नेपालको पर्यटन क्षेत्र जहिले पनि चुनौती र अवसरको संगमस्थल हो। हरेक दशकमा राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति, महामारी वा सामाजिक आन्दोलनजस्ता अप्रत्याशित घटनाहरूले यो क्षेत्रलाई असर गर्छन। यस्ता परिस्थितिले केवल आर्थिक असर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा देशको छवि र पर्यटकको मनोविज्ञानमा समेत प्रत्यक्ष प्रभाव पारेको छ।
पछिल्लो समय जेनजी आन्दोलन पनि त्यही घटनाको शिलशिला हो। आन्दोलनले सुरुमा शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाएको थियो। दोस्रो दिनको आन्दोलनपछि विभिन्न जटिलता जन्मायो। जस्तैः सरकारी संरचनामा क्षति, संलग्न केही व्यक्तिहरूमाथि आपराधिक आरोप, लुटिएका हतियारका समाचार बाहिरिनु र सुरक्षा संयन्त्रमा असुरक्षाको भाव पैदा हुनु।
यसले अन्तर्राष्ट्रिय समुदायमा नेपाल सुरक्षित गन्तव्य हो कि होइन? भन्ने प्रश्नलाई पुनः ल्यायो। पर्यटन उद्योगमा सुरक्षा सबैभन्दा महत्वपूर्ण तत्व हो। कुनै पनि पर्यटकले आफ्नो यात्रा सहज, विश्वसनीय र सुरक्षित महसुस नगरे त्यसको असर तत्कालै उद्योगमा पर्छ।
तर, यति भन्नु नेपालको पर्यटनको भविष्य अन्धकारमय बन्ने भने होइन। तथ्यांकले देखाउँछ कि आन्दोलनको बीचमा पनि नेपालमा पर्यटक आगमन उल्लेखनीय रूपमा उच्च रह्यो। सन् २०२५ को अक्टोबर महिनामा सबैभन्दा बढी विदेशी पर्यटक नेपाल आए। यसबाट पनि प्रमाणित गर्छ कि नेपाल अझै पनि प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र साहसिक अनुभवका लागि आकर्षक गन्तव्य हो। यसले संकट र अस्थिरता हुँदाहुँदै पनि विश्वभरका यात्रीहरू नेपालको स्थायित्व र अनुभवमा विश्वास राख्छन्।
सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्य अपरिहार्य छ। विमानस्थलदेखि होटलसम्म, यातायात, गाइडिङ, ट्रेकिङ मार्ग र पर्यटकीय आकर्षणसम्म सब क्षेत्रमा सुरक्षा, सुव्यवस्था र आत्मविश्वास देखिनु पर्छ। संकटपछि ब्लगर, इन्फ्लुएन्सर, ट्राभल युट्युबर र विदेशी पत्रकारलाई समेटेर डिजिटल प्रचार अभियान सञ्चालन गर्नु पनि अत्यन्त जरुरी छ।
अर्को महत्वपूर्ण पक्ष भनेको आर्थिक पुनस्र्थापना हो। होटल, ट्राभल एजेन्सी, गाइड, यातायात र ट्रेकिङ कम्पनीहरू संकटको समयमा प्रभावित हुन्छन। बैंक कर्जा, ब्याज भुक्तानी र क्यासफ्लो व्यवस्थापन चुनौतीपूर्ण बन्छ। यस्तो अवस्थामा बिमा क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ।
जेनजी आन्दोलनले नेपालको पर्यटन उद्योगलाई छोटो अवधिका लागि चुनौती दिए पनि दीर्घकालीन दृष्टिले यसले अवसरहरू सिर्जना गरेको छ।
बिमा कम्पनीहरूले छिटो क्लेम (दाबी) भुक्तानी गरे व्यवसाय तुरुन्तै सक्रिय हुन्छ। यसले देखाउँछ कि- पर्यटन केवल व्यवसाय होइन। यो रोजगारी, स्थानीय अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार र ब्रान्ड इमेजसँग समेत जोडिएको क्षेत्र हो।
जेनजी आन्दोलनले नेपालको पर्यटन उद्योगलाई छोटो अवधिका लागि चुनौती दिए पनि दीर्घकालीन दृष्टिले यसले अवसरहरू सिर्जना गरेको छ। संकटले देखाएको सुरक्षा, सञ्चार, समन्वय र डिजिटल प्रचारका आवश्यकताहरूलाई अवसरमा बदल्न सके नेपालले पर्यटनको नयाँ अध्याय सुरु गर्न सक्छ। पर्यटकको आगमनमा वृद्धि, विदेशी चेन होटलहरूको विस्तार र विश्वव्यापी सकारात्मक चर्चा नेपालको लागि सुखद पक्ष हो।
राजनीतिक अस्थिरता, प्राकृतिक विपद्, अन्तर्राष्ट्रिय संकट, सामाजिक आन्दोलन र महामारीहरू सबैले नेपालको पर्यटनलाई पटक-पटक परीक्षणमा पारेका छन्। तर, यिनै संकटले नेपाललाई बारम्बार पुर्नजीवन दिन पनि मद्दत गरेका छन्। पर्यटन उद्योगलाई संकटबाट अवसरमा रूपान्तरण गर्ने शक्ति नेपालजस्तो गन्तव्यलाई विश्वसनीय बनाउँछ। पछिल्लो समय देखा परेको जेनजी आन्दोलन पनि नेपाल पर्यटनका लागि यस्तै परीक्षा बन्यो। अस्थायी चुनौती ल्याउने तर दीर्घकालीन सुधार र रणनीतिक अवसर खोलिदिने घटना बन्यो।
तर, जसरी आन्दोलनका क्रममा जेल तोडेर स्वदेशी एवं विदेशी कैदीबन्दी फरार भए। सयौँ हतियारहरु लुटिएका छन्। भागेका कैदीबन्दीलाई तत्कालै पक्राउ गर्ने र लुटिएका हतियारहरु बरामद गर्न सके अझै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनबारे राम्रो प्रभाव पर्न सक्छ। नत्र, विदेशीहरुले सुरक्षाको प्रत्याभूति तीनै कैदीबन्दीहरु फरार भएको घटना र लुटिएका हतियारको बारेलाई लिएर शंका उपशंकाहरु गर्छन। त्यसैले सरकारले तत्कालै यसतर्फ ध्यान दिन आवश्यक छ। जसले नेपाल पूर्ण रुपमा सुरक्षित छ भन्ने सन्देश विश्व बजारमा फैलिन्छ।
पर्यटकका लागि सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही हुँदैन। उनीहरू विदेशी भूमिमा सहज, विश्वसनीय र निर्विघ्न अनुभव खोज्छन। त्यसैले केही दिनको तनावले प्रशारित नकारात्मक छविले मनोवैज्ञानिक प्रभाव भने पार्यो। तर, यति भनेर पर्यटनको दीर्घकालीन भविष्य अन्धकार छ भन्नु अत्यन्त गलत हुनेछ।
विश्वभरका पर्यटक नेपाललाई केवल राजनीतिक घटनाको दृष्टिले मात्र हेर्दैनन्। उनीहरू प्रकृति, संस्कृति, अध्यात्मिक, साहसिक र लक्जरी गन्तव्यको खोजीमा नेपालमा आउने गर्छन। आन्दोलनकै बीच नेपालमा पर्यटक आगमन उच्च रहनु यसको प्रमाण हो। तथ्यांकले भन्यो- अक्टोबर महिना नेपालको इतिहासकै सबैभन्दा धेरै पर्यटक आए। यसले एउटा स्पष्ट सन्देश दिन्छः नेपाल अझै विश्वका यात्रुहरूको प्राथमिक गन्तव्यको सूचीमै छ। र, अस्थायी राजनीतिक घटनाले दीर्घकालीन आकर्षणलाई कमजोर पार्दैन।
नेपालका लागि पाउने सबभन्दा ठूला अवसरहरूमध्ये एक भनेको डिजिटल छवि पुनर्निर्माण हो। जेनजी आन्दोलनका कारण नेपाल केही दिन विश्वभर ट्रेन्ड भयो-लाखौँ मानिसहरूले नेपाल सर्च गरे।
यसो भन्दैमा राज्यको जिम्मेवारी समाप्त हुन्छ भन्ने होइन। पर्यटनमा ‘सुरक्षा अनुभूति’ तथ्य वा वास्तविकताभन्दा बढी अनुभव, प्रस्तुति र सन्देशमार्फत निर्माण हुन्छ। आन्दोलनले नेपाललाई एउटा ठूलो पाठ सिकाएर गयो- अन्तर्राष्ट्रिय समुदायसँग तुरुन्त, स्पष्ट र विश्वसनीय सञ्चार आवश्यक हुन्छ। विश्वका सफल पर्यटन गन्तव्य जस्तैः थाइल्यान्ड, श्रीलंका, फिलिपिन्स वा फ्रान्स सबै देशले चुनौती झेलेका छन्। तर, उनीहरू संकटपछि तुरुन्तै एक स्वरमा सन्देश दिन्छन् ‘देश पर्यटकका लागि सुरक्षित छ, यात्रा खुला छ।’ यही मोडेल नेपालले पनि अवलम्बन गर्न आवश्यक छ।
नेपालका लागि पाउने सबभन्दा ठूला अवसरहरूमध्ये एक भनेको डिजिटल छवि पुनर्निर्माण हो। जेनजी आन्दोलनका कारण नेपाल केही दिन विश्वभर ट्रेन्ड भयो-लाखौँ मानिसहरूले नेपाल सर्च गरे। भिडियो हेरे। समाचार पढे। यसलाई सकारात्मक कथामा बदल्न सक्नुपर्छ।
यदि, सरकार र निजी क्षेत्रले संयुक्त रुपमा विश्व बजारमा ‘नेपाल इज सेफ, ओपन एण्ड वेलकमिङ’ अभियान चलायो भने अन्तर्राष्ट्रिय छवि चाँडै पुनस्र्थापित हुन सक्छ। यस अभियानमा विश्वभरका ट्राभल इन्फ्लुएन्सर, ब्लगर, पत्रकार, टुर अपरेटर, वा अन्तर्राष्ट्रिय मिडियालाई सामेल गराउन सकिन्छ। नेपालबारे बनाइएका नकारात्मक सामग्रीलाई तथ्यमा आधारित, आकर्षक र भिडियो सामग्री बनाएर आक्रमक रुपमा अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गरी नकरात्मकलाई विस्थापन गर्नुपर्छ।
नेपालमा विदेशी चेन होटलहरू विस्तार हुँदै छन्। म्यारियट, हिल्टन, मक्र्योर, रोयल टुलिप जस्ता ब्रान्डहरूले नेपालमा उपस्थिति बढाउँदै लगेका छन्। यो आफैँमा विश्वसनीयताको बलियो संकेत हो। यस्ता बहुराष्ट्रिय होटल ब्रान्डहरू अत्यन्त संवेदनशील हुन्छन्। तर, आन्दोलनको क्रममा हिल्टन र ह्यायात होटलमा भएको आक्रमणले केही नकरात्मक असर भने विश्व बजारमा पुगेको छ। त्यसका लागि अब आउने दिनमा त्यस खालका घटनाहरु नदोहोरिने प्रतिबद्धता र सुरक्षाको ग्यारेन्टी सरकारले दिन आवश्यक छ। जसबाट अब आउने नयाँ ब्राण्डहरुलाई कुनै असर नपुगोस्।
विदेशी चेन होटलको उपस्थितिले नेपाल केवल ट्राभलरको गन्तव्य मात्र होइन, लगानीकर्ता र ग्लोबल ब्रान्डको विश्वास योग्य बजार भएको प्रमाणित गर्छ। यसो हुँदा नेपालमा उच्च स्तरीय माइस टुरिजम बढ्ने छ। जसले प्रिमियम पर्यटक र दीर्घकालीन राजस्व वृद्धि ल्याउँछ।
विश्वका सफल पर्यटन देशहरूले संकटपछिको होटल व्यवसायका क्षतिको तुरुन्तै क्लेम (दाबी भुक्तानी)मार्फत राहत दिन्छन्।
पछिल्लो समय विश्वभर अनुभवममा आधारित पर्यटन (एक्प्रेसन बेस्ड टुरिजम)को माग बढिरहेको छ। एडभेन्चर, वेलनेस र धार्मिक पर्यटकको संख्या वार्षिक रुपमा बढिरहेको छ। यदि, नेपालले पर्यटन नीति स्पष्ट बनाएर सुरक्षालाई प्राथमिकता दियो भने अन्तर्राष्ट्रिय पहुँचलाई सहज बनाए नेपाल साउथ एसियाको लिडिङ प्रिमियम गन्तव्य बन्न धेरै समय लाग्दैन।
संकटले पारेको प्रत्यक्ष आर्थिक प्रभाव
आन्दोलन वा अस्थिरताका कारण होटल, ट्राभल एजेन्सी, रेस्टुरेन्ट, गाइड, ट्रेकिङ कम्पनी, यातायात आदि सबै प्रभावित हुन्छन्। बजारमा आर्थिक चलामायन न्यून हुन्छ। ब्याज भुक्तानीमा कठिन हुन्छ। बैंक कर्जा जोखिममा पर्छ। यस्तो अवस्थामा बिमा क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
विश्वका सफल पर्यटन देशहरूले संकटपछिको होटल व्यवसायका क्षतिको तुरुन्तै क्लेम (दाबी भुक्तानी)मार्फत राहत दिन्छन्। नेपालमा पनि बिमा क्षेत्रले पर्यटनसम्बन्धी क्षतिको छिटो भुक्तानी गर्नुपर्ने आवश्यक छ। यसले व्यवसायहरूलाई गतिशील बनाउँछ। रोजगारी सुरक्षित हुन्छ। स्थानीय अर्थतन्त्र पुनः सक्रिय हुन्छ।
पर्यटकहरु नेपालमा औसत १३ दिन बस्छन। उनीहरुको बसाइँ अवधिभर दिने सुविधा र पाउने सेवामा उत्कृष्ट गर्न आवश्यक छ। जसरी विमानस्थलमा अवतरणपछि होटलसम्मको यात्रा, यात्राको क्रममा प्रयोग हुने सवारी साधान, गाइड, ट्रेकिङ मार्ग, ग्रामीण बासस्थानमा सकरात्मक प्रभाव दिन सक्नु पर्छ।
यस्तो छ सकरात्मक प्रभाव
जेनजी आन्दोलनपछि नेपालको चर्चा विश्वव्यापी रुपमा फैलिएको विषय उल्लेख भइसकेको छ। यसरी व्यवस्था परिवर्तन गर्न सक्ने जेनजीहरुको मुलुक कस्तो रहेछ र कहाँ-कहाँ प्रभाव पारेको रहेछ भनेर अध्ययन अनुगमनका लागि विदेशीहरु नेपाल आउने बाटो खुलेको छ।
दुई दिनको जेनजी आन्दोलनमा सत्ता पल्टिएपछि यसको असर विश्वभर परेको छ। यसैले नेपालमा एक पटक भए पनि पुगौँ भन्नेहरुको संख्या पनि बढिरहेको छ। यसलाई पर्यटन क्षेत्रका लागि नयाँ प्रडक्टको रुपमा लिनुपर्छ। ध्वस्त भएका संरचनाहरुलाई नेपाली गाइडहरुले स्टोरी टेलिङको आधारमा पर्यटकहरुको ध्यान आर्कषण गराउन आवश्यक छ। सिंहदरबार र संसद भवन जलेको विषयलाई कथाको रुपमा प्रस्फुटन गर्नतर्फ टुरगाइडहरु लाग्नुपर्ने देखिन्छ। जहाँ नयाँ सम्भावनालाई उजागर गरेको छ।
ट्राभल एडभाइजरी हटाउन लबिङ गर्न आवश्यक
जेनजी आन्दोलनपछि छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गरेको छ। जसका कारण नेपालमा घुम्न आउन चाहने पर्यटकहरुले एक पटक सोच्न बाध्य हुन्छन्। र, अन्य मुलुकमा घुम्न निस्कन्छन्।
जेनजी आन्दोलनले नेपाल पर्यटनलाई केही समय चुनौती दियो। तर, यसले खोलेको अवसर अझ ठूलो छ।
त्यसैले तत्कालै विभिन्न दुतावाससँगको समन्वयमा मुलुक पूर्ण रुपमा शान्त भइसकेकाले ट्राभल एडभाइजरी हटाउन आवश्यक पहल गर्न जरुरी छ। यो भनेको सरकारले तत्कालै गर्न सक्ने काम हो। परराष्ट्र मन्त्रालयले नेतृत्व गरेर यी कामहरु गर्न सके विश्व बजारबाट पर्यटकहरुलाई धेरैभन्दा धेरै नेपालमा ल्याउन सकिन्छ।
पर्यटन विशेष राहत प्याकेज
डिजिटल क्याम्पेनको सुरुवात
अन्तर्राष्ट्रिय मिडियालाई ब्रिफिङ
टुर अपरेटरलाई जानकारी
एयरलाइन्ससँग सहकार्य
स्थानीय तहमा पर्यटन-सुरक्षा टास्कफोर्स
यस्ता उपक्रमले पर्यटनलाई तुरुन्तै सामान्य अवस्थामा ल्याउन सक्छ। श्रीलंका यसको उत्कृष्ट उदाहरण हो। गम्भीर राजनीतिक संकटपछि दुई वर्षभित्रै पर्यटक आगमन ३०० प्रतिशतले बढायो। नेपालले यिनै मोडेलहरूबाट सिक्न सक्छ।
जेनजी आन्दोलनले नेपाल पर्यटनलाई केही समय चुनौती दियो। तर, यसले खोलेको अवसर अझ ठूलो छ। सन्देश स्पष्ट छ- नेपालले अब सुरक्षा संयन्त्र बलियो बनाउने, अन्तर्राष्ट्रिय संचारलाई व्यवस्थित गर्ने, डिजिटल ब्रान्डिङ सुदृढ गर्ने, निजी क्षेत्रसँग समन्वय बढाउने र समुदायलाई पर्यटन लाभसँग जोड्ने समय आएको छ। नेपाल विश्वकै थोरै गन्तव्यमध्ये पर्छ जहाँ संकटपछिका वर्षहरूमा पर्यटक अझै बढ्छन। किनकि यहाँ प्रकृति, संस्कृति, इतिहास, अध्यात्म र मानवीयता सबैको सन्तुलन पाइन्छ।
आजको चुनौती भोलिको अवसर बन्न सक्छ। यदि, नेपालले सही रणनीति अपनाउन सके। पर्यटन केवल उद्योग होइन, राष्ट्रको छवि, अर्थतन्त्र, कूटनीति र सामाजिक ऊर्जा समेटिएको क्षेत्र हो। जेनजी आन्दोलनले देखाएको पाठलाई रूपान्तरण गरेर नेपालले आफ्नो पर्यटन पहिचानलाई अझ आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने मौका पाएको छ।
युवराज श्रेष्ठ, होटल एसोसिएन अफ नेपाल (हान) का कोषाध्यक्ष हुन्।