिकांश स्कुटरमा कम्पनीले २ देखि ५ वर्षको वारेन्टी मात्र दिने गरेका छन्। यो वारेन्टीको अवधि सकिएपछि ब्याट्रीको क्षमता विस्तारै घट्दै जान्छ। सामान्य प्रयोगमा पनि पाँच वर्षपछि ब्याट्रीले पहिलेको तुलनामा ४० प्रतिशतसम्म कम माइलेज दिन थाल्छ।
नेपालमा दुई पांग्रे ईभी स्कुटर बिक्री गर्दै आएको लुयान स्कुटरको आधिकारिक बिक्रेता जेरो एमिसन राइड एनका प्रतिनिधि शंकर शर्मा पहिलेको १८ महिनादेखि ३ वर्षसम्म स्कुटरमा प्रयोग गरिएको ब्याट्रमा वारेन्टी हुनेमा अहिले ५ वर्षसम्मको वारेन्टी पाउने बताउँछन्।
‘सुरुमा आएको ब्याट्रीमा १८ महिनादेखि ३ वर्षसम्म वारेन्टी दिएको हुन्थ्यो,’ शर्मा भन्छन्, ‘अहिले ब्याट्रीमा पाँच वर्ष वा कुनैमा सात वर्षसम्मको वारेन्टी दिएको हुन्छ।’ स्कुटरमा सबैभन्दा महँगो पार्ट ब्याट्री भएकाले यो परिवर्तन गर्न नयाँ स्कुटरको आधा पैसा लाग्ने उनको भनाइ छ।
यदि, दुई लाख ५० हजार रुपैयाँको स्कुटर खरिद गरेर पाँच वर्षपछि ब्याट्री फेर्न १ लाख रुपैयाँ लाग्छ भने नयाँ खरिदकर्ताका लागि त्यो स्कुटरको रिसेल भ्यालु १ लाख ५० हजारभन्दा कममा झर्छ। नयाँ ब्याट्रीको उच्च लागत र पुरानो ब्याट्रीको घट्दो आयुका कारण सेकेन्ड ह्यान्ड बजारमा ईभी खरिदकर्ता जोखिम मोल्न चाहँदैनन्। उनीहरूले ५० हजार वा १ लाख थपेर नयाँ वारेन्टी भएको स्कुटर किन्न सुरक्षित मान्छन्।