काठमाडौं। विद्युतीय सवारीसाधन (ईभी)को वर्चस्वले सुस्ताएको पेट्रोल-डिजेल गाडीको सेकेन्ड ह्यान्ड बजार पछिल्ला महिनामा चलायमान बन्दै गएको छ। मूल्य स्थिरता, सजिलो फाइनान्सिङ र सहज मर्मत खर्चका कारण उपभोक्ताको चासो पुनः पुराना इन्धन मोडलतर्फ फर्किन थालेको हाे।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाले इन्धन गाडीको सेकेण्ड ह्याण्ड गाडीको माग केही मात्रामा बढेको बताउँछन्। ‘यो समय अटोमोबाइल व्यवसायको लागि कम बिक्री हुने सिजन भएकाले अहिले सेकेन्ड ह्याण्ड गाडीको बिक्री पनि कम रहेको छ,’ अध्यक्ष कोइरालाले भने, ‘ईभीप्रति ग्राहकको आकर्षण बढेपछि सेकेन्ड ह्याण्ड गाडीको व्यापार सुस्त भएको थियो। अहिले त्यो सुधार हुँदै गएको छ।’
ईभीको बढ्दो लोकप्रियताले केही समयदेखि सुस्ताएको सेकेन्ड ह्याण्ड गाडीको बजारमा पछिल्लो समय फेरि चहलपहल देखिन थालेको व्यवसायी बताउँछन्। ईभीमा ग्राहकको आकर्षण बढ्न थालेपछि सेकेण्ड ह्याण्ड गाडीको व्यापार खस्किँदै गएपछि व्यवसायीलाई व्यवसाय धान्न सकस भएको थियो। तर, अहिले भने यो सुधार हुँदै गएको छ।
सन् २०१९/२० देखि नेपालमा ईभी गाडीको आयात तथा बिक्री बढ्दै गएको हो। नेपालमा ईभी भित्रिएको लामो समयसम्म पनि ईभीले बजार लिन सकेको थिएन। तर, ईभीको बजार बढ्न थालेपछि डिजेल-पेट्रोल गाडीको नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको बजार खस्केको थियो। यो अहिले सुधार भएको छ।
त्रिपाठी एन्ड ब्रदर्सका सञ्चालक विदुर त्रिपाठी सेकेन्ड ह्याण्डमा १५ लाखदेखि ७० लाखसम्मका राम्रा गाडी बिक्रीका लागि राखिएको बताउँछन्। ‘हाम्रो सोरुममा १५ देखि ७० लाखसम्मका सेकेन्ड ह्याण्ड गाडीहरु पाउन सकिन्छ,’ उनले भने, ‘२०१५-६ मोडलदेखि २०२३ मोडलका गाडीहरु पनि हाम्रो सोरुममा पाउन सकिन्छ।’ सेकेन्ड ह्याण्ड गाडी पनि सस्तोदेखि महँगो सबै खालका धेरै राम्रो र नयाँ मोडलका गाडीहरु पनि पाउन सकिने उनको भनाइ छ।
उनका अनुसार सेकेन्ड ह्याण्ड गाडीहरु कम्पनीले गरेको एक्सचेन्ज क्याम्पबाट ल्याउने हो। एक्सचेन्जमा आएका दुर्घटनारहित गाडीहरु मात्र ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ।
ईभीलाई मानिसले बुझ्दै गएपछि मिनी ईभी खरिद गर्ने धेरैको रोजाइ अहिले सेकेन्ड ह्याण्ड गाडी पर्न थालेको छ।
‘नेपालमा ईभीको आयात बढ्न थालेपछि सेकेन्ड ह्याण्ड गाडीको बजार खस्केको थियो। तर, ईभी गाडी पुरानो हुन थालेपछि अहिले सेकेन्ड ह्याण्ड बजार बढेको छ,’ त्रिपाठी भन्छन्, ‘विगतको तुलनामा सेकेन्ड ह्याण्ड गाडीको बिक्री राम्रो हुँदै गएको छ।’
ईभीलाई मानिसहरुले बुझ्दै गएपछि मिनी ईभी खरिद गर्ने धेरैको रोजाई अहिले सेकेन्ड ह्याण्ड गाडी पर्न थालेको छ। ईभी किस्तामा खरिद गर्न सकिने भएकाले धेरैले ईभी खरिद गरेपनि बुझ्दै गएपछि सानो ईभी किन्नेले सेकेन्ड ह्याण्ड रोज्न थालेको त्रिपाठी बताउँछन्।
सेकेन्ड ह्याण्ड सवारी बिक्री गर्ने व्यवसायीका अनुसार विद्युतिय सवारी किन्न इच्छुक धेरै ग्राहक चार्जिङ संरचना, मर्मतको झन्झट तथा ब्याट्रीको आयु गुणस्तर लगायत कुराले रोकिन थालेपछि पुनः सेकेन्ड ह्याण्ड पेट्रोल डिजेल सवारीतर्फ आकर्षित हुन थालेका छन्।
रेसिङ अटोमोबाइल्सका संचालक प्रविन लामिछाने सेकेन्ड ह्याण्ड गाडी बिक्री गर्दा दुर्घटना रहित प्रमाण पत्रसहितको गाडी बिक्री गर्ने बताउँछन्। ‘हामीले बिक्री गरेको गाडी आजका मितिसम्म कुनै दुर्घटनामा परेको छैन भन्ने प्रमाण पत्र प्रदान गर्दा भविष्यमा उक्त गाडीको यसअघि दुर्घटना भएको प्रमाणित भएमा हामी सो गाडीलाई खरिद मूल्यमा फिर्ता लिने र नगद फिर्ता गर्ने ग्यारेन्टी पनि दिने छौँ,’ उनले भने। दुर्घटनारहित प्रमाण पत्रले रिकन्डिसन गाडीको व्यापारमा भइरहेको अविश्वास र धोकाधडीको समस्या समाधान गर्ने विश्वास गरिएको उनको भनाइ छ।
खासगरी ईभी मिनी वा फ्यामली ह्याचब्याक किन्न १५ देखि ३० लाख रुपैयाँ तिर्नुपर्छ। सानो मोटर, सानो ब्याट्री र २०० किलोमिटरभन्दा कम रेन्जमा आउने साना गाडीमा खासै आँखा जाँदैन। नेपालको भौगोलिक अवस्थाले आफूसँग भएको गाडी लिएर धेरै स्थानमा यात्रा गर्नुपर्ने भएकाले धेरै मानिस सेकेन्ड ह्याण्ड बजारमा पेट्रोलबाट चल्ने कार किन्न चाहन्छन्। त्यसैले धेरैको लागि उत्तम विकल्प सेकेन्ड ह्याण्ड बजार बनिरहेको छ।