काठमाडाैं। रोजगारी सिर्जनादेखि मुलुकको आर्थिक गतिविधि चलयमान बनाउने कार्यमा अटो क्षेत्रले दशकौँदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। मानिसको आधारभूत आवश्यकता बनिसकेको सवारीसाधन खरिदबिक्रीको बजार निरन्तर मुलुकलाई आर्थिक पाटोमा योगदान गर्ने मुख्यमध्येको एक बनिसकेको छ।
अटोमोबाइल्स उद्योग देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने क्षेत्र बनिसकेको छ। नेपालको अटोमोबाइल्स उद्योग सवारीसाधन बिक्रीको कारोबार मात्र नभई सम्पूर्ण अर्थतन्त्रको एक बलियो स्तम्भ हो।
रोजगारीको दृष्टिकोणबाट हेर्दा, अटो मोबाइल क्षेत्र नेपालमा एक प्रमुख रोजगारी सर्जक उद्योगको रूपमा स्थापित छ। हाल यो क्षेत्रले १ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने १० लाखभन्दा बढी मानिस अप्रत्यक्ष रोजगार छन्। आयातकर्ता, डिलर, सेल्स एजेन्ट, सर्भिस सेन्टर, मर्मत–सम्भार प्राविधिकदेखि ड्राइभर र सहायकसम्म छन्। अप्रत्यक्ष रूपमा यो क्षेत्र पेट्रोलियम व्यवसाय, बीमा कम्पनी, वित्तीय संस्था, स्पेयर पाट्र्स सप्लायर र ट्रान्सपोर्ट सेवा प्रदायकहरूसँग गाँसिएको छ।
ग्रामीण भेगमा साना ग्यारेज र स्पेयर पाट्र्स पसलहरू स्थानीय रोजगारीको मुख्य आधार बनेका छन्। यसरी अटोमोबाइल उद्योगले देशको हरेक तह र तप्कामा आयआर्जनका अवसरहरू सृजना गरेको छ। हाल विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र गतिमा बढिरहेको सन्दर्भमा नेपाल पनि सो प्रवृत्तितर्फ उन्मुख हुँदै छ।
सरकारले विद्युतीय इकोसिस्टम प्रवर्द्धनका लागि करछुट, चार्जिङ स्टेसन स्थापनाको अनुमति र आयातमा सहुलियतजस्ता कदमहरू चाल्दै आएको छ। यसले वातावरणमैत्री प्रविधि प्रोत्साहन मात्र होइन, नयाँ उद्योग र रोजगारीका सम्भावनाहरु पनि खोलिरहेको छ।
ग्रामीण भेगमा साना ग्यारेज र स्पेयर पाट्र्स पसलहरू स्थानीय रोजगारीको मुख्य आधार बनेका छन्। यसरी अटोमोबाइल उद्योगले देशको हरेक तह र तप्कामा आयआर्जनका अवसरहरू सृजना गरेको छ।
त्यति मात्र मात्र होइन, कुनै पनि राष्ट्रको विकासमा मोबिलिटीको ठूलो भूमिका हुन्छ। सडक पूर्वाधार र सवारीसाधनको पहुँच यो मोबिलिटीको ठूलो अंश हो। सडक पूर्वाधार तीव्र विकास हुँदै रहेको अहिलेको अवस्थामा पनि करिब २० प्रतिशत नेपालीमा निजी सवारीको पहुँच पुगेको छ। अटो मोबाइल क्षेत्र विलासिता नभई यातायात, रोजगारी, औद्योगिक विकास र क्षेत्रीय समावेशीकरणमा योगदान दिने आधारभूत र अत्यावश्यक क्षेत्रको रुपमा स्थापित भइसकेको छ।
तर, भदौ २३ र २४ गते भएका घटनाक्रमले अटो क्षेत्रमा प्रत्यक्ष रुपमा ठूलो प्रभाव परेको छ। कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता बढेको छ। देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पु¥याएको छ भने लगानी र रोजगारीमा पनि चुनौती थपिएको छ। यस्तो अवस्थामा व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्नुपर्ने देखिन्छ।
अटोमोबाइल उद्योगले नेपालको आर्थिक संरचना र सामाजिक गतिशीलतामा गहिरो प्रभाव पारेको छ। यो उद्योग केवल सवारीसाधनको उत्पादन, आयात र बिक्रीमा सीमित छैन; यसले देशको राजस्व, रोजगारी, लगानी र प्रविधिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। नेपालमा अटोमोबाइल उद्योग अझै प्रारम्भिक चरणमै रहेको भए पनि यसको प्रभाव व्यापक र गहिरो बनिरहेको छ।
विशेषगरी सवारीसाधनको आयातनिर्यातमा हुने उतारचढावले सरकारको राजस्व संकलन, उपभोक्ताको खरिद क्षमता, वित्तीय बजार र उद्योगको उत्पादन सञ्जालमा प्रत्यक्ष असर पार्ने गरेको छ। अर्थतन्त्रका विभिन्न सूचकहरू अटो क्षेत्रसँग गाँसिएका छन्। जस्तै, गाडीको बिक्री घट्दा बीमा कारोबार, बैंक तथा वित्तीय संस्थामा सवारी कर्जाको माग, पेट्रोलियम पदार्थको खपत र मर्मत–स्पेयर पाट्र्स व्यापारमा समेत नकारात्मक प्रभाव पर्छ। त्यस्तै, बजार विस्तार हुँदा यी सबै क्षेत्रहरू चलायमान हुँदा आर्थिक गतिविधि पनि तीव्र रुपमा बढ्ने हुन्छ।
अटोमोबाइल उद्योगले औद्योगीकरण, प्रविधि हस्तान्तरण र ऊर्जा रूपान्तरणको दृष्टिले पनि ठूलो सम्भावना बोकेको छ।
अटोमोबाइल उद्योगले औद्योगीकरण, प्रविधि हस्तान्तरण र ऊर्जा रूपान्तरणको दृष्टिले पनि ठूलो सम्भावना बोकेको छ। त्यसैले, यो क्षेत्रलाई दीर्घकालीन नीतिगत प्राथमिकता दिई स्थायित्वपूर्ण कर नीति, पूर्वाधार विकास र लगानीमैत्री वातावरण सिर्जना गर्न जरुरी छ। यस्ता पहलले अटोमोबाइल उद्योगलाई मात्र होइन, सम्पूर्ण राष्ट्रिय अर्थतन्त्रलाई गतिशील र सुदृढ बनाउनेछन्। सरकारले अटोमोबाइल क्षेत्रको आर्थिक महत्वलाई गम्भीरतापूर्वक बुझी आवश्यक सहयोग र तत्काल नीतिगत हस्तक्षेप गर्नुपर्छ।
नेपालमा अटोमोबाइल्स उद्योगले राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सवारीसाधन आयात गर्दा भन्सार महशुल, कर तथा अन्य शुल्कहरूबाट सरकारले ठूलो आम्दानी प्राप्त गर्छ। त्यसैगरी, सवारीसाधन दर्ता, बीमा, सडक कर र पेट्रोलियम पदार्थमा लाग्ने करहरू पनि राज्यका लागि प्रमुख आम्दानीका स्रोत हुन्। प्रत्येक नयाँ सवारीको बिक्रीले संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारहरूलाई राजस्ववृद्धिमा सहयोग पुर्याउँछ। उचित नीतिगत व्यवस्थापन र दिगो प्रविधिको प्रयोगसँगै यो उद्योगले भविष्यमा अझ ठूलो आर्थिक मूल्य सिर्जना गर्न सक्ने सम्भावना छ।
तर, यस उद्योगसँग केही चुनौतीहरू पनि छन्। इन्धनमा निर्भरता, ट्राफिक जाम, प्रदूषण र आयातमुखी बजारले दीर्घकालीन दृष्टिकोणमा चुनौती सिर्जना गरेका छन्। त्यसैले भविष्यमा विद्युतीय सवारीसाधनको प्रवद्र्धन, करनीतिमा सुधार र वातावरणमैत्री नीतिहरू लागू गर्न आवश्यक देखिन्छ।
जेनजी आन्दोलनपछि अटोमाबाइल उद्योगको अवस्था
कोरोनापछि थलिएको अटोमोबाइल बजार भर्खरै चलहपहल सुरु भएको थियो। अर्थतन्त्रका केही सूचकहरू सुधारोन्मुख देखिन थालेपछि उपभोक्ताहरूमा नयाँ आशा र उत्साह पैदा भएको थियो। केही वर्षयता आयात प्रतिबन्ध, विदेशी मुद्राको अभाव र आर्थिक मन्दीले अटो क्षेत्र निकै दबाबमा भएको बजार पुनः सुधार भएर अर्थतन्त्रले विस्तारै लय समात्न खोजिरहेको थियो।
अटो उद्योगमा नयाँ मोडेलहरूको आगमनले बजारमा प्रतिस्पर्धा र आकर्षण दुवै बढाएको थियो। अन्तर्राष्ट्रिय ब्रान्डहरूले उपभोक्ताको माग र प्राथमिकतालाई ध्यानमा राख्दै नेपालमा आफ्ना नयाँ उत्पादन ल्याउन थालेका थिए। बैंक तथा वित्तीय संस्थाहरूले अटो लोन सहज र आकर्षक बनाएका कारण उपभोक्ताहरूले सवारीसाधन खरिद गर्न सहज महशुस गर्न थालेका थिए। चाडपर्वको सिजनमा अटो बजार स्थायित्वको दिशातर्फ फर्किदै गरेको अवस्थामा एकाएक भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित बनायो।
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले अटो व्यवसायीहरूलाई ठूलो नोक्सानी पुग्यो। सवारीसाधन खरिदबिक्रीको मुख्य सिजनमा आन्दोलन भएका कारण एकाएक व्यवसाय खस्कियो। अटो व्यवसायको मुख्य सिजन दशैँ र तिहारअगाडिको घटनाले व्यवसायीको मनोबलमा गिरावट ल्यायो। दुई दिनको आन्दोलनले सवारीसाधन क्षति हुनुका साथै वितरणमा अवरोध, आवतजावतमा कठिनाइ र जनताको मनोविज्ञानमा परेको असरले बजार प्रभावित भयो। जसको असर दशैँ र तिहारजस्ता मुख्य सिजनमै बिक्री घट्न पुग्यो। तर, यो दीर्घकालीन होइन।
दुई दिनको आन्दोलनले सवारीसाधन क्षति हुनुका साथै वितरणमा अवरोध, आवतजावतमा कठिनाइ र जनताको मनोविज्ञानमा परेको असरले बजार प्रभावित भयो।
जेनजी आन्दोलनका क्रममा अटोमोबाइल्स क्षेत्रमा कति क्षति भयो भन्ने आँकडा आइसकेको छैन। तर, तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरूले देशभरका सवारीसाधन व्यवसायीहरूलाई ठूलो धक्का पुर्याएको छ। केही क्षतिको कभर बीमाले गर्ने भए पनि केही गैरबीमित क्षतिहरू व्यवसायीहरूले आफ्नै प्रयासबाट सामना गर्नुपर्ने अवस्था छ।
नाडाले आफ्ना सदस्यहरूबाट क्षतिको विस्तृत विवरण संकलन गरी बीमा कम्पनी र सरकारसँग क्षतिपूर्ति प्रक्रिया अघि बढाउने पहल गरिरहेको छ। क्षतिग्रस्त भएका धेरै शोरुमहरू पुनर्निर्माण र मर्मतपछि पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ, जसले गर्दा यस क्षेत्रको व्यावसायिक गतिविधि चाँडै सामान्य अवस्थामा फर्किने विश्वास गर्न सकिन्छ।
जेनजी आन्दोलनको क्रममा गाडी र मोटरसाइकलका शोरुमहरूमा भएको आगजनी र तोडफोड कुनै एक व्यवसाय वा घरानालाई लक्षित गरेर भएको होइन। यो व्यापक जनआन्दोलनको आवेग, असन्तुष्टि र क्षणिक आक्रोशको परिणाम हो भन्ने लाग्छ।
अटोमोबाइल क्षेत्र दृश्यात्मक रूपमा आकर्षक र प्रतीकात्मक रूपमा सम्पन्न वर्गसँग जोडिएको देखिने भएकाले गाडीका शोरुमहरु सजिलै निशानामा परेको अनुमान गर्न सकिन्छ। हाम्रो बुझाइमा यो कुनै व्यक्तिगत द्वेष वा व्यावसायिक दुश्मनीको कारण नभई भावनात्मक क्षणमा भएको अराजकता हो। अहिले सबैले आत्मसंयम र पुनर्निर्माणको बाटो रोजेका छन्। स्थिति विस्तारै सुधारिँदै छ र बजार पुनः स्थायित्वतर्फ फर्किने सम्भावना देखाइरहेको छ।
नयाँ सरकारबाट सहयोगको आश्वासन
आन्दोलनका क्रममा भएको अटो क्षेत्रको क्षतिको बारेमा नयाँ सरकारसँग छलफल सुरु भइसकेको छ। हामीले उद्योग पुनर्निर्माणका विषयमा सरकारसँग संवाद गरिरहेका छौँ। पछिल्लो समय विभिन्न घटनाक्रमबाट क्षतिग्रस्त भएका व्यवसायहरूका लागि बीमा दाबी भुक्तानीमा ढिलाइ हुनु चिन्ताको विषय बनेको छ।
बिमा दाबी भुक्तानी प्रक्रियालाई छिटो र सरल बनाउने, क्षतिग्रस्त व्यवसायहरूलाई कर वा ब्याजमा राहत दिने र अटो उद्योगका दीर्घकालीन नीतिहरूमा स्पष्टता ल्याउने विषयमा हामीले सरकारसँग छलफल गरिरहेका छौँ र सरकारी अधिकारीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ।
सरकारी अधिकारीहरुले निजी क्षेत्रको समस्याप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् र पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानमा पूर्ण सहयोगको आश्वासन दिएका छन्। जसले अटो क्षेत्रप्रति सकारात्मक सन्देश दिएको छ। आगामी दिनमा सरकार र निजी क्षेत्र हातेमालो गर्दै अगाडि बढेमा त्यसको फाइदा व्यवसायीलाई मात्रै हुँदैन, त्यसको लाभ मुलुक र आम नागरिकले पनि प्राप्त गर्दछन् । यसर्थ, यस विषयलाई सबैले मनन गरेर अगाडि बढ्न आवश्यक छ।
लाखौँको रोजगारी सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने अटोमोबाइल क्षेत्रलाई कुनै पनि बहानामा अप्ठ्यारोमा पार्ने काम उचित हुँदैन। बरु यसबाट बढीभन्दा बढी नीतिगत सहजता अपनाएर राज्यले लाभ लिन सक्नुपर्दछ। यसले मुलुकको अर्थतन्त्र चलयमान बनाउन महत्वपूर्ण भूमिका खेल्दछ।
लाखौँको रोजगारी सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने अटोमोबाइल क्षेत्रलाई कुनै पनि बहानामा अप्ठ्यारोमा पार्ने काम उचित हुँदैन।
आगामी दिनमा हामी सरकारबाट अटोमोबाइल उद्योगका लागि स्थायित्व, स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोण चाहन्छौँ। अटो उद्योगले कर, रोजगारी र प्रविधिमा ठूलो योगदान दिएको छ, त्यसैले नीति निर्माणमा प्राथमिकता आवश्यक छ। व्यवसायीले चाहेको भनेको नीतिगत स्थायित्व, सहज वित्तीय पहुँच, दिगो ईभी नीति र निजी क्षेत्रसँगको निरन्तर सहकार्य हो।
व्यवसायीहरू लगानी गर्दा भविष्यको सुनिश्चितता चाहन्छन्। हरेक नयाँ बजेट वा सरकार परिवर्तनसँगै कर, भन्सार महसुल र आयात नीतिमा हुने अकस्मात् परिवर्तनले लगानीकर्ताहरूमा अन्योल र असुरक्षा पैदा गर्छ। तसर्थ, उद्योगले पाँच वर्षका लागि एक स्पष्ट, स्थिर र पूर्वानुमान गर्न सकिने नीतिगत ढाँचाले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्नुका साथै ग्राहकको विश्वास बढाउन पनि मद्दत पुग्छ।
अहिले बैंकिङ प्रणालीमा उच्च ब्याजदर र ऋण पहुँचको कठोरता (उच्च ब्याजदर र कठोर कर्जा नीति) का कारण धेरै अटो व्यवसायहरू संकटमा छन्। सरकारले बैंकहरूलाई उद्योगमैत्री नीति अपनाउन प्रेरित गर्नुपर्छ, जसले अटोमोबाइल क्षेत्रका उद्यमी र उपभोक्तालाई सहज ऋण सुविधा उपलब्ध गराओस्! विशेष गरी निजी सवारी साधनका लागि अटो कर्जामा लगाइएका सीमाहरू तत्काल हटाउनुपर्छ। उद्योगले सहज र सहुलियतपूर्ण वित्तीय पहुँचको अपेक्षा गरेको छ, जसले नयाँ सवारीे खरिदलाई प्रोत्साहित गर्न र बजारमा तरलता बढाउन सहयोग पुगोस्! स्वस्थ वित्तीय वातावरणले मात्र यो उद्योगलाई सामान्य अवस्थामा फर्काउन सक्छ।
अर्काे भनेको अटो व्यवसायीहरुले दिगो ईभी नीति चाहेका छन्। अहिले सरकारले ईभीलाई प्रोत्साहन गरे पनि यसको नीति अस्थिर र परिवर्तनशील छ। ईभीको प्रयोग बढाउन ईभी नीति दीर्घकालीन र स्पष्ट हुन आवश्यक छ। सरकारले अटोमोबाइल उद्योगलाई विलासिताको वस्तुको रूपमा मात्र नहेरी यसलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा लिनुपर्छ। स्थायित्व, स्पष्ट नीति, सहज वित्तीय पहुँच र सहकार्यको माध्यमबाट मात्र अटो उद्योगले आफ्नो पूर्ण क्षमतामा देशको आर्थिक समृद्धिमा योगदान दिन सक्छ।
अटोमोबाइल उद्योग केवल व्यापार होइन। यो देशको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र प्रविधि विकासको मेरुदण्ड हो। सरकारले यदि स्थायित्व, पारदर्शिता र साझेदारीमा आधारित नीति अपनायो भने यो क्षेत्रले देशलाई दिगो आर्थिक समृद्धितर्फ डोर्याउने क्षमता राख्छ। अटो उद्योग सरकारसँग सहकार्यका साथ देशको आर्थिक पुनरुत्थानमा साझेदार बन्न तयार छ।(नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अर्थचित्रमा प्रकाशित लेख)