काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूसबीच युद्धको अन्त्य गर्न युरोपेली नेता र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बर्लिनमा चलिरहेको वार्ता शान्ति सम्झौता नजिक पुगेको दाबी गरेका छन्।
ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अमेरिकाले जर्मनी, इटाली, फ्रान्स, बेलायत, पोल्याण्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड र नेदरल्यान्ड्सलगायत युरोपेली नेताहरूबाट समर्थन प्राप्त गरेको र द्वन्द्वको अन्त्य हेर्न चाहेको बताएका हुन्।
‘उनीहरू अहिले रुसका राष्ट्रपति पुटिनसँग धेरै कुराकानी गरेर नजिक भएका छन्। मलाई लाग्छ हामी पहिलेभन्दा अहिले नजिक छौं हामी धेरैको ज्यान बचाउन चाहन्छौँ,’ ट्रम्पले भने।
यसैबीच द्वन्द्वलाई अन्त्य गर्न चाहने युरोपेली नेताहरूबाट पनि ठूलो समर्थन प्राप्त भइरहेको उनको भनाइ थियो।
युक्रेनमा युद्धको समाधानका लागि वार्ता गर्न बर्लिनमा अमेरिका, युरोपेली र नेटो नेताहरू र जेलेन्स्कीबीच घन्टौँ लामो कूटनीतिक छलफलपछि ट्रम्पको टिप्पणी आएको हो।
अल जजिराका अनुसार युरोपेली नेताहरू युक्रेनका लागि कुनै पनि पश्चिमी सुरक्षा ग्यारेन्टीको लागि सहमत भएका छन्। यसअघि युक्रेनी राष्ट्रपतिले पश्चिमाको सुरक्षा ग्यारेन्टी भए युक्रेन आफ्नो नेटो सदस्यताको महत्वाकाक्षां त्याग्न तयार रहेको संकेत गरेका थिए।