काठमाडौं। आप्रवासीमाथि कठोर बन्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका जुनसुकै धनी मान्छेका लागि भने अमेरिका उदार रहेको प्रमाण दिन थालेका छन्।
मंगलबार मात्रै करिब ८५ हजारको ग्रिनकार्डलाई अवैध घोषणा गरेका राष्ट्रपति ट्रम्पले कम्तीमा १० लाख डलर भुक्तानी गर्न सक्ने धनीमानी विदेशीलाई अमेरिकी भिसा दिन गोल्ड कार्ड योजना सार्वजनिक गरेका हुन्।
ट्रम्पले बुधवार ट्रुथ सोसलमा लेखेका छन्, ‘यो कार्ड खरिदकर्तालाई सबै योग्य र प्रमाणित व्यक्तिका लागि नागरिकताको सोझो बाटो दिनेछ। यो निकै रोमाञ्चक छ। अमेरिकी कम्पनीले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन्।’
ट्रम्प गोल्ड कार्डको घोषणा यसै वर्षको सुरुमा गरिएको थियो, जुन अमेरिकी भिसा हो। यो योजनाअन्तर्गत व्यक्तिलाई यो कार्ड दिइन्छ, जसले देशलाई महत्त्वपूर्ण लाभ दिने निश्चित गरेको हुन्छ।
‘गोल्ड कार्ड’ योजनाले अमेरिकी नागरिकता प्रदान गर्नेछ। यसका लागि १० लाख डलर शुल्क तिर्नुपर्नेछ। कर्मचारीलाई प्रायोजन गर्ने व्यवसायीले भने २० लाख डलरसहित थप शुल्क तिर्नुपर्नेछ।
कार्डको ‘प्लाटिनम’ संस्करण पनि उपलब्ध हुनेछ, जसले विशेष कर छुट दिनेछ। यसका लागि ५० लाख डलर तिर्नुपर्नेछ। यसै वर्ष फेब्रुअरीमा घोषणा भएदेखि नै गोल्ड कार्ड योजनाको आलोचना हुँदै आएको छ। केही डेमोक्रेटले यसलाई धनी वर्गलाई अनुचित रूपमा फाइदा पुग्ने योजना भएको आरोप लगाएका छन्।
अमेरिकाले अध्यागमन कडाइ गरिरहेकै बेला यो योजना सार्वजनिक भएको छ। योजनामा कार्य (वर्क) भिसाको शुल्क बढाउने र कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने नीति समावेश छ।–एजेन्सी