काठमाडौं। रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमाथि हमला गरेसँगै भारतसँगको सम्बन्ध घनिष्ठ बनेको छ। युक्रेनमाथि आक्रमण गरेसँगै युरोपेली मुलुकहरूले रुसी पेट्रोलियम पदार्थ खरिद गर्न अस्वीकार गरेको अवस्थामा रुस-भारतको सम्बन्ध नजिक बनेको हो।
भारतले आफूलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ रुसबाट आयात गरेसँगै अमेरिकासँगको सम्बन्ध कठिन मोडमा पुगेको छ। भारतले रुसी पेट्रोलियम पदार्थ खरिद गरेसँगै अमेरिकाले भारतमाथि भारी मात्रामा ट्यारिफ लगाएर दबाब दिएको थियो।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई दिने राजकीय भारत भ्रमणका लागि बिहीबार मस्कोबाट प्रस्थान गरेका छन्। उनको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत भ्रमण हो।
पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको भ्रमण गरेका थिए। यस पटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भएको हो।
रुसी सञ्चार माध्यमका अनुसार पुटिनसहितको उच्च स्तरीय प्रतिनिधि मण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्ने छ। यस्तै, वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि मुख्य एजेन्डामा समेटिने छन्।
तास समाचार एजेन्सीका अनुसार भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा गैरव्यावसायिक निकायबीचका ज्ञापनपत्र हस्ताक्षरका लागि तयारी अवस्थामा छन्।
राष्ट्रपति पुटिन साँझ २३औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले उनको सम्मानमा निजी रात्रिभोजको आयोजना गर्ने तयारी गरेका छन्।
अमेरिकाले किन दिँदै छ भारतलाई दबाब?
रुस-भारतले दशकौँदेखि एकअर्कालाई ‘समय-परीक्षित’ मित्रका रुपमा व्याख्या गर्दै आएका छन्। तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल खरिद रोक्न भारतमाथि दबाब दिँदै नयाँ दिल्लीबाट आयातित रुसी तेलमा ५० प्रतिशतसम्म कडा कर लगाएका थिइन्। यस्तै, संवेदनशील अवस्थामा रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा जाँदा अमेरिकाले भारतमाथि थप दबाब हुने निश्चित छ।
१, ऊर्जा
युक्रेन युद्धपछि भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ। सन् २०२४ मा भारतले कूल कच्चा तेल आयातको करिब ३६ प्रतिशत अर्थात दैनिक १८ लाख ब्यारेलभन्दा बढी रुसबाट आउने गरेको छ।
यसले भारतलाई अर्बौं डलर बचत गराउन मद्दत गरेको छ। रुसले युद्ध गर्न आर्थिक पक्ष बलियो बनाउँदै आएको छ। यसले भारतको पश्चिमी साझेदारीमा तनाव बढ्यो भने ट्रम्पले शुल्क वृद्धि गर्ने निर्णय गरेका थिए।
२, रक्षा
भारतले अमेरिकासँगै रुस र इजरायलबाट हतियार खरिद नगरी रुसी हतियार आपूर्तिकर्ता बनेको छ। रुसको साथमा भारतले घरेलु हतियार उत्पादनको गति बढाएको छ।
३, व्यापार
रुस भारतको चौथो ठूलो व्यापारिक साझेदार बनेको छ। सन् २०२४-२५ मा दुवै देशबीच व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको थियो।
दुई देशबीच व्यापार बढे पनि अत्यन्त असन्तुलित अवस्थामा छ। यसको ९० प्रतिशतभन्दा बढी हिस्सा (६३ अर्ब ८० करोड डलर) रुसबाट भारतमा आयात हुने इन्धन तथा तेलको हिंसा हो।
भारतले रूसलाई औषधि, मेसिनरीसहित आणविक उपकरण निर्यात गर्छ। विश्लेषकका अनुसार १५-२५ प्रतिशतजति व्यापार अवैध वा ‘छाया शिपिङ नेटवर्क’मार्फत हुने गरेको आंकलन छ।